१६ जेष्ठ २०७७ शुक्रबार
अर्थ

दार्जिलिङलाई नेपालको नुन–तेल

पशुपतिनगर बजारबाट भारततिर खाद्यान्न लैजाँदै भारतीय ग्राहक । तस्बिर : भीम चापागाईं

पशुपतिनगर – बजार ठप्प छ तर बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्यपसलेलाई नुन–तेलदेखि दाल–चामलसम्म बेच्न भ्याइनभ्याइ छ । पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ। 

महिनादिनयता पूर्वी भारतीय सीमावर्ती बजार पशुपतिनगर र आसपास क्षेत्रमा यही दृश्य दिनहुँ दोहोरिइरहेको छ । पशुपतिनगर बजारमा साताको सोमबार ग्राहकको भीड अरू दिनभन्दा बढी हुन्छ । बाँकी दिन पनि ग्राहक आउ–जाउ खासै घट्दैन । तर, यहाँ आउने ग्राहक सधैंझैं, लुगाकपडा, भाँडाकुँडा, जुत्ता–चप्पल र खेलौना किन्दैनन् । सबै ग्राहकको मेन्यु एउटै छ– नुन, तेल, दाल, चामल, चिनी, चिउरा, चाउचाउ, मसाला, प्याज, तरकारी, पिठो... । 

भारतको पश्चिमबंगालमा चलिरहेको आन्दोलनको सोझो असरले पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । अन्य सबैजसो पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारीका साधनसमेत छिटफुट मात्रै चल्दैछन् । तर, खाद्यान्न पसलमा भने जतिबेलै भरिभराउ ग्राहक । घरमा बिहान–बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिनगर आइरहेका छन् । आमहड्तालका कारण गाडी नचल्ने भएकाले भारतीय ग्राहक घन्टौं धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारिरहेका छन् । कतिपय ग्राहक आन्दोलनरत दलको ‘सिफारिस’सहित गाडी नै लिएर आउने गरेका छन् भने कतिपय सर्वसाधारण पिठ्युँमै भारी बोकेर जाँदैछन् । केहीले घोडामा खाद्यान्न ओसार्दैछन् । 

भारतीय नाका पशुपतिनगरको मूलबाटोबाटै निजी सवारी साधनमा चामल, चाउचाउ, नुन–भुटुन लोड गरेर लैजाँदै गरेको दृश्य देखिन्छ । पशुपतिनगरबाट निजी भ्यानमा चामल र चाउचाउ हालेर फाटक पुगेका युवा भन्छन्, ‘के गर्नु सर, बिहान–बेलुका लालाबालालाई खुवाउनु र आफूले खानु त प¥यो नि !’ पशुपतिनगरमा प्रहरी र भारतीय प्रहरीले पनि चेकजाँच ‘खुकुलो’ गरिदिएपछि मनी ब्याग र हातेब्यागसमेतमा खाद्यान्न लैजाने भारतीयको संख्या पनि ठूलै छ । 

प्रहरीले कडाइ गर्न खोजे भारतीय ग्राहकले चारमाइल र मानेभञ्ज्याङ लगायतको गोरेटो भएर खाद्यान्न ओसार्ने गरेको स्थानीय बताउँछन् । ‘मूलबाटोबाट त खाद्यान्न ओसारेको खासै देखिँदैन,’ पशुपतिनगर भन्सार कार्यालयका एक कर्मचारी नै स्वीकार्छन््, ‘मान्छे बाँच्ने सबाल छ, सहायक बाटोहरूबाट लगेको खाद्यान्नमा धेरै कडाइ गर्न मुस्किल छ ।’ पशुपतिनगरसँग जोडिएको भारतीय क्षेत्र मिरिक, सुकिलालगायत बस्तीका बासिन्दा उताका बजार, पसल, सवारी सबै ठप्प भएपछि दैनिक उपभोग्य सामग्री लिन पशुपतिनगर आइरहेका छन् । ‘नुन, तेल, चामल, चिउरा, मसालाजस्ता दिनहुँ चाहिने सबैखाले सामान लिन यहीं (पशुपतिनगर) आउनुपरेको छ,’ सुकियाकी डोल्मा भोटियाले सुनाइन्, ‘सबै सामान किन्न यहीं आउनुपर्छ । हाम्रोतिर केही पाउन छोड्यो, तराईबाट गाडी आउन पाए पो सामान आउँथ्यो ।’  

पशुपतिनगरसहित सन्दकपुर, जोगमाई, मानेभञ्ज्याङ, श्रीअन्तु, समालबुङलगायतका यातायात व्यवसायीले यताको चामल, दूध, अन्नलगायत सीमावर्ती बजारसम्म पु¥याइदिनेसमेत गरेका छन् । त्यसपछि उताबाट पैदलै आएका उपभोक्ताले उनीहरूले पु¥याएका खाद्यान्न लैजाँदैछन् । पश्चिमबंगालका विभिन्न स्थानमा रहेका आफन्तले समेत खाद्यान्न अभाव भएकाले पठाइदिन आग्रह गर्न थालेको जोगमाईका साङ्गे योल्मुले बताए । ‘यता त खानसमेत पाइन छाड्यो, दाल–चामल पठाएदिनुभए बाँचिने थियो,’ दार्जिलिङका आफन्त दाबा तामाङले गरेको आग्रह सुनाउँदै योल्मुले सुनाए, ‘चाउचाउसमेत पाइन छाडेकाले उता (दार्जिलिङ)का मान्छे निकै अताल्लिएका छन् अहिले ।’ यातायात व्यवसायी पासाङ तामाङले पनि अहिले नेपाली गाउँबाट दाल–चामल, मकै र गहुँको पिठोसमेत मानेभञ्ज्याङ र सुकियासम्म पु¥याइदिने गरेको बताए । 

गोर्खाल्यान्ड आन्दोलनका कारण दार्जिलिङसहित मिरिक, कालिम्पोङ र खर्साङको जनजीवन प्रभावित छ । यहाँका बजार, पसल, स्कुल, उद्योग कलकारखाना, सवारी साधनलगायत सबै क्षेत्र ठप्प छन् । पश्चिमबंगाल सरकारले ‘अघोषित नाकाबन्दी’ लगाएपछि ३ सातायता दार्जिलिङसहितका पहाडी क्षेत्रमा खाद्यान्नको संकट उत्पन्न हुन थालेको छ । खुला सीमा भएका कारण भारतीय ग्राहकले नेपाली सीमावर्ती बजारबाट सहजै खाद्यान्न ओसारिरहेका छन् । ‘आफ्नो देशमा खानेकुरासम्म पाइन छाडेपछि नेपालबाट चोरेझैं लुकाएर लगेर पेट पाल्नुजस्तो पीडा केही हुन्नरहेछ,’ झोलामा चामल बोकेर फाटकको सडकमा हिँडिरहेकी मिरिककी ६३ वर्षीया महिलाले सुनाइन्, ‘पहिलाजस्तो घर–गाउँमै नुन–तेल किन्ने दिन कहिले आउला र सुख पाइएलाजस्तो भइसक्यो ।’ 

पशुपतिनगरका व्यवसायी मिलन क्षेत्रीले भारतीय पर्यटककै भरमा बाँचेको पशुपतिनगर बजारको कारोबार दार्जिलिङ बन्दले शून्यमा झरेपनि खाद्यान्नको व्यापार भने बढेको बताए । ‘सवारी साधन, कपडा, जुत्ता, भाँडाकुँडालगायतका सबै पसल ठप्प छन्,’ उनले भने, ‘तर, खाद्यपसल भने भारतीय ग्राहकले जतिबेलै भरिभराउन छन् ।’ उनले बंगाली पर्यटको भरमा चलेको पशुपतिनगरमा पर्यटक नआउँदा सवारी साधनसमेत ठप्प भएको बताए । 

यहाँका ठूला खाद्यपसलेले रातको समयमा सवारी साधनमै राखेर भारतसम्म खाद्यान्न पु¥याइदिनेसमेत गरिरहेको स्थानीय साना खाद्यपसलेले बताएका छन् । ‘ठूला व्यापारीले राति–राति मिरिक र सुकियासम्म आफैं खाद्यान्न पु¥याइदिने गरेका छन्,’ एक पसलेले सुनाए, ‘ठूला खाद्य व्यापारीलाई अहिले मालामाल छ ।’ पशुपतिनगर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले भारतको बन्दले पशुपतिनगरमात्र नभई सीमाका सबैजसो बजार सुनसान भएको बताए । उनले दैनिक ४० लाख रुपैयाँसम्मको कारोबार हुने पशुपतिनगरमा खाद्यान्नबाहेक अन्य सबै व्यवसायको कारोबार शून्य नै भएको बताए ।

छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलनका कारण भारत पश्चिमबंगालको पहाडी क्षेत्रको जनजीवन तहसनहस भइसकेको छ । डेढ महिनायताको आमहड्ताल र झडपले दार्जिलिङ, मिरिक, कालिम्पोङ र खर्साङको जनजीवन उकुसमुकुस भएको छ भने खाद्यान्नको चरम अभाव छ ।

 

 

प्रकाशित: ७ श्रावण २०७४ १४:५० शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App