१५ चैत्र २०८० बिहीबार
अर्थ

हरियो चिया उत्पादन बढ्यो, किसान उत्साही

इलामको सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेटको ट्रफमा हरियो चिया प्रशोधनका लागि सुकाउँदै कामदार। तस्बिरः भीम चापागाईं

इलाम– समयमा वर्षा र मलखाद अभावले गतवर्ष ओरालो लागेको हरियो चियापत्ती उत्पादनले यो वर्ष भने किसानलाई उत्साह थपेको छ। समयमै वर्षा भएको र धेरै स्थानमा हावापानी अनुकूल हुँदा गतवर्षहरूको तुलनामा हरियो पत्ती उत्पादन बढेको चिया किसान र प्रशोधनकर्ताले बताएका छन्।

गतवर्ष ४० प्रतिशतसम्म घटेको फस्ट फ्लस उत्पादन यो वर्ष भने त्यही हाराहारीमा बढेको छ । हरियो पत्ती उत्पादन बढेपछि किसान उत्साही छन् ।

चैत–वैशाखमा टिपाइ हुने फस्ट फ्लस (पहिलो टिपाइ)को चिया वर्षभरकै गुणस्तरीय र महँगो मानिन्छ । गतवर्ष ४० प्रतिशतसम्म घटेको फस्ट फ्लस उत्पादन यो वर्ष भने त्यही हाराहारीमा बढेको छ । हरियो पत्ती उत्पादन बढेपछि किसान उत्साही छन् । उद्योगीहरू पनि स्वदेशी र विदेशी बजारले मागेको तयारी चिया पु¥याउने प्रयासमा छन् । सरकारी र ठूला निजी बगानमा मात्र होइन, साना किसानले कोठेबारीमा लगाएको चिया उत्पादन पनि यो वर्ष ‘उत्साहपूर्ण’ छ ।

गतवर्ष सिँचाइ अभाव भएका ठाउँमा फस्ट फ्लस उत्पादन चैत अन्तिम सातामात्रै भएको थियो । यो वर्ष भने चैत सुरुमै चियाले उत्पादन दिन थालेकाले परिमाण पनि बढेको उद्योगी बताउँछन् । पाँचथरको फिदिमस्थित कञ्चनजंघा चिया प्रशोधन उद्योगले यो वर्ष समयमै वर्षा भएकाले ५ देखि १० प्रतिशतसम्म हरियोपत्ती उत्पादन बढेको जनाएको छ । उद्योगका प्रबन्धक निरानन्द आचार्यले वर्षभरको उत्पादनको २५ प्रतिशत अहिले नै भइसकेको बताए । ‘पोहोर यतिबेलासम्म वर्षभरको उत्पादनको १५ देखि २० प्रतिशत मात्र भएको थियो, अहिले २५ प्रतिशत नाघेको छ,’ उनले भने, ‘बेलैमा पानी परेकाले उत्पादन बढेको हो ।’

कञ्चनजंघाले गतवर्ष ४० टन तयारी चिया उत्पादन गरेको थियो । यो वर्ष ५० टन पुग्ने अनुमान गरेको उनले बताए । उद्योगमा अघिल्लो वर्ष पहिलो टिपाइमा १२ हजार किलो तयारी चिया उत्पादन भएकामा गतवर्ष ९ हजार किलोमात्रै भएको थियो । यो वर्ष भने उत्पादन बढेको उनले बताए ।

पोहोर पहिलो टिपाइबाट १३ हजार किलो तयारी चिया उत्पादन गरेको इलामको सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेटले परार १७ हजार किलो उत्पादन गरेको थियो । यो वर्ष पोहोरभन्दा उत्पादन बढेको उद्योगले जनाएको छ । ‘यसपालि हिउँदमा पानी परेकाले हरियोपत्ती हुरुरु आउँदा टिप्नसमेत भ्याइएन,’ सञ्चालन उदय चापागाईंले भने, ‘गतवर्ष उत्पादन निरासाजनक थियो । अहिले आसलाग्दो छ ।’ गोर्खाले बर्सेनि ७० हजार किलोको हाराहारीमा अर्गानिक अर्थाेडक्स तयारी चिया उत्पादन गरिरहेको छ ।

इलाम सदरमुकामस्थित सरकारी स्वामित्वको इलाम चिया बगानमा यो वर्ष पहिलो टिपाइमा १० हजार किलो हरियोे पत्ती उत्पादन भएको छ । पोहोरसम्म यो उत्पादन झन्डै आधार थियो । उद्योगकी इन्दिरा गुरुङले अहिले दिनहुँ अढाई सय किलोसम्म हरियोपत्ती कारखानाले प्रशोधन गरिरहेको बताइन् । ‘पत्ती त धेरै पलाएको छ तर गुणस्तर चाहिँ कम भएजस्तो छ,’ उनले भनिन्, ‘हुरुरु एकैपटक आएको फस्ट फ्लस टिप्दा दोस्रो टिपाइको पत्तीमा गुणस्तर कम भएको हो ।’ उनले यो वर्ष वर्षाले साथ दिएकाले उत्पादन बढ्ने अनुमान गरिन् ।चियाकाे मुना

माइपोखरीस्थित माइपोखरी चिया प्रशोधन उद्योगमा यो वर्ष कारखानाले प्रशोधन गर्न नभ्याउने गरी हरियोपत्ती संकलन भइरहेको छ । उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चिया उत्पादन भइरहेको यो कारखानाले संकलन भएको हरियो पत्ती नजिकैको अर्काे कारखाना पठाइरहेको छ । ‘यो वर्ष पहिलो टिपाइदेखि नै उत्पादन धेरै छ,’ उद्योग सञ्चालक शरद सुब्बाले भने, ‘यहाँ प्रशोधन गर्न नभ्याएर अर्काे फ्याक्ट्रीमा पनि पठाउँदैछौं ।’

साखेजुङस्थित हिमालन सांग्रिला टि प्रोड्युसर्स प्रालिमा चाहिँ यो वर्ष चिया उत्पादन घटेको छ । प्रायः चिसो मौसम रहने साखेजुङको चियामा चिसो बढी भएकाले उत्पादनमा केही असर पुगेको प्रालि सञ्चालक कमल मैनालीले बताए । ‘चिया उत्पादन बढाउनेगरी पानी त बेलैदेखि परेको हो तर यहाँ चिसो नै हुने भएकाले उत्पादन घटेको छ,’ उनले भने, ‘दोस्रो टिपाइमा पत्तीको गुणस्तर पनि कम नै छ ।’ उनले चियालाई चाहिएका बेला पानी नपरेको र नचाहिएका बेला चाहिँ बढी पानी परेको बताए । प्रालिको उद्योगमा अहिले दिनहुँ ३ हजार ५ सय किलोसम्म हरियोपत्ती प्रशोधन भइरहेको छ ।   

मौसम परिवर्तनले नेपालको चियालाई छिटो असर गर्ने गरेको चिया उत्पादक र उद्योगी बताउँछन् । चियालाई मौसम परिवर्तनअनुकूल बनाउन नसक्दा बर्सेनि चिया उत्पादन फरक पर्ने गरेको गोर्खा टी स्टेट सञ्चालक चापागाईं बताउँछन् । चीनको चिया खेती, परम्परा अध्ययन गरी चिया बिक्री सिलसिलामा युरोप तथा अमेरिकी देशहरूमा लामो समय बिताएका चापागाईंले नेपालमा कलमी बिरुवाबाट बढी चिया खेती विस्तार हुने गरेको र मौसम परिवर्तनले यस्तो बिरुवामा छिटो असर पुग्ने गरेको बताए । ‘अन्य मुलुकहरूमा बीउबाट चियाको बिरुवा उत्पादन गरिँदोरहेछ, हामी चाहिँ छिटो उत्पादनका लागि कलमी गरेर बिरुवा उत्पादन गर्छाैं,’ उनले भने, ‘कलमीबाट उत्पादन भएको चियालाई मौसमले छिटो असर गर्छ ।’

नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार इलाम, पाँचथर, धनकुटा, झापा र तेह्रथुम चिया उत्पादनका लागि मुख्य छन् । आर्थिक वर्ष २०७२÷०७३ मा नेपालमा २ करोड ४२ लाख ६३ हजार किलो तयारी चिया उत्पादन भएको बोर्डले जनाएको छ । नेपालले चिया निर्यात गरी गतवर्ष अढाई अर्ब रुपैयाँ भिœयाएको थियो ।

प्रकाशित: १८ वैशाख २०७४ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App