२३ असार २०७७ मंगलबार
अर्थ

वैशाखअघि आउँदैन मेलम्ची पानी

सिन्धुपाल्चोक- चौथोपटक सरकारको नेतृत्वमा पुगेपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गको स्थलगत अवलोकन गर्दै गएको साउन २५ गते मुहानस्थल हेलम्बु पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि पोखे । त्यतिबेला उनले बुझिने गरी कड्किएर भनेका थिए, ‘काठमाडौंमा मेलम्ची पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तो मात्रै भयो १’
त्यसपछि दुईपटक प्रधानमन्त्री बनेर चौथोपल्ट सत्तारोहण गर्न उनलाई १२ वर्ष लागेको थियो । ‘बाह्र वर्षमा खोलोसमेत फर्कन्छ,’ भने झैं उनलाई सत्ताको खोला फर्काउन बाहै्र वर्ष लाग्यो । तर मेलम्ची काठमाडौँ पुगेन । मेलम्ची पानी राजधानी लैजाने उद्देश्यले २०५३ तिर मेलम्ची वाटर लिमिटेड गठन हुँदा देउवाले पहिलोपटक सरकारको नेतृत्व गरिरहेका थिए । मेलम्ची राजधानी लैजाने प्रयास दुई दशकमा पनि पूरा नभएपछि प्रधानमन्त्री देउवाले उक्त असन्तुष्टि पोखेको थिए ।
झन्डै दुई दशक पुरानो सपना मेलम्ची खानेपानी काठमाडौं पुग्न अझै कम्तीमा ६ महिना लाग्ने भएको छ । सत्ता स्वार्थ, ठेकेदार कम्पनीको मनोमानी र बेथितिले भरिएको कर्मचारीतन्त्रको त्रिपक्षीय घनचक्करमा फसेर पटक–पटक समय गुजार्दै चौथो संशोधित लक्ष्य आउँदो चैत पु¥याएपछि त्यसअघि मेलम्ची सम्पन्न नहुने देखिएको हो ।
‘त्यसअघि मेलम्ची काठमाडौं पुग्न सम्भव छैन,’ आयोजनाका उपकार्यकारी निर्देशक रामकान्त दुवाडीले सञ्चारकर्मीसँग भने । आगामी वैशाखसम्म राजधानीमा पानी वितरण हुन सक्ने उनले बताए । आयोजनाका अनुसार झन्डै ९५ प्रतिशत काम सकिए पनि मुख्य संरचना सुरुङमार्ग निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्छ । मुहानस्थल हेलम्बु अम्बाथानदेखि सुन्दरीजलसम्म साढे २७ किलोमिटर सुरुङमार्ग पुसभित्र सक्ने आयोजनाको लक्ष्य छ । पहुँचमार्ग सहित हालसम्म साढे २५ किमी मात्र सुरुङ निर्माण सम्पन्न भएको छ । अझै १।६४ किमी सुरुङ खन्न बाँकी छ ।
सुरुङ खनिसक्दैमा मेलम्ची काठमाडौं नपुग्ने उपकार्यकारी निर्देशक दुवाडी बताउँछन् । सुरुङ खन्ने काम सकिएपछि त्यहाँभित्र ढलान गर्नुपर्ने हुन्छ । त्यसका कम्तीमा तीन महिना समय लाग्ने उनले बताए । पहुँचमार्गका सातमध्ये चार स्थानबाट सुरुङ खन्ने काम भइरहे पनि त्यो तीव्र छैन । सबैभन्दा लामो सिन्धु–सुन्दरीजल साढे नौ किमी पहुँचमार्गमा अत्यन्तै कमजोर चट्टान भेटिएकाले समस्या उत्पन्न भएको आयोजनाका अधिकारी बताउँछन् । त्यहाँ सावधानी अपनाउनु पर्दा दैनिक लक्ष्यअनुसार सुरुङ खन्न नसकेको उनीहरुको दाबी छ ।
सुरुङ निर्माणको जिम्मेवारी पाएको इटालियन ठेकेदार सिएमसीले दैनिक १६ मिटर सुरुङ खनिरहेको छ । उसले यो दरलाई घट्न नदिए मात्र आगामी पुसभित्र सुरुङ निर्माण सम्पन्न हुन्छ । आयोजनाले दैनिक ४० मिटर सुरुङ खन्न दिएको लक्ष्य उसले अहिलेसम्म भेट्टाउन सकेको छैन । सोही कारण तेस्रो संशोधित लक्ष्य २०७३ असोजभित्र राजधानीवासीलाई मेलम्ची खुवाउन असफल भएको हो ।
गत वर्ष वैशाखमा मेलम्ची खानेपानीको मुहानस्थल अवलोकन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७४ को वैशाखमा नयाँ वर्ष उपहार स्वरुप काठमाडौंवासीलाई मेलम्ची पानी खुवाउन निर्देशन दिएका थिए । आयोजनाका अधिकारीले भने २०७४ को असोजसम्म मेलम्ची पु¥याउने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता अनुसार कामलाई तीव्रता दिनुको सट्टा आयोजनाका मध्यस्थता र मुख्य लगानीकर्ता एसियाली विकास बैंक ९एडिबी० कै दबाबमा परेर इटालियन कम्पनीलाई थप समय दिँदै चौथो संशोधनद्वारा २०७४ को चैतको लक्ष्य दिइएपछि उक्त समयसीमामा सुरुङ नै खन्न नसकेको मेलम्चीका पूर्वअधिकारी बताउँछन् ।
‘ठेकेदार विभिन्न बाहानामा काम रोकिरहन्छ । एडिबी र मध्यस्थकर्ता उसकै वरिपरी नाचिरहन्छन्,’ झन्डै दुई वर्ष आयोजनाको नेतृत्व गरेका एक अधिकारीले अनुभव सुनाए । साढे चार वर्षमा सक्नुपर्ने सुरुङ साढे तीन वर्षमा बल्लतल्ल ६।५ किमी खनेर चिनियाँ ठेकेदार कम्पनी चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनले सन् २०१२ मा एकतर्फी रुपमा ठेक्का तोडेपछि बाँकी काम गर्ने जिम्मा सिएमसीले पाएको हो ।
२०७० मा सिएमसीले ठेक्का सकार्दा ३६ महिना सम्झौता अवधि भए पनि उसले ३० महिनामै सक्ने प्रतिबद्धता जनाएको थियो । त्यसबाट उत्साही आयोजनाले बाँकी ६ महिनाको कमिसन दिने घोषणा गरेको समेत गरेको थियो । सुरु सम्झौता अनुसार एक सय ५६ हप्तामा सुरुङ सक्ने कबुल गरेको ठेकेदार कम्पनीले हालसम्म दुई सय नौ हप्ता काम गरिसकेको छ । त्यसको ५३ हप्ता बढी काम गर्दा पनि उसले सुरुङ निर्माण नसकेको हो ।
सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो । दातासँग समयमै ऋण सम्झौता गर्न नसकेको, आयोजना नै पुनःसंरचना गर्नु परेको र ठेकेदार फेरिरहँदा निर्माणमा ढिलाई भएको आयोजनाका अधिकारी बताउँछन् । उनीहरुका अनुसार उपआयोजना–२ अन्तर्गत सुन्दरीजल पुग्ने पानी राजधानीमा वितरण गर्न त्यहाँ पानी प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको छ ।  
एसियाली विकास बैंक ९एडिबी० मुख्य दाता रहेको आयोजनाको कुल लागत तीन सय १७ मिलियन डलर छ । मेलम्चीपछि एउटै सुरुङमा लार्के र याङ्ग्रीको खोला समेत मिसाएर दैनिक ५१ करोड लिटर पानी राजधानी लैजाने सरकारको दीर्घकालीन योजना छ । उपआयोजना–३ अन्तर्गत लार्के र याङ्ग्रीको प्रारम्भिक काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।  मेलम्चीबाट मात्र १७ करोड लिटर पानी लाने लक्ष्यसाथ काम भइरहेको हो ।
आयोजनाका अधिकारीका अनुसार यांग्रीबाट ९।७ र लार्केबाट १।७ किमी सुरुङ बनाउँदा यी दुई खोलाको पानी अम्बाथानमा मिसिन्छ । २३ अर्ब ४५ करोेड ८६ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएकोमा आयोजनामा हालसम्म झन्डै १९ अर्बरुपैयाँ खर्च भइसकेको छ । आयोजना थालेयता १३ पटक गरी १० प्रधानमन्त्री र ११ जना कार्यकारी निर्देशक फेरिइसकेका छन् ।

प्रकाशित: २२ आश्विन २०७४ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App