६ वैशाख २०८१ बिहीबार
अर्थ

गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

काठमाडौैं- नेपालमा उडान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् ।  

नेपालमा उडान गर्दै आएका फ्लाई दुबई,  एयर अरेबिया, इतिहाद एयरवेज र कतार एयरवेजले नेपाल आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् । 

खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाँबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् । 
इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) बाट प्रमाणित तथा ती अन्तर्राष्ट्रिय वायुसेवामा आबद्ध अनुगमन निरीक्षकले नेपाल आएर निगमबाट बिक्री गरिने हवाई इन्धनको गुणस्तर नपुगेको प्रतिवेदन निगममा बुझाएका हुन् । 
प्रतिवेदन प्राप्त गरे पनि निगम व्यवस्थापनले समस्या समाधान गर्नुको सट्टा त्यसलाई पूर्ण रूपमा बेवास्ता गरेपछि समस्या समाधानको पहल गरिदिन ती वायुसेवाले नेपाली उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गुहारेको छ ।
‘खाडी मुलुकका चार प्रमुख वायुसेवा कम्पनीले आयल निगमसँग खरिद गरिने हवाई इन्धनमा गुणस्तर नपुगेको भन्दै समस्या समाधानको पहल गरिदिन पठाएको पत्र प्राप्त भएको छ,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले सोमबार नागरिकसँग भने, ‘हामी यसबारे आयल निगम र सम्बद्ध वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गर्दैछौं ।’   
प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागले पनि यसबारे एकपटक आयल निगमसँग छलफल गरिसकेको छ । पुनः त्रिपक्षीय छलफल गर्ने तयारी भइरहेको पोखरेलले जानकारी दिए । 
नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र आयल निगमबीच भएको सहमतिअनुसार निगमले इन्धन भर्न प्रयोग गरिने बाउजर, फ्युल फिल्टर, होसपाइप नयाँ जडान गर्नुपर्नेछ । त्यसैगरी इन्धन बोक्ने ट्यांकर नयाँ हुनुपर्ने, ट्यांकरमा रंगरोगन गरिएको हुनुपर्ने, बेलाबेला ट्यांकी सफा गर्नुपर्नेलगायत मापदण्ड पूरा गर्नुपर्ने सहमति छ । तर, सहमति लत्याउँदै निगमले पुरानै सामान प्रयोग गरी जहाजमा इन्धन भर्ने काम गर्दै आएको छ । 
‘हामीले जति ताकेता गर्दा पनि आयल निगमले चासो दिएन,’ नेपाल उडान गरिरहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसम्बद्ध एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘त्यसकारण हामीले बाध्य भएर नागरिक उड्डयन प्राधिकरण गुहारेका हौं ।’
सम्बद्ध अधिकारीका अनुसार करिब आठ महिनाअघि पनि यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणलाई एकसाथ राखेर छलफल गरेको थियो । 
‘त्यसबेला गरिएको छलफलमा आयल निगमका उच्च अधिकारीहरूले गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका थिए,’ नेपाल वायुसेवा निगमका एक अधिकारीले भने, ‘तर, हालसम्म इन्धनको गुणस्तर सुधार गरेको जानकारीमा छैन ।’
यता विदेशी वायुसेवा कम्पनी पनि आयल निगमको प्रतिबद्धतापछि केही समय मौन बसेर निगमसँगै इन्धन खरिद गर्दै आएका थिए । तर, बीचमा पुनः ती कम्पनीले आफ्नै अनुगमन निरीक्षक ल्याएर मापदण्ड परीक्षण गराएका थिए । त्यसमा गुणस्तर नपुगेको फेला परेको थियो ।   
इतिहाद एयरवेजले आयल निगमबाट लामो समयदेखि समस्या समाधानमा चासो नदिइएको भन्दै केही समयपहिले काठमाडौंमा हवाई इन्धन भर्न छाडेको थियो । काठमाडौंबाट सीधै अबुधाबी जाने रुट भए पनि इतिहादले काठमाडौंबाट उडेपछि भारतको लखनउ ओर्र्लिएर त्यहाँ इन्धन भर्ने गरेको थियो । बीचमा केही सुधार गरिएको जनाउ पाएपछि इतिहादले यहीं इन्धन भर्न थालेको थियो । 
‘गुणस्तर नपुगेको इन्धन भर्न बाध्य छौं र त्यसमाथि अन्य देशसँग तुलना गर्दा आयल निगमको हवाई इन्धनको भाउ महँगो हुने गरेको छ,’ एक वायुसेवाका अधिकारीले भने, ‘महँगोमा पनि किन्नुपर्ने र गुणस्तर पनि नपुग्ने भएपछि नियामक निकायलाई मध्यस्थता गरिदिन आग्रह गरेका हौं ।’
हवाई इन्धनको मापदण्डमा प्रश्न उठेपछि यसको असर सीधै उडानमा पर्ने प्राधिकरणका अर्का एक अधिकारीले बताए । ‘आयल निगमको एकाधिकार छँदैछ, मापदण्डसँग मतलब भएन भन्दै जाने हो भने विदेशी वायुसेवा कम्पनीले नेपाल उडान बन्द गर्न सक्छन्,’ उनले भने, ‘त्यस्तो हुन गयो भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालबारे नकारात्मक सन्देश प्रवाह हुनेछ ।’ 

प्रकाशित: २० भाद्र २०७४ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App