१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माण हुने

लामो समयदेखि चर्चामा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको निर्माण हुने भएकाे छ।आयोजनाको निर्माण यसै वर्षबाट हुने भएको हाे।

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता(पीपीए)गरेसँगै स्पार्कले तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको प्रकृया अघि बढाउने बताएको छ। पीपीए सम्झौताअनुसार कम्पनीले आगामी २०८५ साल असोज २५ गतेभित्र बिजुली उत्पादन गरिसक्नुपर्ने छ। निर्माण कार्य सुरु गर्नुअघि गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम पीपीए पूरा भएपछि स्पार्कका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले आउँदो चैत महिनाको पहिलो साताबाट निर्माणको शिलान्यास गर्ने गरी तयारी अघि बढाइएको बताए।

कुमारी बैङ्कको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले लगानीको प्रतिबद्धता जनाएको समेत उनले जानकारी दिए। उनका अनुसार आगामी ६ महिनाभित्र बैंक तथा वित्तीय संस्थाहरूमार्फत सबै वित्तीय व्यवस्थापनको कार्य पूरा हुने छ। बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिद्धतालाई सुनिश्चित गर्ने कार्य पूरा नहुन्जेल सम्म शेयर पुँजीबाट लगानी परिचालन गर्ने योजना बनाइएको लिम्बूले बताए।

स्पार्कका अध्यक्ष लिम्बूले अब जलविद्युत आयोजना निर्माण नहुने होकी भन्ने शंका समाप्त भएको बताए। ‘मंसिरबाटै हामी निर्माणस्थलमा गनुपर्ने पूर्व तयारीका लागि जुट्ने छौँ’लिम्बूले भने। उनले चैत महिनाबाट निर्माणको कार्य सुरु गरी ४ वर्षभित्र आयोजना पूरा गर्ने जानकारी दिए। पीपीए सम्झौता अनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा सुख्खा याममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ। आयोजनाले वार्षिक ७१ करोड १४ लाख ३३ हजार २ सय ९८ युनिट बिजुली उत्पादन गर्नेछ।

आयोजनाले वर्षायाममा ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ युनिट र सुख्खा याममा ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ युनिट बिजुली उत्पादन गर्नेछ। वर्षा यामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ। आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ। २४ अर्ब ३२ करोड रुपैयाँ कूल लागत अनुमान रहेको आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋणबाट र २५ प्रतिशत प्रवर्द्धकबाट शेयर पुँजी लगानी हुने स्पार्कले जनाएको छ। यो आयोजना ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी  गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहको छ। २०७७ साल असोज २५ गते बिद्युत विकास विभागबाट १ सय २८ मेगावाट क्षमताको बिद्युत उत्पादनका लागि स्पार्कले अनुमति पाएको हो।

प्रकाशित: २ कार्तिक २०८० ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App