१६ चैत्र २०८० शुक्रबार
अर्थ

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न तयार छौं : चीन

काठमाडौं- केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडौं आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले यहाँका सरकारी अधिकारीसँगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।
चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसँग सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो । छलफलमा चिनियाँ टोलीले रेलमार्ग निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको हो । उक्त बैठकमा नेपाली पक्षका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्की, रेल विभागका महानिर्देशक अनन्त आचार्य र सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय सहित मन्त्रालयका अन्य अधिकारीको सहभागिता रहेको थियो ।
‘सोमबारको पहिलो बैठक अत्यन्तै सकारात्मक रह्यो,’ रेल विभागका प्रवक्ता समेत रहेका उपाध्यायले भने, ‘यो बैठकमा दुई देशमा भएका रेलका विकास र यसको सकारात्मक प्रभावबारे विस्तृत छलफल भएको छ ।’ छलफलका क्रममा नेपालमा रेलमार्ग निर्माण गरिदिन चीन तयार रहेको बताएको थियो ।  
केरुङ–काठमाडौं रेलमार्ग निर्माण धेरै गाह्रो भएको र यसको लागि ठूलो लगानीका साथै प्राविधि आवश्यक पर्ने चिनियाँ टोलीले बताएको छ । उनीहरूका अनुसार रेलमार्ग बन्ने क्षेत्रमा क्षेत्रमा ठुल्ठूला पहाड भएकाले धेरै सुरुङ र पुल निर्माण गर्नु पर्नेछ । यस मार्गको सम्पूर्ण प्राविधिक विशेषता हेरेपछि मात्र लगानी र दुई देशबीचको सम्झौताको विषय अघि बढ्ने चिनियाँ टोलीले जानकारी गरायो ।  
यो भ्रमणसँगै चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको काम सुरु गर्ने विभागले जनाएको छ । चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्न तयार भएको नेपाली पक्षलाई बताएको थियो । त्यसैगरी उनीहरूले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली पक्षलाई तालिम दिने प्रतिबद्धता समेत जाहेर गरेको उपाध्यायले बताए ।
बैठकमा रेलले देशमा पार्ने समग्र सामाजिक र आर्थिक प्रभावको विषयमा पनि विस्तृतमा छलफल गर्दै चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्ग निर्माणमा उनीहरूले गरेका कामबारे जानकारी गराएका थिए । साथै, उनीहरूले चीनमा रेल विकासको अवस्थाबारे नेपाली टोलीलाई जानकारी गराएका थिए । नेपाली पक्षले मुलुकमा हालको रेलमार्गको पूर्वाधार विकास र अन्य अवस्थाबारे जानकारी गरायो ।  
विज्ञसहितको संयुक्त टोली मंगलबार केरुङ जाँदैछ । उक्त टोलीले केरुङ–काठमाडौंको रेलमार्गको अध्ययन गर्नेछ । साथै, टोलीले काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्ने तय भएको छ । नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आएको टोली केरुङबाट फर्केपछि बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको छ ।
टोलीको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग थप छलफल गर्ने कार्यक्रम  छ ।  चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ ।   
चिनियाँ टोलीमा चीनको परराष्ट्र मन्त्रालय र यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत छन् ।
तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो ।
सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । त्यसैगरी, पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने योजना छ । सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ ।  
मुलुकमा हाल कुनै पनि रेल सेवा सञ्चालनमा छैन । इतिहास बोकेको जयनगर–जनकपुर रेलमार्ग बन्द भइसकेको छ भने नयाँ मार्ग निर्माणको क्रममा रहे पनि चल्न सकेको छैन ।
हाल जयनगरबाट सुरु भएर जनकपुर हुदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर रेलमार्ग निर्माणको अन्तिम चरणमा छ । जसमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने रेल विभागले जनाएको छ । तर रेलमार्ग तयार भए पनि रेल उपलब्ध नहुँदा उक्त समयमा चल्न सक्ने सम्भावना कम हँुदै गएको छ ।
त्यसैगरी, बिहारको जोगबनीदेखि विराटनगरसम्मको ट्र्याक पनि अन्तिम चरणका पुगेको छ । जसको लम्बाइ १८.६ किलोमिटर रहेको छ । यो ट्राक निर्माणको अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App