७ वैशाख २०८१ शुक्रबार
अर्थ

रसुवागढी-केरुङ अब अन्तर्राष्ट्रिय नाका

काठमाडौं- नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति गरिएको छ । अन्तर्राष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपछि अब रसुवागढी–केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् ।

‘नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर एकअर्काे मुलुकमा आवतजावत गर्न सक्ने अवस्था थियो,’ ल्हासास्थित नेपाली महावाणिज्य दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘नाकालाई २०७४ भदौ १४ गतेदेखि अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति गरिएको छ ।’

नेपाल र चीनको तिब्बल स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ गतेदेखि द्विपक्षीय नाकाको रुपमा सञ्चालन हुँदै आएको थियो । यस नाकालाई अन्तर्राष्ट्रिय बनाउन गत जुनमा नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीच कूटनीतिक पत्र आदानप्रदान भएको थियो ।

रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गर्न तिब्बत स्वशासित सरकारले ल्हासामा पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्की उपस्थित थिए । पत्रकार सम्मेलनमा तिब्बत सरकारका सहायक अध्यक्ष लुओ मीले रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गर्न पाउँदा खुसी व्यक्त गरेकी थिइन् ।

‘उहाँले (तिब्बत सरकार सहायक अध्यक्ष) चीनतर्फ उक्त नाकाको भौतिक पूर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको र यो नाकालाई अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गरेबाट दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिवृद्धि हुने तथा यसबाट चीनको वान बेल्ट वान रोड अभियान कार्यन्वयनमा समेत सहयोग पुग्ने बताउनुभयो,’ विज्ञप्तिमा जनाइएको छ । रसुवागढी–केरुङ नाकालाई भविष्यमा चीनलाई दक्षिण एसियासँग जोड्ने महŒवपूर्ण प्रवेशमार्गको रुपमा लिइएको छ ।

प्रकाशित: १५ भाद्र २०७४ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App