७ वैशाख २०८१ शुक्रबार
अर्थ

बचत रकम फिर्ता गर्न बैंकलाई दबाब

पोखरा-कैलाश विकास बैंकमा राखेको बचत रकम किर्ते हस्ताक्षर गरी निकालिएको भन्दै तत्काल फिर्ता गर्न बचतकर्ताले व्यवस्थापनसँग माग गरेका छन् । बैंकका तत्कालीन म्यानेजरले आफूहरुको रकम किर्ते हस्ताक्षर गरेर निकालेकोले त्यो रकम फिर्ता गर्न बचतकर्ताले माग गरेका हुन् ।
रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताले मंगलबार बैंकको लामाचौर शाखा घेराउ गरेका छन् ।  बैंक खातामा जम्मा गरेको रकम किर्ते गरेर निकालिएको दुई महिना बितिसक्दा पनि फिर्ताको पहल नगरेको बचतकर्ताको गुनासो छ । तत्काल रकम फिर्ता गर्न दबाब दिँदै बचतकर्ताले बैंक पुगी नाराबाजी गरेका थिए । उनीहरुले चेकमा नक्कली हस्ताक्षर गर्ने व्यक्ति पहिचान गर्न दबाब दिँदै मंगलबार दिनभर कारोबार रोके ।
बैंकका लामाचौर शाखाका तत्कालीन प्रबन्धक रविचन्द्र खनाल सर्वसाधारण बचतकर्ताको करोडौं रकम किर्ते हस्ताक्षर गरेर निकालेर दुई महिनाअघि फरार भएका थिए । प्रबन्धक खनाल अचानक फरार भएपछि बल्ल बचतकर्ताको रकम किर्ते गरेर निकालिएको थाहा भएको थिए । आफूहरुको रकम प्रबन्धक खनालले किर्ते हस्ताक्षर गरी निकालेकोले त्यसको जवाफदेही बैंक हुनुपर्ने र त्यो रकम तत्काल पाउनुपर्ने बचतकर्ताले बताएका छन् ।
बचतकर्ताले त्यही आरोपमा थुनिएका बैंककका अन्य सातजना कर्मचारीलाई पनि रिहा गर्नुपर्ने माग राखेका छन् । उक्त प्रकरणमा लक्ष्मी कँडेल, सुष्मा शर्मा, दिपिका कोइराला, रविना थापा, रिघु आचार्य, सीमा पन्त र शिवराम अधिकारी अहिले थुनामा छन् । प्रबन्धक खनालको निर्देशनमा ती कर्मचारीले बचतकर्ताको रकम भुक्तानी दिने गरेको पाइएको छ ।
थुनिएका कर्मचारीलाई न्यायपूर्ण ढंगबाट अनुसन्धान गरिनुपर्ने बचतकर्ता नविन भण्डारीले बताए । कर्मचारीसँगै पीडित बचतकर्ताप्रति बैंकले ध्यान दिनुपर्ने उनले बताए । ‘बैंकका उच्च दर्जाका कर्मचारी नै दोषी हुन्,’ भण्डारीले भने, ‘भित्रभित्रै मिलेमतो भएको छ, त्यो छानबिन हुनुपर्छ ।’ दुई महिनासम्म पीडितको पैसा मिलाउँछौ भनेर आश्वासन पाएपछि अहिलेसम्म चुप लागेको स्थानीय कमलबहादुर थापाले बताए ।
‘अहिलेसम्म बचतकर्ताको हिसाब नमिलेपछि आन्दोलन गर्न लागेका छौं,’ उनले भने, ‘पीडितले खातामा रहेको पैसा फिर्ता पाउनुपर्ने र निर्दोष कर्मचारी रिहा गरिनुपर्छ ।’ छानबिनका क्रममा आठ महिनाकी गर्भवती कर्मचारी (रिघु) समेत पक्राउ परेकी छिन्, उनलाई केही भयो भने को जवाफदेही ? उनले प्रश्न गरे । कर्मचारी रविनाकी भाउजु सिर्जना थापाले खबर नै नगरी गैरजिम्मेवार तरिकाबाट छानबिनको लागि आफन्तलाई पत्रेको बताइन् । ‘दोषी हो, होइन थाहा नै नपाई पक्राउ गरियो,’ उनले भनिन् । बचतकर्ता सोनिज गुरुङको खातामा बुबाले १९ लाख रुपैयाँ बचत गरिदिएका थिए । ‘खातामा पैसा राखेको जम्मा गरेको रेकर्डले देखाएको छ, तर अहिले खाता रित्तो छ,’ उनले नागरिकसँग भने ।
आन्दोलनपछि कैलाश बंैकका कर्मचारी र पोखरा–१६ र १९ का जनप्रतिनिधि वार्तामा बसेका थिए । झन्डै साढे दुई घन्टा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । ‘बैंक पदाधिकारीले मिल्छ मात्र भन्नुभयो । तर, मिल्ने संकेत नपाएपछि हामी निस्कियौंं,’ नविन भण्डारीले भने । बैंकका सहायक प्रबन्धक सूर्यप्रसाद तिवारीले अझै टुंगो नलाखेको बताए । स्थानीय बचतकर्ता वार्ता छाडेर निस्किएपछि सहमति हुन नसकेको बताए ।
तत्कालीन प्रबन्धक खनाल चैत ३१ गतेदेखि सम्पर्कमा छैनन् । सम्पर्कविहीन भएको १५ दिनपछि खनालले सामाजिक सञ्जालमार्फत गलत संगतले आफू फसेको भन्दै ठगिएकासँग माफी मागेको स्टाटस लेखेका थिए । खनालले बैंकमा बचत गर्न आएका ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । त्यसबाहेक खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्राहक र सहकारीको रकम समेत निकाल्ने गरेको पाइएको छ ।

 

प्रकाशित: ७ असार २०७४ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App