coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण अनुमोदन

पोखरा- चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रदीप अधिकारीका अनुसार मे ३१ देखि लागु हुनेगरी एक्जिम बैंकले ऋण अनुमोदन गरेको हो। 'एक्जिम बैंकले अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मे ३१ देखि 'लोन इफेक्टिभ' भएको जानकारी दिएको छ,' अधिकारीले भने, 'यससँगै विमानस्थलको निर्माण कार्य अघि बढाउन बाटो खुलेको छ।'

उनका अनुसार लोन अनुमोदन भएको चारवर्षभित्र विमानस्थलको निर्माणसक्नुपर्ने हुन्छ। त्यसैले बर्खा सकिनासाथ भौतिक निर्माणको काम अघि बढाउने अधिकारीले बताए। 'अब निर्माण कम्पनीले काम अघि बढाउँछ। बैंकले आवश्यक रकम दिँदै जान्छ,' उनले भने।

प्रमुख अधिकारीका अनुसार चिनियाँ निर्माण कम्पनीले अब निर्माणका लागि आवश्यक उपकरण र साधन चीनबाट ल्याउनेछ। त्यसपछि भौतिक पूर्वाधारले गति लिने उनले बताए। 'सेप्टेम्बरबाट भौतिक निर्माणको काम सुरु हुनेछ,' उनले भने, 'वर्षाले गर्दा त्यसभन्दा अगाडि काम थाल्न गाह्रो हुन्छ। त्यो भन्दा अगाडि ठेकेदारले अरु काम गर्नेछ।'

सरकारले राष्ट्रिय गौरवको आयोजना भन्दै प्राथमिकतामा राखेको यो विमानस्थल पोहोर वैशाख १ गते शिलान्यास गरिएको थियो। अधिकारीका अनुसार शिलान्यासपछि विमानस्थल निर्माणका लागि अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहायक ऋण सम्झौता भएको छ। अर्थ मन्त्रालयले पाँच प्रतिशत ब्याजदरमा प्राधिकरणलाई ऋण उपलब्ध गराउने सहमति यो अवधिमा भएको छ।

विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यो रकम अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ। प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्नेे छ। उनका अनुसार सुरुका सात वर्षलाई 'ग्रेस पिरियड' मानिएको छ। त्यसैले प्राधिकरणले सात वर्षपछि मात्र ऋण तिर्न थाल्नेछ। वर्षमा दुई किस्ताका दरले २६ किस्ता (१३ वर्ष) मा ऋण चुक्ता गर्नेगरी सम्झौता भएको अधिकारीले बताए।

त्यस्तै विमानस्थल बनाउन पाँच सय २१ रोपनी जग्गा अधिग्रहण सकिएको छ। विमास्थल वरिपरि करिब पाँच किलोमिटर लम्बाइको १० मिटर चौडा सडक बनाउनथप ५० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ। डिजाइनको समीक्षा र स्वीकृतिका लागि प्राधिकरणले आवश्यक परामर्शदाता छनोटको काम गरेको छ। ती बाहेक ढल निकास, पहिरो नियन्त्रण, कार्यालयसम्म जाने सडक कालोपत्रेको काम पनि सकिएको छ। 'सबैगरी अहिलेसम्म करिब साढे पाँच अर्ब रुपैयाँ खर्च भइसकेको छ,' उनले भने।

यो विमानस्थल बनाउनचिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो। प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्ड अनुसार 'फोरडी' मोडलमा विमानस्थल बनाउने उल्लेख छ।

इपिसी मोडलमा बन्ने भएकाले ठेकेदारले चारवर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ। शिलान्यास भएपछि पनि ऋण अनुमोदनमा ढिलाइ भएकाले काम रोकिएको अधिकारीले बताए। चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप पाँचसय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App