७ वैशाख २०८१ शुक्रबार
अर्थ

'काठमाडौंबाट दोहा हुँदै युरोप-अमेरिका जान समस्या छैन'

काठमाडौं- खाडी मुलुक कतारमा पछिल्लो पटक नयाँ घटनाक्रम विकास हुन पुगेको छ। उसका आधा दर्जन छिमेकी मुलुकले कूटनीतिक सम्बन्धबिच्छेद गरे। बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजमा परेको देखिए पनि व्यवहारमा भने त्यस्तो भइसकेको छैन।

कुनै पनि वायुसेवा समस्यामा पर्दा त्यसको सिधा असर हवाई यात्रुमाथि पर्ने गर्छ। तर, कतारमाथिको सम्बन्धबिच्छेदले न कतार एयरवेजका उडान ढिला भएका छन्, न भाडा बढेको छ, न कुनै यात्रु कतै अड्किएका छन्। कतार एयरवेजले दोहाबाट काठमाडौंका लागि हाल दैनिक तीन उडान गरिरहेको छ। उसले यहाँबाट दोहा र त्यहाँबाट अन्य १ सय ५० गन्तव्यमा यात्रु उडाइरहेको छ।

'छिमेकीले सम्बन्धबिच्छेद गरे पनि हाम्रा उडानमा कुनै समस्या उत्पन्न भएका छैनन्, सबै उडान तोकिएको समयमै सञ्चालनमा छन्,' कतार एयरवेजको नेपालस्थित कार्यालयका एक उच्च अधिकारीले बुधबार नागरिकसँग भने, 'हाम्रो उडान रुट यथावत छन् भने बजारमा हल्ला भएजस्तो हवाई भाडा बढेको पनि छैन। बरु उल्टै प्रवर्द्धनात्मक भाडा दर सार्वजनिक गर्दै छौं।'

कम्पनीको नेपाल कार्यालयले काठमाडौंबाट दोहा हुँदै युरोप र अमेरिकाका विभिन्न गन्तव्य जाने टिकट बढी बिक्री गर्ने गरेको जनाएको छ। यसो हेर्दा दोहाबाट उडेका जहाज सम्बन्धबिच्छेद गर्ने देश माथिबाट जान्छन् भन्ने लागे पनि त्यो गलत भएको ती अधिकारीले बताए।

'हाम्रा जहाजबाट यात्रा गर्नेले ढुक्क भए हुन्छ, विगतमा जसरी उड्न पाइएको थियो, त्यसरी नै अहिले पनि आरामसँग उड्न पाइन्छ,' उनले भने, 'एउटामात्र समस्या के हो भने सम्बन्ध तोडेका देशमा भने हाम्रा उडान रद्द गरिएका छन्। त्यसबाहेकका कुनै पनि गन्तव्य जान समस्या पर्दैन।'

उनका अनुसार काठमाडौंबाट दोहा जाँदा पनि कुनै समस्या छैन। काठमाडौंबाट उडेपछि पुरानै रुटअनुसार भारत, पाकिस्तान र त्यहाँबाट सिधै दोहा पुगिन्छ। दोहाबाट युरोप र अमेरिकाका गन्तव्य जान इरान माथिबाट जाने गरिन्छ। यो पनि पुरानै हवाई रुट हो।

कतारको छिमेकी युनाइटेड अरब इमिरेट्स (युएई) का एयर अरेबिया, इमिरेट्स एयर, इतिहाद एयरवेज र फ्लाई दुबईसहित, इजिप्टको इजिप्ट एयर बहराइनको बहराइन एयरलगायतले दोहा उडान बन्द गरेका छन्। ती देशमा पनि कतार एयरवेजका उडान जान पाएका छैनन्।

'कुटनीतिक सम्बन्ध तोडेका देशबाहेक कतार एयरवेजका जहाजमा काठमाडौंबाट दोहा हुँदै जान कुनै समस्या छैन,' राजधानीको न्युरोडस्थित सुमेघ ट्राभल्सका अध्यक्ष मेघ केसीले नागरिकसँग भने, 'उता विकसित घटनाक्रमबाट कतार एयरवेजको टिकट बिक्री घटेको छैन र भाउ पनि बढेको छैन। काठमाडौंबाट दोहा ट्रान्जिट गरी युरोप, अमेरिका वा अन्य देश जान अप्ठेरो छैन। यात्रुले आत्तिनु पर्दैन।'

एक सातादेखि छिमेकीसँगको सम्बन्ध बिग्रिए पनि कतार एयरवेजले युरोपेली मुलुक आयरल्यान्डको डब्लिनका लागि दैनिक उडान सुरु गरेको छ। मंगलबारदेखि सुरु भएको उक्त उडान दोहाबाट सिधा डब्लिनसम्मको छ। अब काठमाडौंबाट आयरल्यान्ड जाने यात्रुले दोहा हुँदै जान पाउनेछन्। यही उडानलाई कतारले व्यापक प्रवर्द्धन गरिरहेको छ।

कतारको दोहालाई आधार गरी सन् १९९६ बाट काठमाडौं उडान सुरु गरेको कतार एयरवेजले हाल काठमाडौं–दोहा सेक्टरका लागि दैनिक तीन उडान गरिरहेको छ। कतारले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित 'ए३२०–२००' सिरिजका जहाजबाट काठमाडौं उडान गरिरहेको छ। कतारको जहाजमा १ सय ३२ सिट छन्।

कतारले हाल १ सय ९९ आधुनिक जहाजबाट युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका १ सय ५० गन्तव्यमा उडान गरिरहेको छ।

खाडी मुलुक साउदी अरबको नेतृत्वमा युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, यमन र लिबिया लगायतले अस्थिरतालाई बढावा दिएको भन्दै कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन्। साउदी अरबले कतारसँग स्थल, जल र हवाई मार्ग बन्द गरेको छ। युएईले कतारको सबै उडान बन्द गरेको छ।  

प्रकाशित: १ असार २०७४ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App