१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

बढ्यो दौरासुरुवालको माग

रेणु त्वानाबासु
काठमाडौको बागबजारस्थित जेन्स सुमी टेलर्सका कालिगढहरुलाई हिजोआज भ्याइनभ्याइ छ । दसैँ, तिहार, छठ जो आउँदैछ ! यस अवधिमा उनीहरूलाई दौरा, सुरुवाल तथा अन्य कपडा सिलाउन भ्याइनभ्याइ हुन्छ । टेलर्सका पाँच जना कालिगढहरुमध्ये एक फारुक आजमले भने, ‘हामी ५ जनालाई अहिले दौरासुरुवाललगायत कपडा सिलाउन भ्याइनभ्याइ छ ।’
कालीगढ आजमका अनुुसार यस टेलर्समा ५ जना कालीगढमध्ये एक जना दौरा सुरुवाल सिलाउनका लागि र बाँकी ४ जना अन्य कपडा सिलाउनका लागि व्यस्त छन् । पछिल्ला वर्षहरूमा दौरासुरुवाल सिलाउनेको संख्या ह्वात्तै बढ्न थालेको छ । ‘कुनै बेला दौरासुरुवाल सिलाउनै बन्द भएको थियो,’ उनी भन्छन्, ‘अहिले भने फेरि दौरासुरुवाल सिलाउनेको संख्या बढ्दै गएको छ । 
भक्तपुरका ओम धौवञ्जारको अनुभवमा पनि पछिल्लो समय दौरासुरुवाल सिलाउनेको संख्या बढेको छ । १५ वर्षदेखि दौरासुरुवाल सिलाउँदै आएका उनले केही वर्ष त अर्डर नै नपाएर दौरासुरुवालबाहेक अन्य लुगाकपडा नै सिलाउनु प¥यो । अचेल भने पुनः दौरासुरुवालको दौर सुरु भएको बताए ।
उनको ओमहरि टेलर्समा जम्मा दुई जना काम गर्छन् । बढी अर्डर आएका बेला बाहिरियालाई काम दिने गरेको बताए । उनले पहिलाभन्दा अहिले यसको व्यापार फस्टाउँदै गएको जानकारी दिए । अहिले मान्छेहरु विदेश जाने बेला एक जोर दौरासुरुवाल सिलाएर लग्ने गरेको उनको अनुभव छ । दौरासुरुवलाको सिजन मंसिर, पुस, माघ हो । यही बेला धेरै बिहेभोज, व्रतबन्ध, जन्ती मान्न जानुपर्नाले दौरासुरुवाल सिलाउनेको चाप बढ्ने गरेको छ । ओम भन्छन्, ‘यति बेला त मलाई सास फेर्ने पनि फुर्सद हुँदैन ।’ उनले आफ्नो पसलको कमाइ हुने मौसम नै यही भएको बताए । यस अवधिमा मासिक १ लाखसम्मको व्यापार हुने गरेको छ । 
दौरासुरुवाल बढीजसो स्थानीयले सिलाउने गरेको टेलर सञ्चालकको छ । दौरासुरुवालको लोकप्रियता बढ्दै गएको देखेपछि अचेल भक्तपुर नगरपालिकाले पनि बेलाबेलामा सिलाई तालिम दिने गरेको छ । साथै, नेपाल कपडा तथा सिलाई व्यवसायी संघले पनि समय समयमा तालिम दिँदैआएको उनले जानकारी गराए ।
भक्तपुरको राममन्दिरका रहेको ओम शान्ति टेलरिङ सेन्टरले पनि १५–२० वर्षदेखि कोट पाइन्टबाहेक दौरा सुरुवाल सिलाउँदै आएको सञ्चालक राजकुमार कपालीले बताए । यहाँ पहिलादेखि दौरा सुरुवाल सिलाउने एकजना मात्र कालिगढ रहेको उनले बताए । काठमाडौँका अधिकांश कपडा सिलाउने टेलरमा भारतीय मजदुर काम गर्ने गर्छन् तर दौरासुरुवाल सिलाउन तिनीहरुलाई नआउने हुँदा नेपाली कालीगढले नै कामको अवसर पाइरहेको कपाली बताउँछन् । धेरैजसो पहाडे र नेवारले लगाउने पोसाक भएकाले धेरैजसो नेवार कालिगढलाई राम्रोसँग सिलाउन आउँछ । 

दौरा सुरुवाल मेरो प्राण  
राजकुमार सुवाल

भक्तपुरको राजकुमार सुवालले करिब १५–१६ वर्षको उमेरदेखि नै दौरासुरुवाल लाउँदै आएको छु । मलाई सम्झना भएसम्म दौरासुरुवाल सिलाएको ज्याला २०–२५ रुपैयाँ दिएको थिएँ । म अहिले ६९ वर्षको भएँ, मलाई अरु लुगा लाउन मन लाग्दैन । मलाई यही दौरासुरुवाल नै लाउन मनपर्छ । अब त यही नै लाउने हो सधैँ । मलाई यही मात्र सुहाउँछ । यो एकजोर दौरासुरुवाल सिलाउन अहिले १००० रुपैयाँ ज्याला लाग्छ । यसैले मलाई वर्षभरि लगाउन पुग्छ ।
पहिला भए दौरासुरुवालमा सुरुवालको कपडाको टोपी पनि आउँथ्यो तर अचेल भने आउँदैन । टोपी छुट्टै किन्नुपर्छ । टोपी एउटाको पहिला २०–३० रुपैयाँ लिइन्थ्यो तर टोपीको भाउ हिजोआज धेरै बढेको छ । ४००–४५० रुपैयाँसम्म लिने गरेको पाएको छु । 
दौरासुरुवाल सिलाउने विषयमा एउटा सानो कथा पनि छ, सुन्छौ ? के भने वर्षाैंदेखि मेरालागि  रामलाल नामको एक जना मानिसले सिलाउँथ्यो । रामलालको पसल घरैमा राखेका थिए । त्यही कोठामा बस्ने, सिलाउने गर्थे । आफ्नै घर नभएकाले समय–समयमा उनी कोठा सार्ने गर्थे र सरेको जानकारी दिने गर्थे । २०७२ सालको भूकम्पपछि भने उसको अत्तोपत्तो छैन । म¥यो कि बाँचेकै छ ! त्यो मान्छे हराएपछि अहिले अर्कैलाई सिलाउन दिनुपर्यो ।

दौरा सुरुवालको महत्व बुझौं 
अनिल कर्माचार्य

पहिला नेपालमा बस्दा दौरासुरुवालको चासो नै थिएन तर अहिले विदेशमा छु । विदेश आएपछि भने यसको महत्व कति छ भन्ने महसुुस भयो । म चार वर्षदेखि चाइनामा चाइनिज भाषा पढ्दै आएको छु । यहाँ वर्षको एकचोटि सांस्कृतिक कार्यक्रम हुने गर्छ । कार्यक्रममा सबैले आ–आफ्नो राष्ट्रिय पोसाक लाउने गर्छन् । त्यसबाट थाहा हुन्छ, को व्यक्ति कुन देशको हो । विदेशमा आफ्नो पोसाक लाउन पाउँदा आफूलाई एकदम गर्व लाग्छ भनेर विदेशमा आएपछि मात्र थाहा भयो । मजस्तै स्वदेशी पोसाकलाई महत्व नदिने साथीहरुलाई म के भन्न चाहन्छु भने यो दौरासुरुवाल भनेको हाम्रो पहिचान हो । यसलाई जोगाउनु हाम्रो कर्तव्य हो । हामीले विदेश जाँदा मात्र नभई आफ्नै देशमा पनि जोगाउने र लाउने गरौँ । 

दौरा सुरुवालको कुनै लिखित इतिहास छैन 
संस्कृतिविद् ओम धौभडेल

दौरासुरुवाल भनेको हाम्रो शाह वंशजदेखि नै लाउने चलन चलिआएको हो । त्यसैले पनि हरेक सरकारी कर्मचारीले यो पोशाक लागाएको हामीले देख्दैआएका छौँ । यसको कुनै लिखित इतिहास छैन तर यो नाममा नै विदेशी भाषा जोडिएको छ । किनभने यो दौरा सुरुवालमा लागाउने इस्टकोट यो हाम्रो शब्द होइन । 
दौरा सुरुवाल सिलाउने कपडा चाहिँ हाम्रै देशमा बनेको हो । पहिला हाम्रो देश यस्तो ग्लोबलाइजेसन नभएको बेला आफ्नै देशमा बनेको कपडा लाउने, हाम्रो आफ्नै देशमा फलेको खानेकुरा खाने गथ्र्यो । त्यतिबेला विदेशबाट कपडा ल्याउने चलन थिएन । त्यसैले यो हाम्रो आफ्नै देशमा पाउने एक मात्र कपडा भएकाले पनि यो लाउने चलन भएको उनले स्मरण गराए । 
त्यस्तै हाम्रो देश कृषि प्रधान देश हो । यहाँ धेरैजसो कृषक नै छन् । त्यतिबेला कृषकहरु खेतमा काम गर्ने बेला लुगा लाउँदैनथे । त्यतिबेला नेपालमै हातले बुनेको पटुका बेरेर काम गर्ने चलन थियो । यसरी नै दिन बित्थ्यो । तर भोजभतेर जानुपर्ने बेला केटाहरुले दौरा सुरुवाल लाउने गर्थे । यो लुुगा भनेको कुनै भोजभतेर भयो मात्र लगाउने । त्यसैले म यो दौरासुरुवाल हाम्रो राष्ट्रिय पोसाक हो भन्छु ।
नेवार समुदायमा एउटा चलन चलिआएको छ । त्यो के भन्दा, व्रतबन्ध गर्दा मामाघरबाट एकजोर लुगा र आफ्नै घरबाट एकजोर लुगा सिलाइदिने चलन छ । यस बेला कि मामापट्टिबाट कि त घरबाट एक जोर दौरासुरुवाल सिलाएर दिइन्छ । यो हाम्रो पराम्परा अहिलेसम्म पनि चलिआएको छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १४ आश्विन २०७४ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App