coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दूध उत्पादन बढाउन चीनबाट गाई ल्याउन पहल

काठमाडौं- दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले दूध उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नस्लका गाई ल्याउन पहल सुरु गरेको छ। भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट उन्नत गाई ल्याउने प्रक्रिया अघि बढाएको हो।

राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नस्लका गाईसहित नयाँ परियोजना ल्याउन पहल सुरु गरेको छ।

सरकारले आगामि दुई वर्षभित्रमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। उन्नत नस्लका गाई नहुँदा अपेक्षाकृत दूध उत्पादन बढ्न नसकेकाले चीनबाट उन्नत नस्लका गाईसहित नयाँ परियोजना ल्याउन पहल भैरहेको विकास बोर्डका कार्यकारी निर्देशक कैलास ढुंगेलले बताए। 'किसानको माग अनुसार उन्नत नस्लका गाई दिन सकेका छैनौं,' ढुंगेलले भने, 'दूध उत्पादन बढाउन ठूलो परियोजना सञ्चालन गर्ने योजनामा छौं।' उनले दूधको ठूलो मुहाननै खोजेको दाबी गरे। विभिन्न माध्यमबाट चिनियाँ अधिकारीसँग छलफल भइरहेको बोर्डले जनाएको छ। भारतले उन्नत जातका गाई नेपाल निर्यातमा रोक लगाएपछि विकल्प खोजिएको हो। भारतले गाई निर्यात गर्न कानुनी रूपमा नै रोकेको छ।

नेपालले भारतबाट मासुका लागि अर्बौं रुपैयाँका पशुपक्षी ल्याउने गरेको भए पनि कूटनीतिक पहल गरी नस्ल सुधारका लागि गाई ल्याउन सकेको छैन। विदेशमा थोरै घाँस खाएर धेरै दूध दिने गाई पाइन्छन्। व्यावसायिक फर्म सञ्चालन गर्ने किसानले  उन्नत नस्लका गाईको माग गरेका छन्।

बोर्ड र निजी क्षेत्रको पहलमा चीनबाट गाईसहित डेरी क्षेत्रमा काम गर्न परियोजना ल्याउन पहल भएको पशुपक्षी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताए। 'बोर्डले सम्भाव्यता अध्ययन गरेर चीनसँग छलफल अघि बढाएको भए पनि केही प्रक्रिया मिलेकेा छैन,' प्रवक्ता पौडेलले भने, 'सरकारले निर्णय गर्‍यो भने कार्यान्वयनमा आउँछ।'

गत वर्ष भूकम्प पीडितलाई करिब दुई हजार गाई वितरण गर्ने कार्यक्रम भए पनि खरिद प्रक्रिया झन्झटिलो भएकैले बजेट खर्च हुन सकेन।  उपभोक्तालाई आवश्यकता अनुसार अझै दूध आपूर्ति हुन सकेको छैन। बजारमा दैनिक करिब ४८ लाख लिटर दूध माग भए पनि साढे ४६ लाख लिटरमात्र उत्पादन छ। अपुग माग धान्न भारतबाट धुलो दूध आयात हुने गरेको छ। विश्व खाद्य संगठन (डब्लुएफओ) का अनुसार नेपालमा प्रतिदिन एकजना व्यक्तिलाई दुई सय ५० ग्राम दूध आवश्यक पर्छ। प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध उपभोग गर्नुपर्ने भए पनि अहिले प्रतिव्यक्ति खपत ६४ लिटरमात्र छ।

उन्नत गाईले थोरै घाँस र दाना खाने तर धेरै दूध दिने भएकाले उन्नत गाई ल्याउन पहल भएको हो। उन्नत गाईको दूध उत्पादन लागत कम हुन्छ। पाँच लिटर दूध दिने तर १० किलो घाँस खाने स्थानीय गाईभन्दा त्यति नै घाँस खाने र २० लिटर दूध दिने गाई किन्न पहल भएको बोर्डले जनाएको छ।

दूध उत्पादन बढाउने र बजार व्यवस्थित गर्ने काम प्राथमिकतामा राखेको पशुपक्षी मन्त्रालयले जनाएको छ। दूध उत्पादन बढाउनको लागि एक जिल्ला एक घाँस उत्पादन, उन्नत नस्ल सुधार, डेरीमा पूर्वाधार निर्माण लगायका कार्यक्रम ल्याएको पशुपक्षी मन्त्रालयले जनाएको छ। 'दूध उत्पादन बढाउन नयाँ कार्यक्रम ल्याएका छौं,' मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, 'दूध उत्पादनपछि अनुदान दिने कार्यक्रम पनि समावेश गरिएको छ।'

बजार मागको तुलनामा २० प्रतिशत दूध अभाब रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले बताए। 'भूकम्पपछि दूध उत्पादन घट्यो,' केडियाले भने, 'त्यसको असर अहिलेसम्म देखिएको छ।' भूकम्पको बेला दुधालु गाई,भैंसी मरेकाले पनि यो अवस्था सृजना भएको बताए।

नेपालमा वार्षिक उत्पादन हुने १७ लाख २४ हजार मेटि्रक टन दूधमध्ये गाईको दूध पाँच लाख ५७ हजार मेटि्रक टन र भैंसीको दूध ११ लाख ६७ हजार मेटि्रक टन रहेको सरकारी तथ्यांकले देखाउँछ। नेपालमा ७२ लाख ४१ हजार गाई पालिँदै आएको पशुपक्षी विभागले जनाएको छ। त्यसैगरी भैंसीको संख्या ५१ लाख ६७ हजार छ। भैंसीको तुलनामा गाईको संख्या बढी भए पनि अधिकांश गाई काठे (कम दूध दिने स्थानीय) छन्। गाईको तुलनामा भैंसीकै दूध धेरै उत्पादन हुन्छ। नेपालमा गोवध गर्न कानुनले रोक लगाएको छ। त्यसैले गाईको संख्या बढी भए पनि प्रतिफल कमजोर भएकाले सरकारले उन्नत जातको गाई पालनलाई प्रोत्साहन गर्दै आएको छ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App