१५ चैत्र २०८० बिहीबार
अर्थ

नेपालले थाल्यो जिसिएम तयारी

काठमाडौं- विश्वव्यापी रूपमा आप्रवासनको क्षेत्रमा देखिएका समस्यालाई न्यूनीकरण गर्ने उपायस्वरुप संयुक्त राष्ट्रसंघमा हुन गइरहेको छलफलमा लागि नेपालले एजेन्डा पहिचान गर्न थालेको छ ।

आप्रवासनको क्षेत्रमा विश्वका विभिन्न देशमा फरकफरक समस्या रहेकाले नेपालले पनि आफ्ना एजेन्डा पहिचान गर्न छलफल सुरु गरेको हो । पछिल्लो समयमा विश्वभरि नै आप्रवासनको क्षेत्रमा भयानक समस्या देखिएपछि दुई वर्षअघि संयुक्त राष्ट्रसंघले आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित गर्नका लागि विश्वव्यापी सम्मेलन गर्ने तय गरेको थियो ।

यतिखेर नेपालबाट ठूलो संख्याका कामदार विभिन्न मुलुकमा पुग्ने र समस्यामा पर्ने क्रम जारी रहे पनि सरकारी निकायबाट गन्तव्य मुलुकलाई कामदारको पक्षमा सहयोग गर्न अनुरोध गर्नेबाहेक ती मुलुकलाई बाध्यकारी रूपमा सहयोग गराउन सक्दैन।

सन् २०१८ को सेप्टेम्बरमा हुने सम्मेलनका लागि आप्रवासी कामदारलाई सुरक्षित, मर्यादित र नियमित गर्ने प्रयासस्वरुपको बैठक जिसिएमका लागि एजेन्डा पहिचान गर्न सरोकारवाला निकायसँग छलफल सुरु गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र स्विस विकास सहयोग नियोग (एसडिसी) को सहकार्यमा राष्ट्रिय एजेन्डा पहिचान गर्न थालेको हो । मन्त्रालयका उपसचिव शिवराम पोखरेलले सुरक्षित, मर्यादित र नियमति आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) मा समावेश गर्ने एजेन्डा पहिचान गर्न सरकारी, गैरसरकारी निकाय र नागरिक समाजसँग दुईपटक छुट्टाछुट्टै र एकपटक सामूहिक छलफल गरिएको बताए ।

बुधबार सरकारी, गैरसरकारी निकाय र नागरिक समाजसँगको छलफलमा नेपालले भोग्दै आएका वास्तविक समस्या पहिचान भएको पोखरेलले बताए ।

छलफलबाट पहिचान गरिएका एजेन्डामा केन्द्रित रहँदै जिसिएममा नेपालले राष्ट्रिय अवधारणा पत्र पेस गर्नेछ । आप्रवासनको क्षेत्रमा नेपालले भोग्दै आएका समस्या जिसिएममा छलफल गरिने र ती समस्या समाधानमा सबै मुलुकको सहयोग मिल्ने नेपालले अपेक्षा गरेको छ । यतिखेर नेपालबाट ठूलो संख्याका कामदार विभिन्न मुलुकमा पुग्ने र समस्यामा पर्ने क्रम जारी रहे पनि सरकारी निकायबाट गन्तव्य मुलुकलाई कामदारको पक्षमा सहयोग गर्न अनुरोध गर्नेबाहेक ती मुलुकलाई बाध्यकारी रूपमा सहयोग गराउन सक्दैन ।

स्वदेशमा रोजगारीका अवसर नहुँदा पछिल्लो समयमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या दिनप्रतिदिन बढ्दो छ ।  जसरी रोजगारीको खोजीमा कामदार बिदेसिन्छन् । त्यसरी नै वैदेशिक रोजगारी उपलब्धिमूलक हुन नसकेको धेरैको बुझाइ छ । वैदेशिक रोजगारीको क्षेत्र सोचजस्तो उपलब्धिमूलक हुन नसक्नुमा नेपालले गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न नसक्नुदेखि लिएर रोजगारदाता मुलुकको मनपरी पूर्ण व्यवहारलाई लिइएको छ । गन्तव्य मुलुकका रोजगारदाताले कामदारलाई जस्तोसुकै व्यवहार गर्दा पनि स्रोत मुलुकले कारबाहीका लागि कुनै पहल गर्न नसक्ने समस्या व्याप्त छ । कतिपयले वैदेशिक रोजगारीको बढ्दो आकर्षणले सामाजिक समस्याले विकराल रुप लिइरहेको सुझाव दिएका छन् ।

जिसिएम बैठकमा नेपालले प्रस्तुत गर्ने आधार पत्रका लागि एजेन्डा पहिचान गर्न  आयोजित छलफलमा बोल्दै विज्ञहरूले अन्तर्राष्ट्रिय तहमा कानुनको पालना गर्नु पर्ने र आप्रवासीलाई न्याय गर्ने कानुन पालना भए÷नभएबारे अनुमगन गर्न अन्तर्राष्ट्रिय स्तरको संयन्त्र आवश्यक रहेकोमा जोड दिएका छन् । स्वभावैल विदेशी भूमिमा आप्रवासी समस्यामा पर्ने र त्यसमा पनि गन्तव्य मुलुकको सहयोग नहुने हो भने आप्रवासी निकै जोखिममा पर्ने भएकाले आप्रवासन समस्या विश्वका सबै मुलुकको साझा समस्या हुुनुपर्ने आवाज उठेको हो ।

आप्रवासनको समस्या स्रोत र गन्तव्य मुलुकसँग मात्र सीमित हुँदा आप्रवासी समस्यामा पर्ने गरेको धेरेको भनाइ छ । आप्रवासी कामदारको पक्षमा न्याय र सहयोग पु¥याउन संयुक्त राष्ट्र संघको जिसिएमबाहेक बेला बेला आवुधावी डाइलग, कोलोम्बो प्रोसेस जस्ता अभियान पनि चलाउने गरिएको छ  ।

क्षेत्रीय स्तरबाट भइरहेका यस्ता अभियानबाट खासै उपलब्धि देखिन नसकेको कतिपयको गुनासो पाइन्छ । यतिखेर नेपालले अध्यक्षता गरिरहेको क्षेत्रीय स्तरकै कोलोम्बो प्रोसेसको बैठक पनि अर्को वर्ष हुँदैछ । मन्त्रालयका उपसचिव पोखरेलले जिसिएमका लागि तय गरिएका एजेन्डा कोलोम्बो प्रोसेसका लागि समेत उपयोगी हुने बताए । कोलोम्बो प्रोसेसमा कामदार पठाउने एसियाका १२ राष्ट्र सहभागी छन् । ती मुलुकले गन्तव्य मुलुकसँग बेला बेला कामदारको हक र हितको पक्षमा बार्गेनिक गर्दै आएका छन् ।

 वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी, आर्थिक, सीप वृद्धि लगायतमा सहयोग पु¥याउन क्रियाशील व्यक्तिहरूले नेपालले स्वदेशमा सुशासन सुदृढीकरण र गन्तव्यमा मुलुकमा अन्तर्राष्ट्रिय तहको अनुगमन संयन्त्रको आवश्यकतामा पनि जोड दिएका छन् ।

प्रकाशित: २२ भाद्र २०७४ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App