बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो।
कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ। बिवाइडी डल्फिन बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी भएको र यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिजको पहिलो गाडी भएको कम्पनीले जनाएको छ।
बिवाइडी डल्फिनमा ४४.९ किलोवाटको ब्लेड ब्याट्री, ७ किलोवाटको चार्जर समर्थन, एकपटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने लगायतका विशेषता भएको कम्पनीले जनाएको छ। बिवाइडी डल्फिनको सुरुवातले नेपालमा नयाँ ऊर्जा थप्ने तथा यात्रुवाहक सवारी व्यवसायको क्षेत्रमा कोसेढुंगा साबित हुने कम्पनीको विश्वास छ।
साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहकलाई अत्यन्त सन्तुष्टि र नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन्।
यस्तै साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडी विद्युतीय गाडी अटोमोबाइलका रूपमा मात्र बिक्री नगरेर यसलाई समाधानका रूपमा बिक्री गरेको बताउँदै देशको घरेलु ऊर्जा खपत र दिगो विकासको आवश्यकतालाई पूरा गर्ने जीवनशैलीलाई सहयोग गर्ने बताए।
कम्पनीका अनुसार बिवाइडी डल्फिनको वितरण नाडा अटो सो २०२३ पछि सुरु हुनेछ। हाल बिवाइडीको फ्युचरिस्टिक बिवाइडी डल्फिन स्यान्ड ह्वाइट (सेतो), माल्दिभ पर्पल (बैजनी), कोरल पिंक (गुलाबी) र अर्बन ग्रे गरी चार विभिन्न रङमा उपलब्ध हुनेछ।
प्रकाशित: २७ भाद्र २०८० ०३:३१ बुधबार