७ वैशाख २०८१ शुक्रबार
अर्थ

पूर्वाधार र कृषिमा बाढीबाट ३७ अर्ब क्षति

काठमाडौं- पूर्वी तराईमा हालै गएको बाढीबाट भौतिक पूर्वाधार र कृषि क्षेत्रमा ३७ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको तथ्यांक प्राप्त भएको छ।

सरोकारवाला पाँचवटा मन्त्रालयले संकलन गरेको प्रारम्भिक क्षति विवरणअनुसार ३७ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबर क्षति भएको देखिन्छ। क्षतिको विस्तृत विवरण आएपछि उक्त रकम थप बढ्न सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन्।

सिँचाइमा सबैभन्दा बढी

सोमबारसम्मको अनुमानित तथ्यांकमा बाढीका कारण सिँचाइ मन्त्रालय अन्तर्गतका आयोजनाहरुमा सबैभन्दा बढी क्षति पुगेको छ। सिँचाइका विभिन्न आयोजनामा करिब १५ अर्ब ५० करोड रुपैयाँ क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ। मन्त्रालयका प्रवक्ता सागरकुमार राईले तराईका २० जिल्लामा जल उत्पन्न प्रकोप व्यवस्थापन विभागअन्तर्गतका एक सय ३५ वटा योजनामा क्षति पुगेको बताए। 'जल उत्पन्नतर्फ करिब १२ अर्ब रुपैयाँ क्षति भएको छ,' उनले भने, 'सिँचाइतर्फ १३ जिल्लाका ३१ वटा योजनामा करिब दुई अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ।'

पशुपक्षीतर्फ १० अर्ब

पशुपक्षी विकास मन्त्रालयले अनुमानित १० अर्ब १७ करोड ८८ लाख रुपैयाँ बराबर क्षति भएको जानकारी दिएको छ। मन्त्रालयले पशुधनको मृत्यु तथा पशुजन्य सामग्री नष्ट भई करिब एक अर्ब ३७ करोड ७८ लाख रुपैयाँ र पशुजन्य उत्पादनतर्फ दुई अर्ब ५० करोड १० लाख रुपैयाँ गरी कुल तीन अर्ब ८७ करोड ८८ लाख रुपैयाँको प्रत्यक्ष क्षति भएको जनाएको छ। विभिन्न पशुजन्य उत्पादनमा पर्ने असरबाट थप ६ अर्ब ३० करोड रुपैयाँ क्षति पुग्ने मन्त्रालयको अनुमान छ।

कृषिमा आठ अर्ब

बाढीले कृषितर्फ करिब आठ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको क्षति पुगेको तथ्यांक छ। कृषि विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार धानबालीतर्फ सबैभन्दा बढी क्षति पुगेको देखिन्छ। धानबालीमा ३१ करोड ८३ लाख रुपैयाँको क्षति भएको मन्त्रालयको तथ्यांक छ। त्यस्तै, तरकारी खेतीमा २९ करोड ६५ लाख ४० हजार, माछापालनमा आठ करोड ५० हजार, दलहनमा पाँच करोड ३६ लाख ५० हजार, बेसार खेतीमा तीन करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमान छ। मन्त्रालयले बाढी प्रभावित क्षेत्रका ७८ हजार पाँच सय १५ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको जानकारी दिएको छ।

भौतिकतर्फ तीन अर्ब

बाढीले सडक तथा पुलका संरचनाहरुमा करिब तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्यांक छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले प्रभावित क्षेत्रका सबै राजमार्ग र सहायक मार्गहरुमा क्षति पुगेको बताए। कोशी राजमार्गमा सबैभन्दा बढी क्षति पुगेको उनले बताए।

'बाढीबाट महेन्द्र राजमार्गअन्तर्गतको दुधौरी र रातु तथा गुलरिया–महेन्द्र राजमार्ग जोड्ने बबई नदीको पुलमा सबैभन्दा बढी क्षति पुगेको छ,' प्रवक्ता शर्माले भने, 'यी पुलहरु पूर्णरुपमा विस्थापित गर्नुपर्ने भएको छ।' सडक तथा पुलमा क्षति भए पनि हाल कतै पनि सवारी आवागमन नरोकिएको उनले बताए। अन्य पुलहरुमा समेत आंशिक क्षति पुगेको उनले बताए।

रेल विभागतर्फको क्षति विवरण हालसम्म प्राप्त नभएको मन्त्रालयले जनाएको छ। 'रेलको चारवटा कल्भर्टमा क्षति भएको जानकारी पाएका छौं,' शर्माले भने, 'क्षतिको पूर्ण तथ्यांक आएको छैन।' 

खानेपानीमा ५० करोड

खानेपानीतर्फ करिब ५० करोड रुपैयाँको क्षति पुगेको प्रारिम्भक तथ्यांक छ। खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार बाढी प्रभावित जिल्लाहरुमा करिब २० हजार स्यालो ट्युबवेलमा क्षति पुगेको छ। 'मोरङको एउटा आयोजनाको दुई सय मिटर पाइप नै बगाएको छ,' मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागका सूचना अधिकारी शेखरचन्द्र केसीले भने, 'खानेपानीका विभिन्न आयोजना, पानीको मुहान तथा आयोजनाका पर्खालहरुमा समेत आंशिक क्षति पुगेको छ।'

पुनर्स्थापनाको प्रयास

बाढीबाट क्षतिग्रस्त पूर्वाधार र कृषि क्षेत्रका संरचनाहरु पुनर्निर्माण तथा मर्मतमा सरोकारवाला मन्त्रालयले पहल थालेको छ। तर, क्षतिको रकम धेरै र बजेट अभाव हुँदा अधिकांश संरचनाको तत्काल पुनर्निर्माण गर्न नसकिने मन्त्रालयका अधिकारीहरु बताउँछन्।

सिँचाइ मन्त्रालयका प्रवक्ता राईले क्षतिग्रस्त योजनाको पुनर्स्थापना र मर्मतमा बजेट अभाव रहेको बताए। 'जलउत्पन्न प्रकोप व्यवस्थापन विभागतर्फ आपतकालीन प्रकोप व्यवस्थापनका लागि छुट्ट्याइएको करिब २३ करोड रुपैयाँबाट पुनर्स्थापनाको काम भइरहेको छ,' उनले भने, 'थप बजेट अपुग छ।' मन्त्रालयले क्षतिको विस्तृत विवरण र पुनर्स्थापनाको योजनासहित अर्थ मन्त्रालयसँग थप बजेट व्यवस्थापनका लागि अनुरोध गर्ने तयारी भइरहेको प्रवक्ता राईले बताए। 'प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गरी गृह मन्त्रालयसँगको समन्वयमा कार्यान्वयन गर्ने/गराउने भन्ने पत्र आएकोले सोहीअनुरुप मन्त्रालयले आफ्नो कारबाही अगाडि बढाएको छ,' उनले भने।

बाढीबाट प्रभावित क्षेत्रमा सिँचाइका नहरहरु भत्किएका कारण करिब दुई लाख हेक्टर जमिनमा सिँचाइ गर्न बाधा पुगेको उनले बताए। 'क्षतिग्रस्त संरचनाहरु पुनर्स्थापना गरी पहिलेकै अवस्थामा ल्याउने कार्यमा मन्त्रालय जुटेको छ,' प्रवक्ता राईले भने, 'अर्थबाट चाँडै थप बजेट प्राप्त भए यही सिजनभित्र सम्पन्न गर्छौं।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि तत्काल २५ करोड रुपैयाँ छुट्ट्याएर काम सुरु गरेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता शर्माका अनुसार सडक विभाग अन्तर्गतको आपतकालीन कोषको रकमबाट पुनर्निर्माणको काम सुरु गरिएको हो। अनुमानित तीन अर्ब रुपैयाँमा अपुग रकम अर्थसँग माग गर्ने तयारी मन्त्रालयले गरेको उनले बताए।

शर्माले सडक विभागअन्तर्गत रहेको इमर्जेन्सी रेस्पोन्स टिम परिचालन गरी अवरुद्ध सबै सडक सुचारु गरिएको जानकारी दिए। 'जुन १५ देखि सेप्टेम्बर १५ सम्म चार महिना प्रत्येक राजमार्ग र सहायक राजमार्गमा यो टिम खटाइएको हुन्छ,' उनले भने, 'त्यही टिमले अवरुद्ध सबै सडक खुलाउने काम गरेको छ।'

खानेपानी तथा सरसफाइ मन्त्रालयले प्रभावित क्षेत्रका जनतालाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि काम गरिरहेको जानकारी दिएको छ। 'तत्कालका लागि पानीबाट महामारी फैलन नदिन पानी शुद्धीकरण गर्ने उपकरण, पियूषलगायत सामग्रीसहित प्रभावित क्षेत्रमा टोली खटाएका छौं,' खानेपानी तथा ढल निकास विभागका सूचना अधिकारी शेखरचन्द्र केसीले भने, 'पानी परीक्षण गर्ने सामग्रीसहितको एम्बुलेन्स प्रभावित जिल्लामा परिचालित गरिएको छ।'

मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले मन्त्रालयले खानेपानीको संरचना तत्काल पुनर्स्थापनाका लागि बजेट अभाव हुन नदिने बताए। 'तत्कालका लागि जुनसुकै शीर्षकको बजेटबाट क्षतिग्रस्त संरचनाको पुनर्स्थापना गर्न निर्देशन दिएका छौं,' उनले भने, 'ती संरचनाहरुको पुनर्निर्माण र पुनर्स्थापनाका लागि थप बजेट अर्थ मन्त्रालयसँग माग गर्ने तयारीमा जुटेका छौं।'

प्रकाशित: ६ भाद्र २०७४ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App