६ वैशाख २०८१ बिहीबार
अर्थ

बजेट सक्न महँगो होटलमा रात्रिभोज

धादिङ- वर्षभरिकाकार्यक्रमको अनुगमनमाधादिङको धार्के पुगेका सरकारी अनुगमन टोली रात्रिभोज गर्न बुधबार साँझ चितवन पुगे। सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली धार्केसम्म पुगेर पनि साँझ ७ बजे चितवनको सिद्धार्थ होटल पुगेको हो।

तीनवटा फरकफरक कार्यालयको अनुगमन भएपनि सबैको एउटै बजेट बनाएर संयुक्त अनुगमनपछि रात्रिकालीन मदिरा पार्टी गर्न चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटार पुगेका हुन्। रात्रिकालीन कार्यक्रम व्यवस्थापनको जिम्मा पाएका कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुख यज्ञ ढकालले भने, 'वर्षको अन्तिम हो, सबै प्रमुखहरु रमाइलो गर्ने, मुड फ्रेस गराउने हिसाबले आएका हौं।'

धादिङ जिल्लाका प्रायः सबै कार्यालय प्रमुखहरु कार्यक्रममा सहभागी थिए। दिउँसोको अनुगमनमा सहभागी नभएका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका सबै प्रमुख रात्रिभोजमा भने सहभागी थिए।

आर्थिक वर्षका अन्त्यमा पूर्वनिर्धारित कार्यक्रमको बजेट सक्न महँगा होटलमा कार्यक्रम गर्न पुगेका हुन्।कार्यक्रम आयोजना गरिएको सिद्धार्थ होटलमा खाना र बासको मात्रै थोरैमा प्रतिव्यक्ति चार हजार पाँच सय पर्छ। रात्रिभोजमा सवारी चालकबाहेक ४० जनाभन्दा बढी सहभागी थिए।

दुईदिने अनुगमनका लागि जिल्ला कृषि विकास कार्यालयको ५० हजार, पशुसेवा कार्यालयको ५० हजार र महिला तथा बालबालिका कार्यालयको ६० हजार बजेट थियो। त्यही बजेटबाट मध्यपान सहितको रात्रिभोज गरिएको स्रोतले बतायो। स्रोतका अनुसार रात्रिभोजमा भएको खर्चमध्ये भत्ताबाट नपुग रकम भने सम्बन्धित कार्यालय प्रमुखले बेहोरेको बताइएको छ।

वित्तीय सुशासन कायम गर्नुपर्ने प्रमुख कोष नियन्त्रक ढकालकै नेतृत्वमा अनुगमन भत्ता कटाएर भोजको आयोजना गरिएकोमा मदिरा नपिउनेहरु असन्तुष्ट देखिएका छन्। 'एकजनाको दुई हजारको दरले भत्तामा सही गरायो, दुई दिनको चार हजारमा सही गरेर आयौंं,' एक सहभागीले भने।

प्रमुख कोष नियन्त्रक ढकालले भने सबैजनाको सहमतिमा भोज आयोजना गरिएका बताए। उनले भने, 'अनुगमनमा जानेलाई भत्ताको व्यवस्था गरिएको रहेछ, त्यही भत्ताबाट रात्रिभोज गरिएको हो। धादिङमा गतिलो बस्ने ठाउँ छैन, त्यही भएर चितवनसम्म पुगियो,' ढकालले भने। भोजमा छुट्टै सरकारी कोषको रकम खर्च नभएको उनले बताए।

कार्यक्रममा कति खर्च भयो भनेर यकिन खर्च विवरण भने सम्बन्धित सरकारी कार्यालयहरुले दिएनन्।

जिल्लाका कार्यक्रममा कहिल्यै देखा नपर्ने कार्यालयका प्रमुख पनि चितवनको रात्रिभोजमा भने देखिएका थिए। हतारमा गरिएको अनुगमनका कारण सबै सञ्चालित योजनाहरुको अनुगमन गर्न नभ्याइएको अनुगमन टोलीमै सहभागी जिल्ला पशुसेवा कार्यालयका कार्यलय प्रमुख देवेन्द्र भगतले बताए। उनले भने, 'नलाङको गाई फार्म र केवलपुरको बाख्रा फार्म हेरियो, समय अभावले कार्यालयले सञ्चालन गरेका सबै योजना हेर्न भ्याइएन।'

सरकारी अधिकृतले नै समय अभावका कारण सबै योजनाको अनुगमन गर्न नभ्याएको बताइँरहदा अनुगमन कार्यक्रम भने दुई दिनको थियो। तर धादिङबेसीबाट निस्किएदेखि नै ठाउँठाउँमा रोक्दै सहभागीलाई माइन्युटमा सही गराउँदै बुधबार साँझ चितवन पुगेको टोली बिहीबार विहान धादिङ फर्किएको छ।

फरकफरक कार्यालयको फरकफरक कार्यक्रम अनुगमन गर्नुपर्ने भएपनि महिला तथा बालबालिका कार्यालयको लैंगिक बालअधिकार मूलप्रवाहीकरण जिल्ला समन्वय समितिको संयुक्त अनुगमन, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय धादिङले वर्षभर सञ्चालन गरेका योजनाको अनुगमन कार्यक्रम एकै समयमा गरिएको हो। अनुगमनमा जाने व्यक्तिहरु एउटै हुने र फरकफरक समयमा अनुगमन गर्न जान नभ्याइने भएकाले तीनवटै कार्यालयको संयुक्त अनुगमन राखिएको महिला बालबालिका कार्यालय, कृषि र पशु कार्यालयले जनाए।

कार्यक्रममा सहभागी हुन सबै सरकारी कार्यालयका प्रमुखहरुले कार्यालयकै गाडी लिएर होटल पुगेपनि सवारी चालकलाई होटलमा बस्ने व्यवस्था नभएपछि बाहिरै बसेका थिए। अनुगमन टोलीले रिजर्भ गरेका बाहेक सेता प्लेटका सरकारी गाडी मात्रै दर्जनहाराहारीमा होटलमा पार्किङ गरिएका थिए।

प्रकाशित: ३० असार २०७४ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App