१५ चैत्र २०८० बिहीबार
अर्थ

बिजुली अवरुद्ध हुँदा माडी अन्धकार

चितवनको माडीस्थित नेपाल विद्युत् प्राधिकरणको सब–स्टेसन । तस्बिर : नागरिक

चितवन – भदौ १४ यता माडी नगरपालिकामा बिजुली बल्न छाडेको छ । असारपछि माडीमा बिजुली बल्न बन्द भएको यो तेस्रो पटक हो । बिजुली बिग्रेपछि बनाउने उपकरण भारतको राजधानी नयाँ दिल्लीबाटै मगाउनुपर्छ । अघिल्लोपटक बिग्रदा चाँडै उपकरण नआउँदा हप्तौ बिजुली बलेको थिएन । यसपटक पनि त्यस्तै भएको छ । जानकारी गराएको हप्ता दिन हुनै लाग्दा पनि उपकरण आएको छैन। 

‘यो पटक चाँडै आउने आशा थियो तर समय लाग्यो । खै भोलिसम्ममा आउँछ कि भन्ने आशा छ,’ माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने । चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र भूमिगत रुपमा बिछ्याइएको तारमा समस्या आएर बिजुली नबलेको सबैलाई थाहा छ । तर कहाँनिर बिग्रेको हो भन्ने पत्ता लगाउन उपकरण बिना सकिँदैन।

तर त्यो उपकरण नेपालमा छैन । जमिनभित्र रहेको बिग्रेको तार पत्ता लगाउने ‘फल्ट लोकेटर’ मेसिन सरकारले नकिन्दा मर्मतमा दिल्लीको भर पर्नुपरेको हो । यसअघि साउनमा पनि निकुञ्जभित्रै समस्या आउँदा २४ दिनसम्म माडीमा बत्ती बलेको थिएन । दिल्लीबाटै फल्ट लोकेटर ल्याएर बिग्रेको तार पत्ता लगाएपछि साउन ३१ गतेबाट माडीमा बिजुली बल्न थालेको थियो । तर दुई हप्ता पूरा नहुँदै समस्या बल्झेको छ। 

साउनअघि असार पाँच गतेदेखि असार १८ गतेसम्म पनि माडीमा बिजुली थिएन । माडी जान चितवन निकुञ्जको जंगल पार पर्नुपर्ने हुन्छ । निकुञ्जको वातावरण र जनावरलाई असर पर्ने भन्दै निकुञ्जभित्र भूमिगत रुपमा तार बिछ्याइएको थियो । निकुञ्जभित्र रहेको आठ किलोमिटर भूमिगत प्रणालीको सात ठाउँमा ज्वाइन्ट छन् । ती ठाउँमा नै पटक–पटक समस्या आउने गरेको छ। 

माडीमा बनेको सबस्टेसनमा ०७१ माघ ६ गते बिहान बिजुली बलेको हो । तर स्टेसनमा बिजुली बलेलगत्तै समस्या आएर लामो समय घरघरमा बिजुली वितरण हुन पाएन । त्यो बेलामा पनि निकुञ्जको भूमिगत प्रणालीको तार सर्ट भएको थियो । मर्मतपछि गत वर्षको असोज अन्तिमबाट माडीका घरहरुमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न थाल्यो ।
‘त्यसपछि पनि स–साना समस्या नआएका हैनन् तर यो असारदेखि गम्भीर खालका समस्या देखा परेका छन्,’ नेपाल विद्युत् प्रधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले भने । असारमा आएको समस्या निराकण गर्न भारतको दिल्लीबाटै प्राविधिक र उपकरण ल्याउनु परेको थियो। 

दशकौंको प्रयासपछि माडीमा बिजुली बल्न सकेको होे । ०५६ सालमा पोल गाडेर तारसमेत टाँगियो । तर बत्ती नबल्दै बिस्तारै पोल ढले, तार चुँडिए । माडीवासीको घरको अध्यारो हटाउन सोलारले नै सहयोग गर्‍यो । माडीका घर घरमा सोलार बत्ती बल्न थाले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली ‘आकाशको फल’ जस्तै बन्यो।

लगभग ११ हजार घरधुरीलाई विद्युत् सेवा दिने उद्देश्यले ०६६ सालदेखि माडीमा विद्युतीकरण आयोजना सुरु भयो । योजना सुरु गर्दा ०६९ फागुनसम्ममा माडीमा बिजुली पुर्‍याउने लक्ष्य राखिएको थियो । तर आयोजनाको काम पूरा हुनै समय लाग्यो । बल्ल ०७१ सालमा काम पूरा भए पनि सबस्टेसनमा बिजुली पुगेलगत्तै भूमिगत प्रणालीमा समस्या आयो । 
पश्चिम चितवनको चनौलीबाट बिजुली ल्याएर माडीमा वितरण गर्नका लागि आयोजना सुरु भएको थियो । चनौलीदेखि माडी बसन्तपुरमा रहेको सब–स्टेसनको दूरी २७–२८ किलोमिटर छ । त्यो बीचमा आठ किलोमिटर चितवन राष्ट्रिय निकुञ्जको जंगल पर्छ ।  वातावरण र वन्यजन्तुमा नकारात्मक  असर पर्ने खतरा रहेको भन्दै निकुञ्जभित्र भूमिगत रुपमा तार बिछ्याइएको छ। 

झन्डै १२ करोड रुपैयाँ खर्च भएको आयोजनाले माडीवासीलाई ढुक्कसँग बिजुली बाल्न दिएको छैन । राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगे पनि माडी नगरपालिका घोषणा भएको थियो । निकुञ्जका कारण सधैं समस्यामा परेको गुनासो गर्ने माडीवासी बिजुली आयोजनाले कम गुणस्तरको काम गरेको बताउँछन्। 

फल्ट लोकेटर मेसिन नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले नै किन्ने तयारी गरेको छ । नेपालमै उपकरण भए बिग्रेको खण्डमा चाँडो मर्मत हुने माडीवासी बताउँछन् । प्राधिकरणले सो मेसिन किन्न टेन्डर सूचना निकाली सकेको प्राधिकरण भरतपुर शाखाका प्रमुख यादवले जानकारी दिए। 

प्रकाशित: २१ भाद्र २०७४ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App