coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

काठमाडौं- महिला उद्यमी महासंघ, नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको महासंघको १४ औं वार्षिक साधारण सभाले शारदा रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बुधबार विशेष कार्यक्रम गरेर वर्तमान नेतृत्वले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्नेछ ।
झन्डै १० महिनाअघि निर्वाचित वर्तमान अध्यक्ष भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि नयाँ नेतृत्व चयन भएको महिला उद्यमी महासंघले जनाएको छ । मंगलबार राजधानीमा भएको साधारण सभाले रिजालको नेतृत्वमा १९ सदस्यमध्ये १८ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । द्वितीय उपाध्यक्ष पदेनमा निर्विरोध हुन नसकेपछि बुधबार उक्त पदका लागि मात्र निर्वाचन हुनेछ ।
महासंघको अध्यक्ष पदमा शारदा रिजालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य ऋषि निरौलाले बताए । रिजाल वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष छिन् ।
त्यसैगरी, नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रिता सिंह निर्विरोध भएकी छिन् । द्वितीय उपाध्यक्षमा निरु रायमाझी र रेनु स्थापितको उमेदवारी परेको छ । बुधबार उक्त पदको लागि निर्वाचन हुनेछ । महासंघको तृतीय उपाध्यक्षमा शोभा ज्ञवाली निर्विरोध चयन भएकी छिन् । ज्ञवाली वर्तमान कार्यसमितिमा महासचिव छिन् ।
त्यसैगरी, महासचिवमा दर्शना श्रेष्ठ, सचिवमा सुनिता वैद्य श्रेष्ठ र कोषाध्यक्षमा हजुरी विष्ट निर्विरोध चयन भएका छन् । महासंघको कार्यसमिति सदस्यमा वर्तमान सदस्यहरूलाई   निरन्तरता दिइएको महासंघले जनाएको छ ।
कार्यक्रममा महासचिव ज्ञवालीले महासंघको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । महासचिव ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार यस वर्ष महासंघको १५ पटक कार्यकारी समितिको बैठक बसेको थियो  । उक्त बैठकहरूले महासंघको विभिन्न विषयमा निर्णय तथा छलफल गरेको थियो । त्यसैगरी, महासंघले यस वर्ष देशका विभिन्न ठाउँमा आएका बाढी–पहिरो पिडितका लागि ४० हजार रुपैयाँ संकलन गरेर सहयोग गरेको थियो । त्यसबाहेक अन्य विविध कार्यक्रम सम्पन्न गरेको ज्ञवालीले जानकारी गराइन् ।
कोषाध्यक्ष विष्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार यस वर्ष जम्मा एक करोड ३९ लाख ३४ हजार रुपैयाँ आम्दानी भएकोमा एक करोड ३४ लाख ४४ हजार रुपैयाँ खर्च भएको थियो ।
कार्यक्रममा बोल्दै वर्तमान अध्यक्ष राणाले बुधबारदेखि निवर्तमान अध्यक्ष हुन लागे पनि महासंघप्रति सधैं सहयोग र साथ रहने बताइन् । उनले जिल्लामा कार्यरत महिलाले आफ्नो व्यवसाय सफल पार्न केही जोखिम लिन पनि डराउन नहुने २० वर्षको व्यवसायी जीवनमा आफूले अनुभव गरेको बताइन् । ‘तपाईंहरूले आफैं मेहनत गरेर व्यवसाय गर्नुपर्छ,’ राणाले भनिन्, ‘महिला व्यवसायीको नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट वा अन्य निकायबाट गर्नुपर्ने सहयोग गर्न हामी तयार छौं ।’ पछिल्ला दुई दशकको अवधिमा महिला व्यवसायीको क्षेत्रमा केही काम भएको भन्दै महिलाले हिम्मत गरेर व्यवसाय तथा विभिन्न पेसामा स्थापित भएको राणाले बताइन् । उनले अब राष्ट्रपति महिला उद्धार कोष आउन लागेको भन्दै यसबाट महिलाले विभिन्न सहयोग लिन सक्ने बताइन् ।
त्यसैगरी, नयाँ कार्यसमितिमा चयन भएकी अध्यक्ष रिजालले सबैको सहयोगमा निर्विरोध कार्यसमति चयन भएकोमा सबैलाई धन्यवाद दिइन् । ‘आकांक्षीहरूले पदभन्दा महासंघलाई महŒव दिँदै सहमतिमा आउनुभएको छ,’ रिजालले भनिन्, ‘यसले महासंघलाई थप सक्षम बनाउने छ ।’
मंगलबारको कार्यशाला तथा वार्षिक साधारण सभामा १७ जिल्लाका लगभग सयजना महिला व्यवसायीको सहभागिता रहेको थियो । महासंघको जिल्ला संघ २९ जिल्लामा विस्तार भएको छ । कार्यशाला गोष्ठीमा महिला उद्यमीसम्बन्धी समस्या र समाधानका विषयमा छलफल भएको थियो । त्यसैगरी, महिला उद्यमी व्यवसायीका विषयलाई कसरी नीतिगत रुपमा लान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित: २५ आश्विन २०७४ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App