७ वैशाख २०८१ शुक्रबार
अर्थ

पशुजन्य औषधिले उपभोक्तालाई असर

पोखरा – पशुपक्षीको उत्पादन बढाउन एन्टिवायटिक प्रयोग रोक्नुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय पशुमा प्रयोग हुने औषधिको असर उपभोक्तामा पर्दै आएको छ । त्यसैले पनि बढ्दो एन्टिवायटिक प्रयोगलाई कम गर्नुपर्ने उनीहरुको माग छ ।

पशु सेवा विभागका उपमहानिर्देशक विजयचन्द्र झाले कुखुरालाई छिटो बढ्छ भनेर औषधिका प्रयोग गरिने उपाय गलत भएको बताए । ‘यसलाई अहिले नकारात्मक रुपमा हेरिन थालिएको छ । फिड सप्लिमेन्ट्रीमा एन्टिवायटिक औषधि रोक्ने आदेश दिएका छौं,’ उनले भने, ‘उपभोक्ताले मासु, दूधको क्वालिटी टेस्ट गर्नुपर्छ । आफैं सचेत भई खानामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।’ भेटेरिनरी औषधिसम्बन्धी ऐन नहुँदा गलत गर्नेलाई कारबाही गर्न नसकिएको उनले औंल्याए।

औषधि प्रयोग गरिएको कुखुरा निश्चित अवधिसम्म काट्न दिन नहुने उनले सुझाए । ‘पशुपक्षीकै कारण धेरै मात्रामा मानिसलाई क्यान्सर हुने गरेको छ,’ उनले भने, ‘अनावश्यक औषधि प्रयोग र कम डोजको औषधिले मानिसको स्वास्थ्यमा असर पुग्ने गरेको छ ।’

पशु सेवा विभागको आयोजनमा उपभोक्ता मञ्च नेपाल र वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघको सहजीकरण एवं समन्वयमा पोखरामा आयोजित ‘पशु र पशुजन्य पदार्थमा प्रयोग हुने औषधि न्यूनीकरण विषयक अन्तरक्रियामामा पशुपक्षीमा जथाभावी औषधि प्रयोगले उपभोक्तालाई असर पुगेको औंल्याए । क्षेत्रीय पशु निर्देशनालयका क्षेत्रीय निर्देशक किसनचन्द ठकुरीले पशुपक्षी आयात र निर्यात सम्बन्धी ऐनमा उल्लेख भए बमोजिम हुनुपर्ने बताए । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १७, १८, १९ बमोजिम आयात, निर्यात सिफारिस तथा बिक्री वितरण अनुमति प्रदान गर्न पशु सेवा विभागबाट प्राविधिक सिफारिस समिति गठन गरिएको छ । 

समितिबाट फिड सप्लिमेन्टको लागि प्रयोग गरिने भिटामिन तथा खनिज तŒव (औषधि बाहेक) को आयातको लागि सिफारिस प्रदानको व्यवस्था रहेको ठकुरीले उल्लेख गरे । उनले जथाभावी औषधि पसल खुल्नाले पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा स्वाथ्यमा हानि पुगेको बताए । उनका अनुसार हालसम्म औषधि व्यवस्था विभागमा दर्ता भएका पशु औषधि पसल संख्या २५ सय छन् भने दर्ता नभएका तर कारोबार गरिरहेका अनुमानित २२ सय १५ छन् । पशुपक्षी औषधि व्यवस्थापनको लागि नेपालमा पशु सेवा विभाग अन्तर्गत भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयलाई जिम्मेवारी दिइएको ठकुरीले उल्लेख गरे । 

वस्तु तथा सेवा उपभोक्ता संघका अध्यक्ष रोमलाल गिरीले पशुपक्षीको मासु अत्यधिक मात्रामा प्रयोग सँगै औषधिको पनि प्रयोग बढेको बताए । ‘उत्पादन पद्धतिको प्रयोग फरक छ । रासायनिक विषादीको प्रयोग बढी हुने गरेको छ,’ उनले भने, ‘ऐन अभावले विषादी प्रयोगकर्तालाई कारबाही हुन सकेको छैन ।’ विभागबाटै यस्तो प्रयोगलाई योजनाबद्ध तरिकाले सुधार गर्दै लैजानुपर्ने उनले बताए । ‘माटो सुधार गर्न जीवाणु मल बनाउनुपर्छ,’ उनले भने, ‘पशु आहारामा अमृत मोरिङ आदि प्रयोग गर्नुपर्छ ।’

प्रकाशित: २५ असार २०७४ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App