राजधानी काठमाडौंमा आइतबार मूल्य नपाएको भन्दै सडकमा गोलभेँडा फ्याँकियो। किसानले झन्डै चार लाख किलो गोलभेँडा सडकमा फालेको अनुमान छ। प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री नभएको भन्दै आक्रोशित किसानले राजधानीका सडकमा गोलभेँडा फ्याँकिरहँदा पोखरामा भने त्यही गोलभेँडाको मूल्य उच्च छ।
पोखरामा यति बेला गोलभेँडाको प्रतिकिलो खुद्रा मूल्य ६५ देखि ७० रुपैयाँ छ। थोक बजारकै मूल्य पनि पोखरामा ५५ रुपैयाँसम्म पर्छ। थोक बजारबाट प्रतिकिलो ५५ रुपैयाँसम्म किनेको गोलभेँडा खुद्रा व्यवसायीले नाफा थपेर बेच्दा उपभोक्ताले प्रतिकिलो ७० रुपैयाँसम्म तिर्नुपरेको छ। बजार अनुगमनमा बेवास्ता गर्दा पोखरामा मूल्यमा मनपरी रहेको व्यवसायीको गुनासो छ।
त्यसबाहेक राजधानीमा मूल्य नपाइरहेको तरकारीलाई पोखरा ल्याउने प्रयास नहुँदा पोखरावासी उपभोक्ता सधैँ महँगोमा तरकारी किन्नुपर्ने बाध्यतामा छन्। पोखराको सबैभन्दा ठुलो तरकारी बजार पोखरा थोक तरकारी बजारका अनुसार पछिल्लो डेढ सातादेखि पोखरामा गोलभेँडाको आपूर्ति उच्च थियो। दिनमा करिब १८ सय देखि २२ सय क्रेट गोलभेँडा पोखरामा खपत हुन्छ। तर, पछिल्लो डेढ सातादेखि दिनमा २४ सय क्रेटसम्म गोलभेँडा बजारमा आउने गरेको थियो। उत्पादन बढेपछि बजारमा गोलभेँडाको आपूर्ति पनि थपिएको थियो। त्यसले केही मूल्य घटाएको पनि थियो ।
‘स्थानीय उत्पादन पनि बढेको छ। पछिल्लो समय केही गोलभेँडा आसपासका जिल्लाबाट पनि भित्रिने गरेको छ,’ बजारकी कर्मचारी रुपा दाहालले भनिन, ‘यतिसम्मकी बजारमा गोलभेँडाको आपूर्ति बढेपछि गत बिहीबार, शुक्रबार र शनिबार पोखरामा थोक मूल्य प्रतिकिलो २५ रुपैयाँसम्म थियो। बिहीबार भन्दा अघिल्ला दिनसम्म पोखरामा प्रतिकिलो थोक मूल्य ३५ रुपैयाँ जति थियो। त्यसले उपभोक्तालाई केही सस्तो पनि परेको थियो।
‘गत शनिबारसम्म पोखरामा गोलभेँडाको मूल्य केही सस्तो थियो, बिहीबारदेखी शनि बारसम्म त थोक मूल्य प्रतिकिलो २५ रुपैयाँसम्म थियो। तर आइतबार पोखरामा गोलभेँडा नै अभाव भयो,’ उनले भनिन, ‘आइतबार बिहान हामी तरकारी बजार आउँदा गोलभेँडा अभाव थियो।’ उनका अनुसार आइतबार राजधानीमा गोलभेँडा फ्याकेपछि पोखरामा एकाएक अभाव देखाएर अरुबेलाको तुलनामा एकतिहाई मात्र गोलभेँडा झारिएको थियो।
शनि बारसम्म दैनिक करिब २४ सय क्रेट गोलभेँडा भित्रिएको पोखराको थोक बजारमा आइतबार बिहान र बेलुकी गरी जम्मा ६३५ क्रेट गोलभेँडा झारिएको उनले बत्ताइन। आपूर्ति कम भएको भन्दै व्यवसायीले पुन मूल्य बढाएका थिए। ‘आइतबार गोलभेँडाको आपूर्ति कम हुनासाथ मूल्य बढिहाल्यो। सोमबार फेरि १९ सय क्रेटजति गोलभेँडा भित्रिएको छ। तर बजारमा मूल्य भने घटेको छैन, बरु बढेको छ,’ उनले भनिन।
बजारका सदस्य सचिव महेन्द्रसिंह पौडेल खुद्रा व्यवसायीले बढी लाभ खोज्दा उपभोक्ता मर्कामा परेको बताउँछन्। राजधानी काठमाडौंमा पनि मिलेमतोमा तरकारी फ्याँकिएको उनको अनुमान छ। उनका अनुसार पोखरामा सधैंजसो तरकारीको मूल्य अन्यत्रको तुलनामा महँगो हुन्छ। ‘व्यवसायीले आफ्नो लाभ मात्र हेर्दा यो अवस्था आएको हो। उपभोक्ताको लागि पनि सहज हुनेगरि उत्पादनलाई बजारीकरण गरिदिने हो भने उपभोक्तालाई राहत मिल्थ्यो,’ पौडेलले भने, ‘तर, उपभोक्तालाई हेर्ने निकाय नै भएन।’
उनका अनुसार थोक मूल्यका किनेको तरकारीलाई खुद्रा व्यवसायीले उपभोक्तालाई बेच्दा बढीमा २० प्रतिशत नाफा राख्न पाउँछन्। १० देखि २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्नेमा व्यवसायीले त्यो भन्दा बढी मूल्य लिने गरेको उनले बताए। ‘पोखरामा सोमबार ३५ देखि ५५ रुपैयाँ प्रतिकिलोको दरले किसानले गोलभेँडाको मूल्य पाएका छन्। त्यस हिसाबले उपभोक्ताले बढीमा ६० रुपैयाँ किलोमा पाउनुपर्ने हो। तर, बजारमा ७० रुपैयाँ परेको छ, त्यो बढी नै हो,’ उनले भने।
पोखरा थोक तरकारी बजारका अध्यक्ष कमल पौडेल खुद्रा व्यवसायीले बढी नाफा लिन खोज्दा उपभोक्ता मारमा परेको बताउँछन्। ‘नोक्सानी पनि खुद्रा व्यवसायीले नै बेहोर्ने हुन। त्यसबाहेक १–२ क्रेट तरकारी बेचेर गुजारा चलाएका व्यवसायीले पनि मनपरी रुपमा मूल्य लिने गरेका छन्। बजार अनुगमन नहुँदा पोखराले सधैँ महँगो खेप्नुपरेको छ,’ पौडेलले भने, ‘खुद्रा व्यवसायीले जथाभाबी मूल्य लिने गरेका छन्। थोक बजारमा ५० रुपैयाँ भन्दा तल रहेको मूल्यलाई बढाएर ७० रुपैयाँसम्म लिनु बढी नै हो।’
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला तरकारीमा सिन्डिकेट रहिरहँदा यो अवस्था आएको बताउँछन्। ‘यो मिलेमतोमा गरिएको कारोबार हो। राजधानीमा गोलभेँडा फ्याँकिनु त्यसैको परिणाम हो,’ उनले भने, ‘यदि राजधानीमा बिक्री हुँदैनथ्यो भने त्यो उत्पादन पोखरा ल्याउँदा पोखराका उपभोक्ताले सस्तोमा पाउँथे। तर, त्यो वातावरण नै सिन्डिकेटधारी व्यवसायीले बनाउन दिँदैनन्।’ उपभोक्ताका लागि व्यवसायी कहिल्यै पनि जिम्मेवार नहुँदा यो अवस्था आएको उनले बताए। तरकारीमा बिचौलिया र सिन्डिकेटको जालो डरलाग्दो रहेको उनले बताए।
‘तरकारीमा बिचौलीयाको दबदबा डरलाग्दो छ। कोही पनि व्यक्ति र निकाय उपभोक्ताप्रति जिम्मेवार छैनन्,’ उनले भने, ‘कडा सिन्डिकेटका कारण अन्यत्र सस्तो भएको उत्पादन पोखराजस्तो सहरमा ल्याउन दिँदैनन्। बजारमा सधैँ अभाव देखाएर पोखरामा महँगोमा बेच्ने गरिएको छ। बजार अनुगमनले पनि सिन्डिकेटको जालो तोड्न सकेको छैन।’ कुनै ठाउँमा उत्पादन बढी भएर खपत नभएमा त्यसलाई अभाव भएको सहरमा लैजाँदा किसानलाई र उपभोक्तालाई राहत हुने भए पनि त्यो काम गर्न व्यवसायी तयार नभएको उनले बताए।
प्रकाशित: ४ असार २०८० १०:०८ सोमबार