८ वैशाख २०८१ शनिबार
अर्थ

अर्ब क्लबमा नयाँ बैंक थपिए

काठमाडौं- नौ महिनाको अवधिमा एक अर्बभन्दा बढी नाफा आर्जन गर्ने बैंकको संख्या थपिएको छ। हालसम्म सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार प्रभु, एनआइसी एसिया र माछापुच्छे बैंक अर्बभन्दा बढी नाफा कमाउनेको सूचीमा उक्लिएका छन्। गत वर्ष यी तीनै बैंकले अर्बभन्दा कम नाफा कमाएका थिए।

यसपालि प्रभु, एनआइसी एसिया र माछापुच्छे 'अर्ब क्लब'मा उक्लिएका छन्।

चालु आर्थिक वर्षको नौ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १२ मध्ये आठ वाणिज्य बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्। पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीले नाफा अर्ब नाघेको हो।

मुलुकका २८ वाणिज्य बैंकमध्ये नबिल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, ग्लोबल आइएमई, प्रभु, एनएमबी, एनआइसी एसिया, माछापुच्छे,  सिद्धार्थ, सानिमा, सिटिजन्स, नेपाल बंगलादेश बैंकले नौ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक परेको छ।

नबिलले चालु आवको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको छ। उक्त बैंकले गत आवको सोही अवधिमा दुई अर्ब पाँच करोड नाफा गरेको थियो।

चैतसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, नेपाल इन्भेस्टमेन्ट दोस्रो बढी नाफा कमाउने बैंक बनेको छ। यसले चालु आवको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा नेपाल इन्भेस्टमेन्टले एक अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको थियो।

एभरेस्टले एक अर्ब ५२ करोड रुपैयाँ नाफा पुर्‍याएर तेस्रो बढी नाफा कमाउने बैंक बनेको छ। गत वर्ष सोही अवधिमा एभरेस्टले एक अर्ब २० करोडको नाफा गरेको थियो।

चौथो बढी नाफा गर्नेमा ग्लोबल आइएमई बैंक परेको छ। बैंकले सार्वजनिक गरेको नौ महिनाको वित्तीय विवरणमा एक अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको उल्लेख छ। अघिल्लो वर्षको चैतसम्म बैकले एक अर्ब तीन करोड रुपैयाँ नाफा गरेको थियो।

प्रभुले तीन अर्ब ४४ करोड नाफा गरी पाँचौं बढी नाफा कमाउने बैंक बनेको छ। उक्त बैंकले गत वर्षको सोही अवधिमा ७५ करोड ७८ लाख गरेको थियो।

एनएमबी, एनआइसी एसिया र माछापुच्छ्रे बैंकको नाफा पनि अर्बभन्दा माथि छ। एनएमबी बैंकले एक अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा एनएमबी बैंकले ७७ करोड नाफा गरेको थियो। एनएमबी बैंकले एक अर्ब १४ करोड नाफा गरेको छ। गत आवको सोही अवधिमा उक्त बैंकले ७७ करोड नाफा गरेको थियो।

एनआइसी एसिया बैंकले नौ महिनाको वित्तीय विवरणमा एक अर्ब १३ करोड रुपैयाँ नाफा गरेको उल्लेख छ। अघिल्लो वर्षको चैतसम्म बैंकले ७५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो।

यसैगरी वित्तीय विवरण सार्वजनिक गरेका मध्ये माछापुच्छे बैंक एक अर्ब ५० लाख कमाएको छ। उक्त बैंकले गत वर्षको सोही अवधिमा ६२ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो।

अर्ब कमाउन नसके पनि छेउछाउ पुग्नेमा सिद्धार्थ र सानिमा बैंक छन्। चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सिद्धार्थले ९५ करोड ७० लाख र सानिमाले ९४ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ।

सिटिजन्स बैंकले चैत मसान्तसम्म ८८ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७२ करोड ४७ लाख रुपैयाँ थियो।

यसैगरी, नेपाल बंगालादेश (एनबी) बैंकले ८२ करोड ७६ लाख कमाएको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले ७० करोड नाफा गरेको थियो।

गत आवमा भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंकहरुको व्यवसाय विस्तार हुन नसक्दा नाफा धेरै बढ्न सकेको थिएन। चालु आवमा त्यस्तो अवरोध नआएकाले पनि बैंकको नाफा बढेको हो।

'गत आर्थिक वर्षमा भूकम्पलगत्तै नाकाबन्दीको असर परेेका कारण व्यवसाय विस्तार रोकिएकाले त्यसको असर देखिएको थियो,' एक बैंकरले भने, 'तर चालु आवमा व्यवसाय विस्तार भएकाले नाफा बढेेेको हो।'

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुले आकारका हिसाबमा राम्रै नाफा कमाएको देखिए चुक्ता पुँजीको आकार समेत बढेकाले तिनका लगानीकर्ताले पाउने प्रतिफलमा भने त्यत्ति ठूलो अन्तर नआउने बैंकर बताउँछन्। 'समग्रमा नाफा बढेको देखिए पनि सेयरहोल्डरले पाउने प्रतिफल भने १८–२० प्रतिशत नै होला,' नाम उल्लेख नगर्न आग्रह गर्दै एकजना बैंकरले भने, 'चुक्ता पँुँजी पनि बढेको छ नि!'

बैंकहरुले लगानी बढाएकाले नाफा बढ्दै गएको एक बैंकरले बताए। बैंकहरुको चुक्ता पुँजी बढेकाले पनि नाफा बढ्नुलाई उनले स्वाभाविक प्रक्रिया भने। उनले भने, 'बैंकहरु दिने प्रतिफल नघटाउन पनि नाफा बढाउनु पर्छ।' चालु आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा वृद्धि भएको बैंकरहरुको भनाइ छ।

गत आर्थिक वर्ष तरलता (लगानीयोग्य पुँजी) को अधिक उपलब्धताका कारण बैंकहरुको नाफामा खासै वृद्धि हुन सकेको थिएन। तर, चालु आवमा बैंकमा लगानीयोग्य पुँजीमा संकुचन आए पनि नाफामा ठूलो वृद्धि आएको एक बैंकरले बताए। 'ब्याज आम्दानीका कारण नाफा वृद्धि भएको हो,' उनले भने, 'व्यापारको आकार बढेकोले बैंकको नाफा पनि बढेको हो।'

१६ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्। बैंक लगायत पब्लिक लिमिटेड कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण उक्त अवधि सकिएको ३५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन्। औसतमा हेर्दा चालु आवको पहिलो नौ महिनामा गत वर्षको भन्दा बैंकहरुको खुद ब्याज नाफा बढेको देखिन्छ। कर्जाको विस्तार पनि बढी देखिन्छ। कर्जासँगै निक्षेप पनि बढेकाले आउँदो त्रैमासमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकरहरु बताउँछन्।

गत आवको तुलनामा लगानीको वातावरणमा सुधार हुँदै गएकाले पनि बैंकको नाफा आगामी त्रैमासमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन्।  

प्रकाशित: २१ वैशाख २०७४ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App