७ वैशाख २०८१ शुक्रबार
अर्थ

काठमाडौं–पोखरा रेलमार्ग बनाउन चिनियाँ टोली उत्साहित

काठमाडौं- नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बुधबार काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययन गरेको छ । केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोली पोखरा पुगेपछि त्यहाँ रेल पु¥याउन उत्साहित बनेको हो ।
नेपाली अधिकारी सहितको संयुक्त टोली बुधबार काठमाडौंबाट पोखराको स्थलगत अध्ययनमा गएको थियो । पोखरा भ्रमणबाट चिनियाँ रेल नेटवर्कका अधिकारीहरू सकारात्मक र उत्साहित बनेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।
चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोलीले काठमाडौं हुदै पोखरासम्मको रेलमार्गको सम्भावित रेखांकनबारे अध्ययन गरेको थियो । टोलीले पोखरामा रेलवे स्टेसन बनाउने सम्भाव्य ठाउँको अवलोकन गरेको थियो ।
टोलीले पोखराको साराङकोट लगायत विभिन्न ठाउँ घुमेको थियो । चिनियाँ टोली पोखराको वातावरण देखेर उत्साहित बनेको नेपाली टोलीले बताएको छ ।
टोलीले बुटवलसम्म पु¥याउने रेलमार्गको एलाइनमेन्टबारे पनि सामान्य छलफल गरेको थियो । उनीहरूले काठमाडौंबाट पोखरा हँुदै बुटवल लैजाने कि मुग्लिन क्षेत्रबाट छुटाएर पोखरा र बुटवलका दुई रुट बनाउने भन्ने विषयमा निक्र्यौल गर्न नसकेको उपाध्यायले बताए । ‘उनीहरू बुटवलसम्म लैजाने रुटबारे थप अध्ययन गर्दैछन्,’ उपाध्यायले भने, ‘मुग्लिनबाट छुटाएर पोखरातिर लैजाने कि पोखराबाट बुटवल लैजाने भन्नेमा अध्ययन मै छन् ।’
सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने योजना छ ।
सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ ।  
मुग्लिन हँुदै बुटवलतिरको रुट भने झन्डै एक सय ३० किलोमिटर हुनेछ । चिनियाँ टोली बिहीबार बुटबल जाने योजना छ ।
उक्त भ्रमणमा नेपालको तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्की, रेल विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकार सहित मन्त्रालयका अन्य अधिकारीको सहभागी थिए ।
संयुक्त टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरिसकेको छ । चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको ‘एलाइनमेन्ट’, सम्भाव्य रेखांकनबारे अघिल्लै दिन बताएको थियो । केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गको लम्बाइ झन्डै सय किलोमिटर हुनेछ ।  
तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । पूर्वअर्थ मन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो ।
बुधबारको बुटवल भ्रमणपछि शुक्रबार अन्तिम चरणको दुई पक्षीय वैठक हुनेछ । तीन ठाउँको भ्रमणपछि उनीहरूले केही न केही निचोड दिन सक्ने नेपाली पक्षले आस गरेको छ ।  
यो भ्रमणपछि चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको काम सुरु गर्ने विभागले जनाएको छ । चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने बताएको छ । उनीहरूले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तालिम दिने प्रतिबद्धता जनाएका छन् ।
नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीमा चीनको परराष्ट्र र यातायात मन्त्रालय, नेसनल डेभलपमेन्ट कमिसन, नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिसमेत छन् । चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ ।  

प्रकाशित: २३ कार्तिक २०७४ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App