१६ चैत्र २०८० शुक्रबार
अर्थ

सुन्दरीजलमा पानी प्रशोधन केन्द्र तयार

जाइकाको सहयोगमा भर्खैरै निर्माण सम्पन्न भएको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र । तस्बिर सौजन्य : जाइका

काठमाडौं– मेलाम्चीको पानी राख्न बन्न लागेको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ।

२०७० पुसबाट निर्माण सुरु भएको उक्त केन्द्रको सम्पूर्ण निर्माण कार्य भएको जापान सहयोग नियोग (जाइका) ले जानकारी दिएको छ । जाइकाद्वारा प्रदान गरिएको करिब पाँच अर्ब सात करोड ८० लाख रुपैयाँ ऋण सहयोगमा प्रशोधन केन्द्र निर्माण गरिएको हो । जाइकाबाट प्राप्त सहयोग केन्द्र निर्माण र त्यससँग सम्बन्धित परामर्श सेवाका लागि खर्च गरिएको थियो ।
प्रशोधन केन्द्रबाट दैनिक आठ करोड ५० लाख लिटर बराबरको पानी प्रशोधन गर्न सकिने जाइकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजनाअन्तर्गत सुरुङबाट ल्याइने पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ ।  परियोजनाको सुरुङ निर्माण तथा अन्य काम सम्पन्न भएपछि प्रशोधन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउने बताइएको छ।

‘मेलम्ची खोलाको डाइभर्सन स्किम र वितरण प्रणालीको बीचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ,’ जाइकाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस केन्द्रबाट प्रशोधित पानी विश्व स्वास्थ्य संगगठनले तोकेको शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ।’ 

यसमा ‘कोगुलेसन सेडिमेन्टेसन’ प्रक्रियासहितको तीव्र बालुवा फिल्टे«सन प्रणालीको उपयोग गरिएको बताइएको छ । यस प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्राभिटी फिडको आवश्यकता पर्दछ । यस केन्द्रमा रहेको दुई सय किलोवाटको लघु जलविद्युत् प्लान्टको माध्यमबाट प्रशोधन केन्द्र स्वसञ्चालित हुनसक्ने विज्ञप्तिमार्फत जनाइएको छ।

‘बागमती नदीको पानी प्रयोग गरी सञ्चालन परीक्षणको काम पनि सम्पन्न भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल यो केन्द्र प्रतिदिन आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्न तयारी अवस्थामा छ ।’ केही मसलन्द कार्य सकिएपछि प्रशोधन केन्द्र ठेकेदारबाट मेलम्ची खानेपानी परियोजनालाई हस्तान्तरण गरिने जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७४ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App