८ वैशाख २०८१ शनिबार
अर्थ

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

काठमाडौं – भक्तपुर नगरपालिका–५, भेलुखेलकी आशा देउलाको घर २०७२ वैशाख १२ को भूकम्पबाट भत्किएको थियो । त्यसयता देउला परिवारको बास टहरामै बितेको छ।

भूकम्पबाट घर भत्किएका पीडितलाई सरकारले तीन लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । तर आशाको परिवारले हालसम्म कुनै पनि राहत पाउन सकेको छैन । जग्गाको लालपुर्जा नहुँदा उनको नाम अनुदान पाउने लाभग्राही सूचीमा नपरेका कारण अनुदानबाट वञ्चित हुनुपरेको हो । सरकारी अनुदानका लागि सम्झौता गर्न लाभग्राही सूचीमा नाम हुनुपर्छ । ‘घर भत्किएपछि टहरामा बसिरहेका छौं,’ आशाले नागरिकसँग भनिन्, ‘लालपुर्जा नभएकाले अहिलेसम्म कुनै पनि राहत लिन पाएनौं।’

अर्की भूकम्पपीडित राजकुमारी देउलाको पनि उस्तै समस्या छ । लालपूर्जा नहुँदा घर बनाउनसमेत समस्या भएको उनले बताइन् । ‘राहतको नाममा त केही पनि पाएका छैनौं, टहरामा बस्न साह्रै गाह्रो भइरहेको छ,’ उनले नागरिकसँग भनिन्, ‘ऋणपान गरेर भए पनि दुई तलाको घर बनाउने सोेच छ तर नक्सा पासबिना घर बनाउँदा नगरपालिकाले भत्काइदिने हो कि भन्ने डर छ । के गर्ने भन्ने दोधारमा छौं।’

आशा र राजकुमारी जस्तै यहाँका करिब ४० घर भूकम्पबाट भत्किएका छन् । उनीहरु सबैले एउटै खाले समस्या भोग्नुपरेको छ । पीडितमध्ये केहीले मात्र घर बनाउन सुरु गरेका छन् । वैकल्पिक घर भएका बाहेकले  अझै टहरामै बास बिताउनु परेको छ । केही परिवार भत्किएको घर मर्मत गरेर त्यसैमा बसेका छन्। 

८२ घर लालपुर्जाविहीन
भेलुखेलमा देउला (पोडे) समुदाय पुस्तौंदेखि बसोबास गर्दै आएको भए पनि अधिकांशले लाजपुर्जा पाएका छैनन् । यहाँ रहेका करिब एक सय २५ घरमध्ये ८२ घरधनी लालपुर्जाविहीन रहेको स्थानीय शिक्षक बाबुरत्न देउलाले बताए । पक्की घर बनाएर बसेको पुस्तौं बिते पनि लालपुर्जा अभावका कारण उनीहरुले नक्सा पास गराउन सकेकाका छैनन्।   
 
‘लालपूर्जा नहुँदा हामी वर्षौंदेखि समस्या भोग्न बाध्य भएका छौं,’ बाबुरत्नले नागरिकसँग भने, ‘किनबेच त नहुने नै भयो, धेरैले घरमा धारा बिजुली जोड्नसमेत पाएका छैनन् ।’ भूकम्पले घर भत्किएपछि अर्को समस्या थपिएको उनले बताए । ‘जग्गाको लालपुर्जा नभई नगरपालिकाले घरको नक्सा पास गर्दैन । नक्सा पास नगरी घर बनाउँदा भत्काइदिने हो कि भन्ने डरले अधिकांशले घर बनाएका छैनन्,’ उनले भने।

यहीँका कतिपय घरको भने लालपुर्जा नभए पनि नक्सा पास भएको बाबुरत्नले बताए । उनका अनुसार ३३ सालतिर बिनालालपुर्जाका ८–१० वटा घरका नक्सा पास भएका थिए । पटकपटक प्रधानमन्त्रीलाई भेटेर समस्या राख्दासमेत सम्बोधन नभएको उनले गुनासो गरे।

भर्खरै स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले पनि आफूहरुको समस्या नसुनेको पीडितले गुनासो गरेका छन् । ‘वडामा समस्या लिएर जाँदा वडाध्यक्षले कुरै सुन्न चाहेनन्,’ पीडित लक्ष्मीलाल देउलाले भने, ‘अन्य क्षेत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनःजाँचका लागि इन्जिनियर आएको थियो रे, यो बस्तीमा त आउँदै आएनन्।’

राजनीतिक आस्थाका आधारमा जनप्रतिनिधिले आफूहरुलाई विभेद गरेको उनीहरुको आरोप छ । ‘यो बस्तीमा नेमकिपा (नेपाल मजदुर किसान पार्टी) बाहेक अन्य राजनीतिक पार्टीमा आस्था राख्नेको बाहुल्यता छ । यसकारण पनि हामीलाई वास्ता गरिँदैन,’ बाबुरत्नले भने । भक्तपुर नेमकिपाको पकड क्षेत्र मानिन्छ  । स्थानीय निर्वाचनमा वडाअध्यक्षलगायत यस नगरपालिकाको मेयरमा सोही पार्टीको प्यानल विजयी भएको थियो। 

नगरपालिका मेयर सुनिल प्रजापतिले भने राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगरिने बताए । ‘भिन्न राजनीतिक पार्टीमा आस्था राख्न पाउनु सबैको अधिकार हो,’ उनले नागरिकसँग भने, ‘हामीले चुनावको बेला पार्टीगत नारा उठाएका हौं तर निर्वाचित भएपछि सबैलाई समान रुपमा लिएका छौं ।’ राजनीतिक आस्थाका आधारमा नभई नियमसंगत तरिकाले समस्या सम्बोधन गरिने उनले बताए। 

भेलुखेलबासीको समस्या के हो भन्ने वास्तविकता बुझ्नै बाँकी रहेको उनले बताए । ‘यो पहिलेदेखिकै समस्या हो । यस्तै समस्या अरु ठाउँमा पनि छ । के कति घर संख्या यस्तो समस्यामा परेको छ भन्ने वास्तविक अध्ययन हालसम्म गरेका छैनौं,’ मेयर प्रजापतिले भने । नगरपालिकाले नापी विभागसँग समन्वय गरेर चाँडै अध्ययनको काम अगाडि बढाउने प्रतिबद्धता उनले जनाए। 

वडा नं. ५ का अध्यक्ष प्रेमगोपाल कर्माचार्यले भेलुखेलबासीको समस्या सम्बोधन गर्न सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने बताए । ‘उहाँहरुको गुनासो सुन्दै आएको छु तर हामीले मात्र समस्या समाधान गर्न सम्भव हुँदैन,’ कर्मचार्यले भने, ‘स्थानीय, वडा, नगरपालिका र नापीका प्रतिनिधिसमेत बसेर छलफल गर्नुपर्छ । त्यसपछि मात्र कसरी समस्या समाधानको बाटो खुल्छ ।’ वडाको तर्फबाट जतिसक्दो चाँडो समस्या समाधानको लागि पहल गरिने उनले बताए।

प्रकाशित: १२ कार्तिक २०७४ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App