३१ असार २०७७ बुधबार
अर्थ

भुटानसँग वाणिज्य सन्धि नहुँदा करोडौं व्यापार घाटा

थिम्पु  – नेपाल र भुटानबीच दुईपक्षीय वाणिज्य सन्धि नहुँदा नेपालले करोडौं व्यापार घाटा बेहोर्दै आउनुपरेको छ । सात लाख ५० हजारमात्रै जनसंख्या भएको भुटानसँगको दुईपक्षीय व्यापार व्यवसायलाई नेपालले ध्यान दिन नसक्दा घाटा बेहोर्नुपरेको हो।

आफूभन्दा सानो देश भएर पनि नेपालले दुई मुलुकबीचको व्यापार वृद्धिलाई चासो नदिँदा व्यापार घाटा बढ्दै गएको व्यवसायी बताउँछन् । ‘सरकारले दुई देशबीचको व्यापार व्यवसायलाई उकास्नेतर्फ ध्यान नदिएकै कारण हामीले आफूभन्दा सानो मुलुकसँग व्यापार घाटा बेहोर्नुपरेको छ,’ ललितपुर उद्योग वाणिज्य संघका महासचिव भरत जोशीले भने, ‘दुई देशबीच वाणिज्य सन्धि भयो भने यतिधेरै घाटा बेहोर्नु पर्दैन, यो दुवै पक्षको हितमा छ।’

नेपालले गत आर्थिक वर्ष ०७२÷७३ मा भुटानसँग ३१ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको भन्सार विभागको तथ्यांक उल्लेख छ । गत वर्षको तथ्यांक अनुसार नेपालले भुटानबाट ४६ करोड ४९ हजार बराबरको सामान आयात गरेको छ । भुटानतर्फ १५ करोड २६ हजार रुपैयाँको सामान निर्यात गरेको थियो । त्यस्तै, आर्थिक ०७३÷७४ मा पनि ४० करोडभन्दा बढी व्यापार घाटा बेहोर्नुपरेको संघका अध्यक्ष सबिन श्रेष्ठले जानकारी दिए । उनले नेपालले थोरैमात्र ध्यान दिने हो भने भुटानसँगको व्यापार घाटा पूर्ति गर्न सक्ने बताए । ‘वाणिज्य सन्धि नगरेसम्म दई देशबीचको असली आर्थिक सम्बन्ध विकास हुन सक्दैन,’ उनले भने, ‘सरकारले तदारुकता देखाउने हो भने भुटानमा निकासी बढाउन सकिन्छ ।’ उनले आफूभन्दा सानो मुलुकसँगको व्यापार घाटा सहनु बिडम्बना रहेका बताए । ‘नेपालले चाहने हो भने भुटानसँग धेरै काम गर्न सकिन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर, यसमा सरकारको कूटनीतिक दखल नपुगेजस्तो देखिन्छ।’

नेपालले भुटानबाट ननअल्कोहोलिक बेभरेज, जिप्सम, कोइला, खनिज पदार्थ लगायत वस्तु आयात गर्छ । गत आर्थिक वर्षमा पनि नेपालले भुटानबाट सबैभन्दा धेरै जिप्सम आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

त्यसो त भुटान थोरै जनसंख्या भएको मुलुक भए तापनि यहाँ अधिकांश उत्पादित वस्तु बाहिरबाटै ल्याउँछन् । यहाँ कुनै सामान उत्पादन गर्ने कारखाना छैन । नेपालका केही निर्माण कम्पनीले यहाँको निर्माण क्षेत्रमा सामग्री पु¥याउने गरेका छन् । व्यवसायीका अनुसार भुटानीको सपिङ सेन्टर नेपाल नै हो । यहाँका धेरैजसो व्यक्ति इन्डियाभन्दा नेपालमै सामान किन्न रुचाउँछन् । 

नेपालले भुटानमा विभिन्न प्रकारका मूर्ति, तयारी पोसाक, हाइड्रोलिक टर्बाइन, महिलाका गरगहना, जंक फुड, कुरमुरे, चिजबल, कार्पेटलगायत सामान निर्यात गर्दै आएको छ । आर्थिक वर्ष ०७२÷७३ मा भुटानमा पाँच करोड ७७ हजार बराबरको मूर्ति निर्यात गरेको नेपालले गत आव ०७३÷७४ मा पनि उत्तिकै आम्दानी गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

‘सरकारले यो विषयलाई अझ बढी चासो दिने हो भने नेपालले व्यापार व्यवसाय क्षेत्रमा कायापलट गर्न सक्छ,’ सातौं भुटान अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी भएका नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मरत्न शाक्यले भने, ‘यो विषयलाई दुवै मुलुकले केन्द्रमा राखेर काम गर्न जरुरी छ ।’ 

नेपाल र भुटानबीच लामो समयसम्म व्यावसायिक सम्बन्ध भए पनि अहिलेसम्म दुई देशबीच व्यापार सन्धि भएको छैन । भुटानमा अहिले पनि दुग्धजन्य वस्तुहरु अभाव छ । यहाँ भारतबाट पाउडर दूध आयात भइरहेको छ । यसमा नेपालले चासो दिने हो भने दुधको मुख्य व्यापार केन्द्र नै भुटान हुन सक्ने सम्भावना देखिन्छ ।       

बिहीबारदेखि भुटानमा सुरु भएको सातौं भुटान अन्तर्राष्ट्रिय व्यापार मेलामा बोल्दै यहाँका अर्थमन्त्री लिम्पो नाम्गे दोर्जेले दुईपक्षीय व्यापार विस्तारबाटै नेपाल र भुटानको विकास हुने बताएका थिए । उनले दुई देशबीच वाणिज्य सन्धि नहुँदा व्यापार व्यवसायमा त्यत्ति मुनाफा हासिल गर्न नसकिएको जानकारी गराएका थिए । उनले भने, ‘भुटान र नेपालबीच सन् ९० को दशकदेखि नै दुईपक्षीय व्यापार सन्धि गर्ने भनिए पनि त्यो लक्ष्य अझै पूरा हुन सकेको छैन, यसमा मैलै पहल गर्नेछु।’ 

दुई देशबीच औपचारिक व्यापार सन्धि नभए पनि ललितुर उद्योग वाणिज्य संघको पहलमा नेपालका उत्पादित सामग्रीहरु हरेक वर्ष मेलामा राख्ने गरिएको छ । यो वर्षको मेलामा दुई सय ३४ स्टल राखिएको आयोजक संस्था भुटान उद्योग वाणिज्य महासंघले जनाएको छ । एक सय दुईवटा स्टलसहित सहभागिता जनाएको नेपालले धातुका मूर्ति, चाँदीका गरगहना, पूजा सामग्री, तयारी पोसाक, उनी गलैंचा, काष्ठकला लगायत सामग्री प्रदर्शनीमा राखेको छ । 
सन् २००९ मा भुटान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र ललितपुर उद्योग वाणिज्य संघबीच दुई देशीय व्यापार प्रवद्र्धन सम्झौता भएपछि नेपालले मेलामा सहभागिता जनाउन थालेको थियो । 

पर्यटन सम्भावना
नेपालले चासो दिने हो भने भुटानी पर्यटकलाई सहजै नेपाल तान्न सकिन्छ । नेपालसँग मिल्दो संस्कृति भएकोले पनि भुटानबाट धेरै पर्यटक नेपाल आउने सम्भावना देखिएको व्यवसायी बताउँछन् । ‘नेपालका मुख्य सम्पदा र भुटानीको संस्कृति मिल्दा छन्,’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सबिन श्रेष्ठले भने, ‘काभ्रेको नमोबुद्ध, बौद्ध स्तुपा, हलेसी महादेव लगायत क्षेत्रमा अहिले पनि भुटानीहरु धेरै आउने गर्छन्, त्यसैले सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।’ त्यो त काठमाडौं ठमेलमा अवस्थित धेरै रेस्टुरेन्टमा भुटानी पर्यटकको भिड देखिन्छ । भुटानको हावापानी, डाँडापाखा र संस्कृति नेपालसँग मिल्दो भएकोले भुटानीहरु नेपाल घुम्न रुचाउँछन् । ‘हामीले आफ्नो जस्तै सानो देशसँग व्यापारिक सम्बन्ध राख्यौं भने त्यसले दुवैलाई फाइदा पुग्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालप्रति भुटानीहरु एकदमै सकारात्मक छन् ।’ उनले नेपालले चासो दिने हो भने भुटानबाट धेरै लाभ लिन सकिने बताए ।

 

 

प्रकाशित: ३ आश्विन २०७४ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App