१५ चैत्र २०८० बिहीबार
अर्थ

केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन

नुवाकोटको बट्टारमा केरुङ–काठमाडौं रेलमार्गको एलाइनमेन्ट देखाउँदै चिनियाँ टोलीको नेतृत्व गरेका नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियन (बीचमा) सहितको टोली। तस्बिर सौजन्य : रेल विभाग

काठमाडौं – नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीसहितको टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेको छ । नेपाली अधिकारीसहितको संयुक्त टोलीले धादिङको गल्छी हँुदै रसुवागढी नजिकसम्म पुगेर स्थलगत अध्ययन गरेको हो। 

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा सोमबार काठमाडौंका आएको २३ सदस्यीय उच्चस्तरीय टोलीले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत भ्रमण गरेको हो ।  ‘चिनियाँ उच्च अधिकारीसहितको संयुक्त टोलीले गल्छी हुँदै रेलमार्गबारे अध्ययन गरेको छ,’ अध्ययन टोलीमा सहभागी रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्ययले भने, ‘टोलीले उक्त रेलमार्गका सम्भाव्य रेखांकनको अध्ययन गरेको छ ।’
टोलीले धादिङको गल्छीबाट रेल मार्गको अध्ययन सुरु गरेको थियो । टोली रसुवागढी नजिकसम्म पुगे पनि केरुङसम्म भने पुग्न नसकेको उपाध्यायले बताए। 

स्थलगत अध्ययनमा गएको चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको ‘एलाइनमेन्ट’, सम्भाव्य रेखांकनबारे बताएको थियो । स्थलगत भ्रमण टोलीमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालय र रेल विभागका अधिकारीसहितको टोली थियो।  

चिनियाँ टोलीको यो भ्रमणसँगै केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्यन समेत सुरु गर्ने विभागले जनाएको छ । चिनियाँ पक्षले चीन–नेपाल अन्तरदेशीय रेलमार्ग बनाउन इच्छा देखाइरहेको बेला अब उक्त रेलमार्ग निर्माण गर्ने÷नगर्ने विषय नेपाल सरकारको इच्छाशक्तिमा भर पर्ने विश्लेषकहरूले बताएका छन् । दक्षिणी छिमेकीले अन्तरदेशीय रेलमार्ग बनाउने नीति अनुसार सहयोग गर्ने चाहना राखिरहेको बेला उत्तरतर्फको रेलमार्ग नेपाल सरकार र यहाँका राजनीतिक नेताको इच्छाशक्तिमा भर पर्ने उनीहरूले बताउँदै आएका छन्। 

नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आएको टोलीले काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्ने तय भएको छ । विभागका अनुसार संयुक्त टोली बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको छ।

टोलीको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग थप छलफल गर्ने कार्यक्रम  छ ।  नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीमा चीनको परराष्ट्र र यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका अधिकारी, नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिसमेत छन् । चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ। 

यसअघि, सोमबार मन्त्रालयमा भएको पहिलो बैठकमा नेपाल भ्रमणमा रहेका चिनियाँ उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न चीन सरकार तयार रहेको बताएका थिए ।  सोमबार काठमाडौं आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालका सरकारी अधिकारीसँगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको छ। 

केरुङ–काठमाडौं रेलमार्ग निर्माण धेरै गाह्रो भएको र यसको लागि ठूलो लगानीका साथै प्राविधि आवश्यक पर्ने चिनियाँ टोलीले जानकारी गराएको थियो । उनीहरुका अनुसार उक्त क्षेत्रमा ठुल्ठूला पहाड भएकाले धेरै सुरुङ र पुल निर्माण गर्नु पर्ने हुन्छ । यस मार्गको सम्पूर्ण प्राविधिक विशेषता हेरेपछि मात्र लगानी र दुई देशबीचको सम्झौताको विषय अघि बढ्ने चिनियाँ टोलीले जानकारी गराएको थियो।   

चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्न तयार रहेको नेपाली पक्षलाई बताएका थिए । त्यसैगरी, उनीहरूले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपालीलाई तालिम दिने प्रतिबद्धता समेत जाहेर गरेका थिए।  

तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ। उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो। 

 

प्रकाशित: २२ कार्तिक २०७४ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App