१५ चैत्र २०८० बिहीबार
अर्थ

व्यवसाय गर्न सहज देशमा नेपाल दक्षिण एसियाको तेस्रो

काठमाडौं- मुलुकमा व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनेको संकेत गर्दै नेपाल व्यवसाय गर्न सजिलो देशको सूचीमा दुई स्थान माथि उक्लिए पनि व्यावसायिक वातावरणमा खासै सुधार नदेखिएको व्यवसायीले बताएका छन् ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘डुइङ जिनेस २०१८’ प्रतिवेदन अनुसार विश्वमा नेपाल १०५ स्थानमा रहँदै दक्षिण एसियाली मुलुकमध्ये तेस्रो बनेको छ । विश्व बैंकले विश्वका एक सय ९० देश समेटेर सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल १०५ औं स्थानमा छ । गत  वर्षको प्रतिवेदनमा नेपाल १०७ औं स्थानमा थियो ।  
प्रतिवेदनले मुलुकको सूचकांकमा सुधार भएको देखाए पनि उल्लेख्य अनुभव हुने गरी सुधार हुन भने नसकेको व्यवसायी बताउँछन् । ‘अनुभव हुने गरी सुधार भएको देखिँदैन,’ उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले नागरिकसँग भने, ‘जसरी भारतले एकैपटक ठूलो फड्को मारेको छ, नेपालमा त्यसो हुन सकेन ।’ औद्योगिक व्यवसाय ऐन, श्रम ऐन लगायत केही कानुन पारित भएकाले सामान्य सुधार भएको देखिएको हुन सक्ने मुरारकाको भनाइ छ । व्यवहारिक रुपमा व्यवसायको वातावरणमा खासै सुधार नभएको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राजनीतिक वातावरणमा आएको सुधारले नयाँ माहोल बनेकोले रिपोर्टमा सुधार भएको हुन सक्ने बताए । ‘सुधार भएको देखिए पनि धेरै उत्साहित हुनुपर्ने ठाउँ छैन,’ शर्माले भने, ‘अझै पनि ठूला लगानीकर्ता ढुक्कसाथ लगानी गर्न आउने वातावरण बनिसकेको छैन ।’
केही कानुन पारित, सुधार र लगानीको वातावरणमा सुधार गरेकाले विश्व वरीयतामा सामान्य सुधार देखिएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल दोस्रो स्थानबाट तेस्रोमा झरेको छ । गत वर्षको प्रतिवेदनमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल भुटानपछि दोस्रो स्थानमा थियो । यस वर्षको प्रतिवेदनमा नेपालभन्दा माथि भारत पुगिसकेको छ ।
व्यवसाय गर्न सबैभन्दा सहज वातावरण रहेको देशमा न्युजिल्यान्ड छ । यसअघि पनि न्युजिल्याण्ड पहिलो नम्बरमै थियो । त्यसपछि क्रमशः सिंगापुर, डेनमार्क, दक्षिण कोरिया, हङकङ, अमेरिका, बेलायत, नर्वे, जर्जिया र स्विडेन छन् । सूचीको अन्तिम १९० औं स्थानमा सोमालिया छ  ।
यो वर्ष नेपालले लगानीको वातावरणलाई सघाउ पुग्ने गरी नयाँ कानुन पारित गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१६÷१७ मा नेपालले पारित गरेका कानुनले मुलुकको कर्पोरेट पारदर्शिताको आवश्यकता बढाएको जनाएको छ । यी कानुनले सेयरहोल्डरलाई एजेन्डा सेटिङ पावर दिएको छ भने कम्पनीका बोर्ड सदस्यको गतिविधिलाई खुला गर्न, कार्यकारी क्षतिपूर्ति र अडिट रिपोर्टमा जोड दिएको प्रतिवेदनमा उल्लेख छ । यस सबै आर्थिक सुधारले कर्पोेरेट पारदर्शिता सूचकांक उकास्न सघाएको छ । नेपालले ऋणदाता र ऋणीको कानुनी अधिकारलाई केही मजबुत बनाएको पनि बताइएको छ ।    

नयाँ कानुन पारित गरेर लगानीको वातावरण थप सुधार गर्ने देशहरूमा नेपाल सहित बुर्निया दरुस्सलाम, द क्रिजी रिपब्लिक, मंगोलिया, मलेसिया, नाइजेरिया, रसिया, सामोया, टर्की र जाम्बिया रहेको उल्लेख गरिएको छ ।
दक्षिण एसियाली मुलुकहरूमा भुटान पहिलो स्थानमा छ । भुटान सूचीमा ७५ औं स्थानमा छ भने भारत सयौं स्थानमा छ ।
गत वर्षको प्रतिवेदनको तुलना गर्दा ७३ औं स्थानमा रहेको भुटान दुई स्थान तल खस्किँदै ७५ औं नम्बरमा झरेको छ । भुटान तल खस्किए पनि भारतले भने व्यवसाय गर्ने वातावरणमा उल्लेख्य सुधार गर्दै ठूलो फड्को मारेको छ । डुइङ बिजनेस २०१७ को प्रतिवेदनमा १३० औं स्थानमा रहेको भारत यसपालि १०० औं स्थानमा छ ।
मोदीको ३ वर्षे कार्यकालको प्रतिफलका रुपमा भारतले उल्लेख्य सुधार गरेको नेपाली व्यवसायीको भनाइ छ । प्रतिवेदन अनुसार दक्षिण एसियाली देशहरूमा नेपालपछि श्रीलंका १११ औं, माल्दिभ्स १३६ औं, पाकिस्तान १४७ औं, बंगलादेश १७७ औं र अफगानिस्तान १८३ औं स्थानमा छ ।  
प्रतिवेदन अनुसार नेपालले सबैभन्दा सुधार गरेको क्षेत्र साना लगानीकर्ताको सुरक्षा हो । लगानीकर्ताको सुरक्षाको सूचीमा नेपाल १९० देशमध्ये ६२औं स्थानमा छ । त्यसैगरी, समस्या समाधानमा ७६ औं स्थान, क्रस बोर्डर व्यापारमा ७६ औं र समस्या समाधानमा ७६ औं स्थानमा छ ।  सम्पत्ति दर्तामा ८४ औं स्थान र ऋणको सहजतामा ९० औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार नेपाल व्यवसाय सुरु गर्न सहज देशको सुचीको १०९ औं स्थानमा छ । विद्युत् प्राप्तिको सूचीमा १३३ औं स्थान, कर भुक्तानको सूचीमा १४६ औं र निर्माण अनुमतिको सम्झौता सूचीमा १५७ औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित: १६ कार्तिक २०७४ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App