coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

फोरजीले डाटा खपत बढायो, एनसेलको मासिक २३ लाख जिबी

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलको मासिक डाटा खपत लगभग २३ लाख जिबी पुगेको छ । चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) को सुरुवातसँगै डाटा खपतमा उल्लेख्य वृद्धि भएको हो ।

एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाको सन् २०१७ को दोस्रो त्रैमासिकको तथ्यांक अनुसार कुल डाटा उपगोग ६८ लाख जिबी पुगेको उल्लेख गरेको छ । तीन महिनामा प्रयोग भएको ६८ लाख जिबीलाई प्रतिमहिनामा निकाल्दा २२.६६ लाख जिबी हुन आउँछ । यो गत वर्षको सोही अवधिको तुलनामा डाटाको आयमा १६.९ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

गत वर्षको दोस्रो त्रैमासिक तथ्यांक अनुसार कुल डाटा खपत २७ लाख जिबी थियो । यस तथ्यांकलाई प्रतिमहिना हिसाब गर्दा नौ लाख जिबी हुन आउँछ ।

आजियाटाले अगस्ट ३० मा निकालेको पछिल्लो वित्तीय विवरण अनुसार जुनमा एनसेलको फोरजी सेवा सुरु भएसँगै डाटा खपत बढेको हो । ‘एनसेलको त्रैमासिक पर्फर्मेन्समा सुधार भएको छ । यसले गर्दा डाटाको आयमा १६.९ प्रतिशतले वृद्घि भएको छ,’ रिपोर्टमा भनिएको छ ।

तथ्यांक अनुसार यस अवधिमा प्रतिग्राहक डाटा खपत पनि बढेको छ । सन् २०१७ को दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा एनसेलका डाटा ग्राहकले प्रतिमहिना तीन सय ४१ एमबी डाटा उपभोग गरेका छन् ।

यो गत वर्षको सोही त्रैमासिकको तुलनामा  दोब्बरभन्दा बढी वृद्घि भएको जनाएको छ । तथ्यांक अनुसार गत वर्ष सोही त्रैमासमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग एक सय ६० एमबी थियो ।

त्यसैगरी, एनसलेको कुल आम्दानीमा डाटा योगदान १८ प्रतिशत रहेको छ । यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत छ । एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् ।

एनसेलले जेठ १८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । पहिलो चरणमा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । त्यसपछि सेवा विस्तार गर्दै हाल देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध  छ ।

एनसेलले डिजिटल नेपाल निर्माणमा योगदान पु¥याउन इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्ने र सन् २०१८ भित्रमा दुर्गम र ग्रामीण क्षेत्र लक्ष्य गर्दै थ्रिजी सेवा देशको कुल जनसंख्याको ६० प्रतिशतमा पु¥याउने बताएको छ । त्यसैगरी, कम्पनीले २०१७ भित्र फोरजी सेवा १५ प्रतिशत जनसंख्यामा पु¥याउने सार्वजनिक गरेको छ र देशका विभिन्न ४० सहरमा यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण लगायत काम भइरहेको जनाएको छ ।

मुलुकमा फोरजी सेवा विस्तार भएसँगै नेपाल टेलिकमको पनि दैनिक डाटा खपत वृद्धि हुँदै गएको जनाएको छ । त्यसैगरी, इन्टनेट सुविधा प्रयोग गर्न चाहिने स्मार्टफोन प्रयोग संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ ।

आजियाटाले सार्वजनिक गरेको २०१७ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार एनसेलका ४९ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने उल्लेख गरेको थियो । उक्त प्रतिवेदन अनुसार सन् २०१६ को तुलनामा २०१७ को पहिलो त्रैमासमा स्मार्टफोन प्रयोगकर्ता सत प्रतिशतले बढेको जनाएको छ ।

मोबाइल ब्रोडब्यान्ड सेवा पहुँचका लागि स्मार्टफोन सबैभन्दा सरल र सुलभ माध्यम हो । मोबाइल सेवा प्रदायक कम्पनीहरूको डाटा सेवाको मूल्य घटाउँदै लानु, माग वृद्धि हुनु र सस्तो मूल्यमा पनि स्मार्टफोन पाइन थालेपछि यो बोक्ने ग्राहक उल्लेख्य रुपमा बढेका छन् । नेपाली बजारमा प्रत्येक दिन जस्तो विभिन्न ब्रान्डका नयाँ मोडल वा नयाँ ब्रान्ड भित्रिरहेका छन् ।

प्रकाशित: २९ भाद्र २०७४ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App