२३ जेष्ठ २०७७ शुक्रबार
अर्थ

बीबीए पढ्दापढ्दै कृषि फार्मका मालिक

काठमाडौं— भक्तपुर बस्ने सन्जिब श्रेष्ठ अहिले बीबीए छैठौं सेमेस्टरमा पढ्दैछन् । सेवा निवृत्त सैनिकका छोरा उनले नौ वर्षको उमेरदेखि पोखराको आर्मी स्कूलमा पढ्न थाले। त्यहाँबाट एसएलसी सकेपछि भक्तपुरको शैनिक अवसीय महाविद्यालय मा प्लस टु गरे।

भर्खरै बीस वर्ष काटेका उनले काम गर्न शुरु गरेको दुई वर्ष भयो । उनलाई परिवारलाई सहयोग गर्नुपर्ने खासको कुनै अवस्था छैन। उनका धेरै जसो साथीहरु अहिले पनि बुवाआमाको कमाइमै पढिरहेका छन्। उनीहरुलाई पकेट खर्च बुवाआमाले नै दिइरहेका छन्। दुई वर्षअघिको भूकम्पले घर भत्काएपछि उनलाई केही काम गर्नुपर्छ भन्ने जस्तो महशुस भयो । शुरुमा उनी न्यूरोडको पसल तिर काम गर्न गएँ तर त्यसले उनलाई चित्त बुझेन। ‘विहानदेखि रातिसम्म खटियो, पैसा ७÷८ हजार मात्रै हुने’, उनी आफूले काम छोड्नुको कारण सुनाउँछन्।

त्यसपछि के गर्ने? श्रेष्ठले सोच्न थाले । अन्ततः उनले गाई फार्म शुरु गर्ने निर्णय गरे। ‘मेरो हजुरबुवाले पहिले पहिले खुवा बेच्नुहुँदो रहेछ । बजारमा गएँ । हेरेँ । अनि यसैलाई अगाडि बढाउनुपर्यो भनेर सोचें’, राधाकृष्ण फार्म शुरु गरेका उनी भन्छन्।

‘मेरो हजुरबुवाले पहिले पहिले खुवा बेच्नुहुँदो रहेछ । बजारमा गएँ । हेरेँ । अनि यसैलाई अगाडि बढाउनुपर्यो भनेर सोचें’, राधाकृष्ण फार्म शुरु गरेका उनी भन्छन्।

पछिल्लो समयमा कृषि पेशातर्फ युवाहरुको रुचि बढ्दैछ । कृषि प्रधान मुलुक भनेर चिनिने नेपालमा बर्सेनी अर्बौं रुपैयाँको कृषिजन्य सामान आयात गर्नुपर्ने बाध्यता बढ्दैछ । पहिले गर्जो टार्नका लागि मात्र गरिने कृषिमा अहिले युवा पुस्ताको आकर्षण बढ्दो छ । उनीहरुले कृषिलाई व्यवसायिक बनाउन सकिन्छ भनेर लागि परेका छन्।

पोखराका राजेन्द्र अधिकारीले त्रिभुवन विश्वविद्यालयमा प्राणीशास्त्र अध्ययन गरे । कृषकको छोरा भएपनि उनले गैरसरकारी क्षेत्रमा रही नेपालका ६२ वटा जिल्लामा ३० वर्ष खानेपानी, बाटो, पुल निर्माण जस्ता काम गरे। कामकै शिलशिलामा १८ वटा देश पुगे । विभिन्न तालिममा पनि सहभागी भए। तालिम पनि दिए।

एक त कृषकको छोरा, त्यसमाथि विद्यालयमा कृषि पढेका। उनको नशा नशामा कृषि रहिरह्यो । घरमा खेतीपाती गर्ने, बाख्रा कुखुरा पाल्ने चलन त थियो तर त्यो सबै परम्परागत रुपमा पालिन्थ्यो। अहिले अधिकारीले १० हजार कुखुरा र ५ सय बाख्रा पालिरहेका छन्। ‘हाइस्कूलमा पढ्दा उन्नत जात, पछि मेडिकल साइन्स पढ्दा मान्छेको फुड सेक्यूरिटिको कुरामा हाइब्रिड भनेको अलि राम्रो हुँदो रहेनछ भन्ने थाहा पाएँ। त्यसले गर्दा शारीरिक रुपमा हाइब्रिड जेनेटिक बिगारीसकेपछि नेचुरल ग्रोथमा खाएको कुराले हाम्रो जीउमा पनि असर पार्दो रहेछ भन्ने क्रममा थाहा पाएँ’, उनी भन्छन्।

हेटौंडाका तुलाबहादुर तामाङ विगत १३ वर्षदेखि माटो तथा जैविक प्रशिक्षकका रुपमा काम गरेका छन् । उनी मकवानपुर जिल्लालाई रसायन मुक्त जिल्ला बनाउनुपर्छ भनेर लागिरहेका छन्। २०७२ माघबाट हेटौंडा औद्योगिक क्षेत्रमा मदरल्याण्ड एग्रिकल्चर इन्डस्ट्री नामको कृषि पदार्थको कच्चा पदार्थ उत्पादनमा काम गरिरहेका छन्। ‘४० वर्षदेखि लिजमा जग्गा लिएर जैविक खेतीको कच्चा पदार्थ उत्पादनमा काम गरिरहेको छु’, उनी भन्छन्।

उनले यत्तिकै शुरु गरेका भने हैनन्। पहिले उनले चुरोट कम्पनीमा क्वालिटि कन्ट्रोलरको रुपमा १३ वर्ष काम गरे । आफूले चुरोट नखाएपनि क्यान्सर लाग्छ भन्ने सुनेर त्यो काम छोडे। त्यसपछिको समय भने उनले कृषि र किसानसँग विताउन थाले। ‘किसानहरुले टमाटर, आलुजस्ता उत्पादनको अग्र्यानिक खेती गरेका थिए तर बजार नपाएको गुनासो सुनिन्थ्यो’, उनी थप्छन्,  ‘विभिन्न सहकारी मार्फत तालिम दिने, माटो के हो, कति प्रकारको माटो हुन्छ, माटोको पिएच भनेको के हो भनेर एक किसान एक प्राविधिक बनाउने अभियानमा ६९ जिल्ला भ्रमण गरेँ ।’ पाँच दिन लामो तालिममा उनले चार दिन सैद्धान्तिक र एकदिन प्रयोगात्मक कक्षा सञ्चालन गर्थे।

धेरै किसानले आफ्नो उत्पादनले बजार नपाएको गुनासो सुन्दा त्यसलाई उनले आफूसँग भएको कार बेचेर साढे पाँच रोपनी जग्गामा उद्योग खोलेँ । ‘सस, जाम, अचार, स्क्वास, फलफूलको रस, जुस, कस्मेटिकमा ह्याण्ड स्यानिटाइजर, तुलसीको चियाजस्ता अर्गानिक उत्पादनमा लागेको छु’, उनी भन्छन् ।

यी भर्खर व्यवसाय शुरु गरेका, उद्योग चलाइरहेका र विशेषज्ञहरुको भेट भने कृषि ब्यवसायलाई विस्तार गर्न नेपाल आन्ट्रप्रेनर हबले आयोजना गरेको झण्डै साढे दुई महिना लामो ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मा भयो । कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा यस्तै २५ ब्यवसायका ५० जना सहभागी भए।

विश्व बैंक, इन्फोडेभले सहयोग गरेको यो बुट क्याम्पमा  सहभागीले कृषिमा आधारित ब्यवसायलाई विकास र विस्तार गर्न ठोस दक्षता हासिल गर्ने एनइहवका ब्रिजेन्द्र जोशी बताउँछन् । सहभागीलाई औद्योगिक विज्ञहरूले आपूर्ती सप्लाई चेन, भ्यालु एडेड, बजारिकरण, कानुनी प्रक्रिया, विक्री, वितरण, लगानी, साझेदारी लगायतका विषयमा सीप सिकाइएको थियो।

बुट क्याम्पमा सहभागी हुनुअघि तामाङलाई उद्योग सञ्चालन गर्न कच्चा पदार्थ भए पुग्छ भन्ने लागेको थियो । तर यो क्याम्पमा सहभागी भएपनि उनले सबैभन्दा ठूलो कुरा उपभोक्ताको माग बुझ्न जरुरी भएको महशुस गरे । ‘उपभोक्ताको समस्या, बजारलाई चिन्नुपर्छ । बजारलाई नचिनिकन कुनै पनि उद्योग सञ्चालन गर्न  सकिँदैन । गरेपनि अगाडी बढ्न सक्दैन । दिगो हुँदैन’, उनले सिकेको नयाँ ज्ञान बताए । ग्राहकको समस्या, पीडालाई ध्यान दिनुपर्छ भन्ने कुरा आफूले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा भएको उनी बताउँछन्।

दशकौंदेखि यो क्षेत्रमा काम गरिरहेका अधिकारी पनि यो बुट क्याम्पमा सहभागी भएपछि आफ्नो आत्मविश्वास बढेको महशुस गर्छन् । ‘अरुले के गर्दा रहेछन्, हामीले कसरी काम गरिरहेको रहेछौँ, कसरी सुधार्न सकिन्छ वा हामीले गरेको काममा के कमी छ भन्ने थाहा पाइयो’, उनी भन्छन् । क्याम्पमा सहभागी भएपछि पोखरामा बसिरहेका उनले काठमाडौंमा कस्तो माग छ र बजार कसरी चल्छ भन्ने पनि थाहा पाएका छन्।

श्रेष्ठलाई भने यो बुट क्याम्पमा थाहा पाएका धेरै कुराहरु नयाँ छन् । उनले क्याम्पमा व्यवसाय कसरी विस्तार गर्ने, ग्राहकहरुको पहिचान कसरी गर्ने भन्ने कुरा थाहा पाए । ‘त्यहाँ गएपछि हाम्रो उत्पादनहरु कसरी सेल गर्ने, ग्राहकले के चाहान्छन् कसरी थाह पाउने, उत्पादनको लागि कसरी कन्भिस गर्ने, कस्तो ग्राहकलाई लक्षित गर्ने, कस्तो ग्राहकलाई आकर्षित गर्ने, बजारमा आफ्नो उत्पादनको मूल्य के छ भन्नेजस्ता धेरै कुरा थाहा भयो’, उनी भन्छन् । त्यस्तै, उनले पहिले आफूले काम गरेको तलब, भाडाको हिसाब नराख्ने गरेकोमा क्याम्पमा सहभागी भएपछिे हिसाब राख्नुपर्छ भन्ने सिकेको बताउँछन् । त्यस्तै, कानुनी कुरा, कामदारको अधिकार, गुणस्तर कसरी कायम गर्ने लगायतका कुरा सिकेको पनि उनी बताउँछन् ।

श्रेष्ठले बुटक्याम्पमा बजार र उत्पादन कसरी विस्तार गर्ने भनेर पनि सिकेका छन् । ‘क्याम्पमा जानु अघि दूध मात्र उत्पादन गर्थें । डेरीमा मैले दिएको दुधबाट दही बनाएर बेच्छ भने म त्यही किन नगर्ने भनेर दही, घिउ पनि आफैँ बनाएर विक्री गर्न थालेको छु’, उनी भन्छन् । अहिले दुई जना कामदार राखेर चार वटा गाई र ६ वटा भैंसी पालिरहेका उनी अव विस्तारै व्यवसाय विस्तार गर्ने योजना पनि बताउँदैछन्।

सहभागीहरुमध्ये कतिपयका योजनाले बुट क्याप्पकै अबधिमा लगानीकर्तासमेत भेटिसकेका छन् । बुट क्याम्पमा साझेदारी गरिरहेको विजनेश अक्सिजनले उत्कृष्टमध्ये ७ वटा ब्यवसायमा लगानी गर्ने इच्छा जाहेर गरेको एनइहवकी सुसन कर्माचार्य बताउँछिन् । ‘संसारमै पहिलो पटक भएको यस्तो क्याम्पको अनुभव अन्य मुलुकमा समेत विस्तार गर्ने विश्व बैंकले योजना बनाएको छ,’ उनले भनिन्।

 

प्रकाशित: ८ श्रावण २०७४ १६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App