coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दूधकोसी पुल निर्माण अन्तिम चरणमा

निर्माण सुरु गरिएको आठ वर्षपछि अन्तिम चरणमा पुगेको दूधकोसी पुल । तस्बिर : दमन

खोटाङ– निर्माण सुरु भएको आठ वर्षपछि खोटाङ जोड्ने पहिलो मोटरेल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सम्झौता म्याद नाघेको पाँच वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। 

डेढ सय मिटर लम्बाई भएको मोटरेबल पुल मंसिर पहिलो सातासम्ममा तयार हुने निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका साइड इन्जिनियर सिताराम कार्कीले बताए । पुलको बाँकी काममध्ये खोटाङतर्फको एप्रोच स्ल्याव (पुल र सडक जोड्ने बाटो) ढलान कार्तिक २८ गते गरिसकिएकाले त्यो ढलान सुके लगत्तै पुल तयार हुने बताइएको छ । 
सातदेखि १० दिनभित्रमा सुक्ने एप्रोच स्ल्याव ढलान मंसिर पहिलो साता सुकेपछि पुल सञ्चालनमा आउने इन्जिनियर कार्कीले बताए । ‘खोटाङतर्फको एप्रोच स्ल्याव ढलान मात्र बाँकी थियो, त्यो पनि बुधबार सकिएको छ,’ कार्कीले भने, ‘त्यो ढलान सुक्ने समय छुट्याउँदा मंसिर ६–७ पछि पुल सञ्चालनमा आउँछ।’ 

मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयराम र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको थाक्ले जोड्ने जयरामको पुल खोटाङको प्रमुख नाका हो । तीन पटक थप गरिएको म्याद गुज्रिएपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । करिब १० करोडको लागतमा सम्पन्न हुने पुल सञ्चालनमा आएपछि जिल्लाको संबृद्धिको बाटो खुल्नेमा स्थानीय आशाबादी देखिन थालेका छन् । पुलको ढलान सुके लगत्तै पुल सञ्चालनमा आउने भएकाले जिल्लाबासी ढलान सुक्ने मिति पर्खिरहेका छन् । पुल र सडकलाई जोड्ने एप्रोच स्ल्यावको काम सकिएसँगै खोटाङ पहिलोपल्ट स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने बाटो खुल्ने उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । जिल्लाका अधिकांश व्यवसायी पुल बनेपछि उपभोग्य सामान ल्याउने तयारीमा बसिरहेका छन्। 

हिलेपानी–हलेसी सडक खण्डमा पर्ने दुधकोसीमा निर्माणाधिन आरसिसि पुल ढलानको काम असोज २४ गते सम्पन्न गरिएको हो । कम्तीमा २८ दिन दिनसम्म सुक्न दिनुपर्ने ढलान कार्तिक २४ गते नै गाडी गुडाउन योग्य बनिसकेको छ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअघि पुल सञ्चालनमा ल्याउने गरी काम गर्न ठेकेदारलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । म पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । मोटरेबल पुलको सिमेन्ट सम्बन्धी काम कालिका र स्टिल सम्बन्धी काम हुलासले जिम्मा लिएको छ । जिल्लाको विकास र भविष्यसँग जोडिएको जयराममा पुल नबन्दाको प्रत्यक्ष अशर अन्य बिकास निर्माणमा समेत परिरहेको छ । चिनिया प्राविधिक र चिनिया उपकरण प्रयोग गर्नुपर्ने बाध्यताका कारण पुल निर्माणको काममा ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ। 

 

प्रकाशित: ३ मंसिर २०७४ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App