८ वैशाख २०८१ शनिबार
अर्थ

पुँजीसँगै बढ्यो बैंकको नाफा

काठमाडौं- चुक्ता पुँजीसँगै पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबार लगायत कारणले बैंकहरुको नाफा ह्वात्तै बढेको छ। शनिबारसम्म गत आर्थिक वर्ष ०७३/७४ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका १७ वाणिज्य बैंकमध्ये १६ वटाको नाफा एक अर्ब रुपैयाँभन्दा माथि छ।

गत आवमा अधिकांश बैंकले नाफा बढाएका छन्। अघिल्लो आवमा भन्दा गत आवमा बैंकले नाफा उल्लेख्य रुपमा बढाएका हुन्।

२८ वाणिज्य बैंकमध्ये १७ वटा (नबिल, कृषि विकास बैंक, ग्लोबल आइएमई, प्रभु, नेपाल एसबिआई, एनएमबि, प्राइम कमर्सियल, एनआइसी एसिया, सिद्धार्थ, माछापुच्छे्र, सानिमा, लक्ष्मी, बैंक अफ काठमाण्डू, सिटिजन्स, नेपाल बंगालादेश बैंक, सन्राइज)ले गत आवकोे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा नबिल बैंकको छ। नबिलले तीन अर्ब ६२ करोड रुपैयाँ नाफा पुर्‍याएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त बैंकले गत आवमा भन्दा निकै कम नाफा गरेको थियो।

दोस्रो धेरै नाफा गर्नेमा सरकारी स्वामित्वको कृषि विकास बैंक छ। यसले दुई अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ। 

तेस्रो बढी नाफा गर्नेमा ग्लोबल आइएमई बैंक छ। यसले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणमा दुई अर्ब तीन करोड रुपैयाँ नाफा गरेको उल्लेख छ।

गत आवको वित्तीय विवरण अनुसार चौथो बढी नाफा कमाउने बैंक प्रभु भएको छ। प्रभुको नाफा एक अर्ब ७५ करोड रुपैयाँ छ।

पाँचौं बढी नाफा कमाउने बैंक नेपाल एसबिआई बैंक हो। उक्त बैंकले एक अर्ब ५२ करोड नाफा गरेको छ। यसैगरी, एनएमबि बैंकले एक अर्ब ५१ करोड नाफा गरेको छ।

यसैगरी, प्राइम कमर्सियलले एक अर्ब ४८ करोड, एनआइसी एसियाले एक अर्ब ४६ करोड, सिद्धार्थले एक अर्ब ४१ करोड, माछापुच्छे्र र सानिमाले एक अर्ब ३० करोड, लक्ष्मीले एक अर्ब २४ करोड, बैंक अफ काठमाण्डूले एक अर्ब २३ करोड, सिटिजन्सले एक अर्ब २१ करोड, नेपाल बंगालादेशले एक अर्ब २० करोड, सन्राइजले एक अर्ब १६ करोड र मेगा बैंकले ७९ करोड नाफा गरेको छ।

कर्जाको ब्याज बढेकाले बैंकको नाफा बढेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बुधबार नागरिकलाई बताए। 'कर्जाको ब्याजदर, पुरानो ऋण असुली लगायत कारणले बैंकको नाफा बढेको हो,' उनले भने, 'ब्याजदर नबढाएका बैंकको नाफा त्यति धेरै बढेको छैन।' सरकारी स्वामित्वको कृषि विकास बैंकले निजी क्षेत्रका बैंकभन्दा निकै कम मात्रामा ऋणको ब्याजदर बढाएको उनले जानकारी दिए।

अघिल्लो आवमा भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंकहरुको व्यवसाय विस्तार हुन नसक्दा नाफा धेरै बढ्न सकेको थिएन। गत आवमा त्यस्तो अवरोध नआएकाले पनि नाफा बढेको हो।

'अघिल्लो वर्ष इन्धनमा बढी खर्च भएको थियो,' एक बैंकरले भने, 'त्यो बचत भएकाले पनि बैंकको नाफा बढाउन केही मद्दत मिल्यो।' लगानीको परिमाण वृद्धिले पनि नाफामा योगदान गरेको उनको भनाइ छ।

'अघिल्लो आवमा भूकम्पलगत्तै नाकाबन्दीको असर परेेका कारण व्यवसाय विस्तार रोकिएकाले त्यसको असर देखिएको थियो,' एक अर्का बैंकरले भने, 'तर, गत आवमा व्यवसाय विस्तार भएकाले बैंकको नाफा बढेेेको हो।'

गत आवमा बैंकहरुले राम्रै नाफा कमाएका छन्। उनीहरुको नाफामा खास संकुचन देखिएको छैन।

कृषि विकास बैंकका सिटौलाले बैंकहरुको चुक्ता पुँजी बढेकाले पनि नाफा बढ्नु स्वाभाविक भएको बताए। उनले भने, 'पुँजी बढेको बेला बैंकले दिने प्रतिफल नघटाउन पनि नाफा बढाउनु पर्छ।' गत आवमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा बढेको बैंकरको भनाइ छ।

अघिल्लो आव तरलता (लगानीयोग्य पुँजी) को अधिक उपलब्धताका कारण बैंकको नाफामा खासै वृद्धि हुन सकेको थिएन। तर, गत आवमा बैंकमा लगानीयोग्य पुँजीमा संकुचन आए पनि नाफामा ठूलो वृद्धि आएको एक बैंकरले बताए। 'ब्याज आम्दानीका कारण नाफा बढेको हो,' उनले भने, 'व्यापारको आकार बढेकोले बैंकको नाफा पनि बढेको हो।'

बाँकी १५ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्। बैंक लगायत पब्लिक लिमिटेड कम्पनीले आव सकिएको ३५ दिनभित्र सो वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन्। औसतमा हेर्दा अघिल्लो आवमा भन्दा गत आवमा बैंकहरुको खुद ब्याज आम्दानी बढेको देखिन्छ। कर्जाको विस्तार पनि बढी देखिन्छ। कर्जासँगै निक्षेप पनि बढेकाले आउँदा दिनमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकर बताउँछन्।

अघिल्लो आवको तुलनामा लगानीको वातावरणमा सुधार हुँदै गएकाले पनि बैंकको नाफा आगामी दिनमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन्। नेपाल राष्ट्र बैंकले चालु आवको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ। राष्ट्र बैंकले चालु आवको आर्थिक वृद्धिदर सुधार हुन सक्ने संकेत देखिएको जनाएको छ।

अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने कृषि, ऊर्जा, पर्यटन तथा उद्योग क्षेत्रमा सकारात्मक संकेत देखिएकाले अर्थतन्त्रको वृद्धि सम्भव हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।

प्रकाशित: २९ श्रावण २०७४ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App