८ वैशाख २०८१ शनिबार
अर्थ

खिम्ती-२ मा १० बैंकको साढे ६ अर्ब लगानी

काठमाडौं- सानिमा बैंकको अगुवाइमा १० वाणिज्य बैंकले ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्यु आयोजनामा ६ अर्ब ४८ करोड ४० लाख लगानी गर्ने भएका छन् । उक्त आयोजना र लगानी गर्ने बैंकबीच आइतबार सम्झौता भएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी पिपल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य र आयोजनामा लगानी गर्ने अगुवा बैंक सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालबीच सम्झौता भएको हो ।
आयोजनमा सानिमा, सिद्धार्थ, नबिल, जनता, एनआइसी एसिया, एनएमसब, बैंक अफ काठमाण्डू, सिभिल, ग्लोबल र एनसिसी बैंकले ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ लगानी गर्ने छन् ।
आयोजना निर्माणमा आठ अर्ब ६५ करोड लाग्ने अनुमान गरिएको छ । रामेछाप र दोलखा जिल्लाका बिभिन्न गाविस हुँदै बग्ने खिम्ती खोलामा आयोजना निर्माण हुन लागेको हो । उक्त आयोजनाबाट २०७८ असारमा बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीमा अध्यक्ष आचार्यले जानकारी दिए ।
उक्त अयोजनाले २०६९ साल कात्तिक १५ गते सर्वेक्षण अनुमतिपत्र पाएको थियो ।
 २०७२ साल कात्तिक २२ गते प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अध्ययनको सहमति पाएको थियो । नेपाल विद्युत प्राधिकरण र आयोजनाबीच २०७२ साल असोज १४ गते विद्युत खरिद–बिक्री सम्झौता (पिपिए)मा हस्ताक्षर भएको थियो । २०७३ साल फागुन ५ गते विद्युत उत्पादन अनुमतिपत्र पाएको थियो । नदीको प्रवाहमा आधारित उक्त आयोजनाले रामेछाप तथा दोलखा जिल्लाका विभिन्न भाग प्रभावित हुनेछन् ।
आयोजनाले उपयोग गर्ने पानीको मात्रा क्यु ४० मा १६.१ घनमिटर प्रतिसकेन्ड छ । सुक्खायाममा ४.५ करोड युनिट, वर्षायाममा २१.५ करोड युनिट गरी २६ करोड युनिट बिजुली उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादित बिजुली न्यू खिम्ती सबस्टेसन किर्नेटारमा निर्माण हुने १३२÷२२० केभी प्रसारण लाइनमा जोडिने छ । आयोजनाको हाइड्रोलोजी अध्ययन, विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन तथा ड्रिलिङ कार्य सम्पन्न भएको छ । आयोजनाको वार्षिक अनुमानित आम्दानी पहिलो वर्ष एक अर्ब ४० करोड रुपैयाँ र वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म बढ्दै जाँदा नवौं वर्षमा एक अर्ब ७४ करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित: ९ आश्विन २०७४ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App