८ वैशाख २०८१ शनिबार
अर्थ

शंखेकीराको प्रकोपले किसान चिन्तित

पाल्पा-वर्षाको समयमा लगाएका कृषि बालीमा शंकेकीराको प्रकोप देखिएको छ। रामपुर नगरपालिकाको तिलकपुर, तलपोखरा, कौवा, विजयपुर, प्याकलुक, मैदान, गैटार, किसानबारी, रम्भा गाउँपालीकाको हुँगी र पूर्वखोला गाउँपालिका रिग्नेरहमा प्रकोप देखिएको हो।

कृषकहरुले खेतबालीमा लगाएको फलफूल, लहरे तरकारी बाली तथा धान खेतीमा क्षति गर्न थालेपछि यस क्षेत्रका कृषकहरु चिन्तित बनेका छन् । शंखेकिराले तरकारी बालीको बोट काट्ने, पात खाई दिने, डाँठ खाई दिने समस्याले बालीमा नोक्सानी पुर्‍याएको रामपुर–६ का व्यवसायीक कृषक सीता देवकोटाले बताइन्। उनी भन्छिन्, ‘पाँच रोपनीमा तरकारी लगाएको छु। यस पटक शंखेकीरा कै कारण लौका, कांक्रो र करेलाको उत्पादन राम्रो भएन। अब साग र काउली लगायतका विरुवाको सिजन आउँदै अब कसरी बचाउने भन्ने सोँचमा छु।’ उनले आफ्नो टोलको शंखेकीरा संकलन गरी नुन राखेर व्यवस्थापन गर्ने प्रयास भैरहेको जानकारी दिइन् ।

रामपुर–६ मैदानका रामचन्द्र ढुङगानाले आफ्नो टोलको लहरे बाली र तरकारी बालीको पात तथा डाँठ खाईदिने समस्याले सबै चिन्तित बनेको बताए। उनी भन्छन्, ‘शंखेकीरा नियन्त्रणको लागि प्लाष्टिकमा संकलन गर्ने काम भैरहेको छ ।’ तालपोखरा तिलकपुर क्षेत्रकास्थानीयहरुले आफ्नो घर वरपरका शंखे किरा संकलन गरी नुन राखेर खाल्डोमा पुर्ने वा प्लाष्टिकमा जम्मा गरी सडकमा गाडीलाई कुचाएर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । कसैले खाल्डोमा फालेर पुर्ने प्रयास गरिरहेका छन् । केहि वर्ष यता रामपुरमा शंखेकिराको प्रकोप देखिए पनि कृषि सेवा केन्द्र रामपुरमा कृषकहरुको कुनै गुनासो नआएको सेवा केन्द्रले जनाएको छ ।

कृषि सेवा केन्द्र रामपुरका कृषि प्रविधिक अशोक श्रेष्ठले शंखेकिराको प्रकोपको अवस्था हेरेर नियन्त्रणका विधि अपनाउन सकिने बताए । उनले नियन्त्रणको उत्तम उपाए किरा संकलन गरी नुन राखेर खाल्डोमा पुर्नु र लार्भाको नष्ट गर्नु रहेको बताए । उनले किराको नियन्त्रणको लागि रासायनिक विषादीको प्रयोग गर्दा थप समस्या देखिने भएकाले टिपेर नुन राखी खाल्डोमा पुर्नु नै उचित हुने बताए । किराको प्रकोप बढी नै भए मात्र रासायनिक औषधीको प्रयोग गर्ने नत्र जैविक विषादी, झोल मलको माध्यमबाट नियन्त्रणमा लिनु राम्रो हुने श्रेष्ठ बताउँछन् ।

शंखेकीरा ओसिलो जमिनमा भेटिने भएकाले संक्रमण गरेको विरुवालाई नष्ट गरेर पनि नियन्त्रणमा लिन सकिने सकिन्छ । कीराले कृषकहरुको बालीमा क्षति पुर्‍याएको जनगुनासो आएपछि वडा समिति रामपुर नगरपालिका ६ ले कृषकहरुलाई नुन वितरण गर्ने निर्णय गरेको छ । जैविक विधि मार्फत किराको नियन्त्रणको लागि वडाबासीलाई आवश्यक नुन वितरण गर्ने निर्णय गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताए । पशु चिकित्सकहरुका अनुसार शंखेकिराको प्रकोप बढ्दै गएमा तरकारी बाली मात्र नभै पशुहरु पनि विभिन्न रोगहरु उत्पन्न हुने गर्दछ।

 

 

प्रकाशित: २३ श्रावण २०७४ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App