२२ श्रावण २०७७ बिहीबार
अर्थ

व्यवसायी बजगाईंले गुहारे आयोग

काठमाडौं- टाइगर वन प्रालिका अध्यक्ष राजेन्द्र बजगाईंले आफूमाथि सुरक्षा खतरा रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेका छन् । उनले आयोगका अध्यक्ष अनुपराज शर्मालाई मंगलबार भेटेर आफूलाई सुरक्षा खतरा रहेको जानकारी गराएका हुन् ।
बजगाईंको गाडीलाई लक्षित गर्दै यही असोज ८ गते सांग्रिला होटल परिसरमा अज्ञात समूहले बम प्रहार गरेको थियो । गाडीमा आक्रमणका बेला आफू गोरखामा रहेकाले जोगिन सफल भएको बजगाईंले बताए । आफूलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेको उनले बताए ।
आफूलाई थप असुरक्षा होला भनेर उनले घटना बाहिर ल्याएका थिएनन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार हत्या भएपछि बजगाईंले आफू पनि असुरक्षित रहेको बताए । ‘सोमबार घटनापछि मैले थप असुरक्षित महसुस गरेर आयोगमा गएको हुँ,’ नागरिकसँग बजगाईंले भने ।
बजगाईंलाई केही समयअघि विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्ताले नेता खड्गबहादुर विश्वकर्मासँग भेट गर्न दबाब दिएका थिए । तर उनले भेट्न अस्वीकार गरें । त्यसपछि उक्त समूहले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा उनका भाइ नवराजलाई पनि विश्वकर्मासँग भेट गर्न आग्रह गरेको थियो । उनले पनि भेट्न अस्वीकार गरेका दिए । त्यसपछि गाडीलाई लक्षित गरी बम प्रहार भएको बजगाईंले जानकारी दिए । ‘मसँग हाम्रो नेतासँग भेट्नुप¥यो भनेर प्रस्ताव आएको थियो, तर मैले अस्वीकार गरेको थिएँ । त्यही समूहले मलाई टार्गेट बनाएको हो,’ उनले भने ।

पार्टीलाई चन्दा नदिएको र आफ्ना कर्मचारी निकालेको भन्दै उक्त समूहले आक्रमण गरेको बजगाईंले बताए । उनले भने, ‘कर्मचारी निकालेको कुरा गलत हो ।
उक्त कम्पनी अस्ट्रेलियाको सिल्भर हेरिटेज गु्रपअन्तर्गतको सञ्चालित छ । टाइगर वनमार्फत झन्डै पाँच अर्ब बराबरको विदेशी लगानी नेपाल भिœयाएको दाबी बजगाईंले गरे । टाइगर वनले भैरहवामा अन्तर्राष्ट्रिय स्तरको टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्दै आएको छ ।
घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ । ‘व्यवसायीमाथि शृंखलाबद्ध आक्रमण भइरहेको छ । यसले मुलुकको सुरक्षा अवस्था निकै कमजोर भएको संकेत गर्छ,’ आयोगका अध्यक्ष अनुपराज शर्माले भने । व्यवसायीमाथिको आक्रमणले मुलुकमा विधिको शासन फितलो भएको शर्माले बताए ।
‘पछिल्ला दुई घटनाले आमनागरिकमा त्रास फैलिएको छ । निर्वाचनको मुखमा व्यवसायीमाथि भएका यस्ता घटनाले आन्तरिक सुरक्षा चुनौतिसँगै बाह्य लगानीलाई समेत प्रभाव पार्छ,’ शर्माले नागरिकसँग भने । शर्माले यस्ता घटनाले नागरिकको स्वतन्त्र ढंगले बाँच्ने अधिकार हनन भएको बताए । उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरे ।
आयोगका सदस्य सुदीप पाठकले बजगाईंमाथि भएको घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए । ‘हामीले सम्बन्धित पक्षलाई शान्तिसुरक्षाको प्रत्याभूत गराउन आग्रह गरेका छौं । यस विषयमा प्रहरीसँग अनुसन्धान रिपोर्ट पनि मागेका छौं,’ उनले भने । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक दीपक पोख्रेलले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताए । ‘हामीले यस घटनाको अनुसन्धान गरिरहेका छौं तर उल्लेख्य उपलब्धि प्राप्त भएको छैन,’ उनले भने ।  

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै व्यवसायी गौचनका हत्यारालाई यथाशीघ्र कानुनबमोजिम कारबाही गर्न र आमनागरिकको जीवनको अधिकार सुनिश्चित गरी भयमुक्त वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति गराउन सरकारसँग आग्रह गरेको छ । आयोगले गौचनको ज्यान खतरामा भएको सूचना सुरक्षा निकायलाई जानकारी हुँदा पनि यस्तो घटना हुनुले सुरक्षा निकायको सुरक्षा संवेदनशीलता कमजोर भएको देखिने जनाएको छ । यस्तै राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले पनि विज्ञप्ति प्रकाशित गरी निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौतमको हत्या भएको घटनाको निन्दा गरेको छ । प्रतिष्ठानले दोषीमाथि कडा कारबाही गर्न र यस्ता घटना हुन नदिन सुरक्षा सजगता अपनाउन सरकारसँग माग गरेको छ ।

 

प्रकाशित: २५ आश्विन २०७४ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App