१६ चैत्र २०८० शुक्रबार
अर्थ

हवाई कम्पनीले नटेर्दा एक वर्षदेखि साउदी अस्पतालमा

काठमाडौं— पछिल्लो एक वर्षयता नवलपरासी, रुपौलिया–७ छिवलीकी जयकुमारी अधिकारीले नयाँ मान्छे भेट्नेबित्तिकै आग्रह गर्छिन्– मेरा पतिलाई घरसम्म ल्याउन सहयोग गर्नुपर्‍यो। उनले जसलाई भने पनि अहिलेसम्म ‘हेरौंला, सहयोग गरौंला’ भन्ने आश्वासनबाहेक कुनै सहयोग पाएकी छैनन् । डेढ वर्षअघि साउदी अरेबिया गएका पति गोविन्द उतै बिरामी परेर आउन नसकेपछि जयकुमारीले सहयोग गर्ने निकायमा बसेका सबैसँग याचना गरिरहेकी छन्।

साथीभाइले दिएको जानकारी अनुसार गोविन्द एक वर्षदेखि साउदीको आइबिए अस्पतालमा उपचाररत छन् । ‘अघिल्लो वर्षको साउनमा साथीभाइसँग खानपिन गरेको र त्यसपछि अस्पतालमा भर्ना गर्नुपरेको उहाँ (गोविन्द) का साथीहरूले जानकारी दिएका छन्,’ सहयोगको याचना गर्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड पुगेकी जयकुमारीले मंगलबार नागरिकसँग भनिन्, ‘त्यसपछि पतिलाई उद्धार गरी घरसम्म ल्याउन विभिन्न निकाय धाइरहेकी छु । अहिलेसम्म कुनै उपलब्धि हात लागेको छैन ।’

पति बिरामी भएर अस्पताल भर्ना भएपछि फोनमा कुरासमेत नभएको उनले बताइन् । ‘बिरामी पर्नु केही दिनअघि छोरालाई साइकल किनिदिनू र आफ्नो राम्रोसँग ख्याल गर्नू भन्नु भएको थियो,’ त्यसो भनेको केही दिनमै आफैं समस्यामा पर्नु भएछ,’ जयकुमारीले भनिन्, वैदेशिक रोजगारीबाट देशको अर्थतन्त्र धानेको छ भन्नेहरूले विदेशमा आफ्ना नागरिक समस्यामा पर्दा सहयोग गर्न गर्दा रहेनछन् ।’

उनले गोविन्दको घरफिर्तीमा सघाउन श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर लगायत परराष्ट्रका अधिकारीलाई भेटेर आग्रह गरिसकेकी छिन् । ‘कमाउन गएको व्यक्ति विदेशमा समस्यामा पर्दा घरको अवस्था चौपट भएको छ,’ उनले रुँदै भनिन्, ‘अर्कोतर्फ विदेशी अस्पतालमा रहेका पतिलाई कसरी घर ल्याउने भन्ने चिन्ता छ ।’

उनले गोविन्दको घरफिर्तीमा सघाउन श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर लगायत परराष्ट्रका अधिकारीलाई भेटेर आग्रह गरिसकेकी छिन् । ‘कमाउन गएको व्यक्ति विदेशमा समस्यामा पर्दा घरको अवस्था चौपट भएको छ,’ उनले रुँदै भनिन्, ‘अर्कोतर्फ विदेशी अस्पतालमा रहेका पतिलाई कसरी घर ल्याउने भन्ने चिन्ता छ ।’

गोविन्दका साथीले जयकुमारीलाई दिएको जानकारी अनुसार साउदीबाट आउने विमानहरूले नमान्दा उनलाई नेपाल ल्याउन नसकिएको हो । ‘सायद उहाँको अवस्था गम्भीर भएकाले विमानहरूले बोक्न नमानेका होलान्,’ उनले भनिन्, ‘यस्तो बेला सरकारले हवाई कम्पनीलाई आग्रह गरेर भए पनि बोक्न लगाउनु पर्छ ।’ विमानमा ल्याउँदै गर्दा पतिको निधन भयो भने पनि आफूले त्यसमा कुनै दाबी र गुनासो नगर्ने उनको भनाइ छ।

जयकुमारीले यतिखेर आफूले जसरी हुन्छ पतिलाई घर फर्काउन मात्र चाहेको बताइन् । गोविन्दले श्रम स्वीकृति लिएको अवधि आउँदो मंसिरमा सकिने भएकाले पनि परिवार बढी तनावमा छ । श्रम स्वीकृतिको अवधि सकिएर स्वदेश फर्कने बिरामी या मृतकका परिवारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र बिमा कम्पनीले उपलब्ध गराउने सहयोग रकम प्राप्त हुँदैन।

‘सरकारी कर्मचारी मंसिरसम्म घर फर्काउन नसक्ने हो भने कुनै पनि सहयोग नहुने बताउँछन्। तर, घर फर्काउन जति पहल गर्दा पनि सफल हुन सकिएको छैन,’ उनले भनिन्, ‘यदि त्यस्तो हुने हो भने परिवारका सबै सदस्यले आत्महत्या गर्नुबाहेक अन्य कुनै विकल्प हुँदैन।’आठ वर्षसम्म साउदीमा काम गरेका गोविन्द डेढ वर्षअघि व्यक्तिगत तवरले पुनः सोही काम गर्न गएका थिए । मासिक एक हजार रियाल पारिश्रमिक तोकिएका गोविन्दले एक वर्षअघि ५२ हजार रुपैयाँ घरमा पठाएका थिए । साउदी अस्पतालमा भइरहेको खर्च कसले बेहोरिरहेको छ भन्ने आफूलाई जानकारी नभएको जयकुमारीको भनाइ छ । ‘साथीले भने अस्पताल जुनसुकै बेला डिस्चार्ज गर्न तयार रहेको जानकारी दिइरहेका छन्,’ उनले भनिन्।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी आप्रवासी स्रोत केन्द्र संयोजक पुनम थपलियाले गोविन्दलाई घर फर्काउन साउदीस्थित राजदूतावास र बोर्डले सक्दो प्रयास गरे पनि साउदीबाट नेपाल आउने कुनै पनि हवाई कम्पनीले बोक्न नमान्दा समस्या भइरहेको बताइन् । ‘उहाँ (गोविन्द) लाई घरसम्म पु¥याउन जति रकम आवश्यक पर्छ । त्यति नै रकम उपलब्ध गराउन बोर्ड तयार छ,’ उनले भनिन्, ‘अहिलेको समस्या बिरामीलाई बोक्न कसरी मनाउने भन्ने नै हो ।’ उनका अनुसार पछिल्लो समयमा विदेशबाट उद्धारका लागि आग्रह गर्नेको संख्यासमेत बढेको छ । हाल दैनिक सरदर ३०–४० जनाले उद्धारका लागि सहयोग माग्ने गरेको बोर्डले जनाएको छ ।

प्रकाशित: ११ श्रावण २०७४ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App