६ वैशाख २०८१ बिहीबार
अर्थ

बैंकहरुले नाफा बढाए

काठमाडौं- चालु अर्थिक वर्षको नौ महिनामा अधिकांश बैंकको नाफा बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन्। पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीले नाफा बढेको हो।

२८ वाणिज्य बैंकमध्ये पाँचवटा एभरेस्ट, एनएमबी, एनआइसी एसिया, सानिमा र सिटिजन्सले नौ महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका पाँचमध्ये सबैभन्दा बढी एभरेस्ट बैंकले नाफा कमाएको छ। एभरेस्टले एक अर्ब ५२ करोड रुपैयाँ नाफा पुर्‍याएको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले एक अर्ब २० करोडको नाफा गरेको थियो।

यसैगरी वित्तीय विवरण सार्वजनिक गरेका पाँच बैंकमध्ये दोस्रो धेरै नाफा गर्नेमा एनएमबी बैंक छ। उक्त बैंकले नौ महिनामा एक अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ। 

गत वर्षको सोही अवधिमा एनएमबी बैंकले ७७ करोड नाफा गरेको थियो।

तेस्रो बढी नाफा गर्नेमा एनआइसी एसिया बैंक परेको छ। यसले सार्वजनिक गरेको नौ महिनाको अपरिष्कृत वित्तीय विवरणमा एक अर्ब १३ करोड रुपैयाँ नाफा गरेको उल्लेख छ। अघिल्लो वर्षको चैतसम्म बैकले ७५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो।

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सानिमा बैंकको नाफा ९४ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा सानिमाको नाफा ६७ करोड रुपैयाँ थियो।

सिटिजन्स बैंकले चैत मसान्तसम्म ८८ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७२ करोड ४७ लाख रुपैयाँ थियो।

गत आवमा भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंकहरुको व्यवसाय विस्तार हुन नसक्दा नाफा धेरै बढ्न सकेको थिएन। चालु आवमा त्यस्तो अवरोध नआएकाले पनि बैंकको नाफा बढेको हो।

'गत वर्ष इन्धनमा बढी खर्च भएको थियो,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'त्यो बचत भएकाले पनि बैंकको नाफा बढाउन केही मद्दत मिल्यो।' लगानीको परिमाण बढेकोले पनि बैंकको नाफा बढ्न पुगेको उनको भनाइ छ।

'गत आर्थिक वर्षमा भूकम्पलगत्तै नाकाबन्दीको असर परेेका कारण व्यवसाय विस्तार रोकिएकाले त्यसको असर देखिएको थियो,' एक बैंकलेले भने, 'तर चालु आवमा व्यवसाय विस्तार भएकाले बैंकको नाफा बढेेेको हो।'

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुले राम्रै नाफा कमाएका छन्। उनीहरुको नाफामा खास संकुचन देखिएको छैन।

बैंकहरुले लगानी बढाएकाले नाफा बढ्दै गएको एक बैंकरले बताए। बैंकहरुको चुक्ता पुँजी बढेकाले पनि नाफा बढ्नुलाई उनले स्वाभाविक प्रक्रिया भने। उनले भने, 'बैंकहरु दिने प्रतिफल नघटाउन पनि नाफा बढाउनु पर्छ।' चालु आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा वृद्धि भएको बैंकरहरुको भनाइ छ।

गत आर्थिक वर्ष तरलता (लगानीयोग्य पुँजी) को अधिक उपलब्धताका कारण बैंकहरुको नाफामा खासै वृद्धि हुन सकेको थिएन। तर, चालु आवमा बैंकमा लगानीयोग्य पुँजीमा संकुचन आए पनि नाफामा ठूलो वृद्धि आएको एक बैंकरले बताए। 'ब्याज आम्दानीका कारण नाफा वृद्धि भएको हो,' उनले भने, 'व्यापारको आकार बढेकोले बैंकको नाफा पनि बढेको हो।'

२३ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्। बैंक लगायत पब्लिक लिमिटेड कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण उक्त अवधि सकिएको ३५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन्। औसतमा हेर्दा चालु आवको पहिलो नौ महिनामा गत वर्षको भन्दा बैंकहरुको खुद ब्याज नाफा बढेको देखिन्छ। कर्जाको विस्तार पनि बढी देखिन्छ। कर्जासँगै निक्षेप पनि बढेकाले आउँदो त्रैमासमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकरहरु बताउँछन्।

गत आवको तुलनामा लगानीको वातावरणमा सुधार हुँदै गएकाले पनि बैंकको नाफा आगामी त्रैमासमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन्। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै चालु आवको आर्थिक वृद्धिदर सुधार हुन सक्ने संकेत देखिएको जनाएको छ।

अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने कृषि, ऊर्जा, पर्यटन तथा उद्योग क्षेत्रमा सकारात्मक संकेत देखिएकाले अर्थतन्त्रको वृद्धि सम्भव हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।

देशको वित्तीय विवरण घाटामा गए पनि राष्ट्र बैंकले भने अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको जनाएको छ। पर्याप्त वर्षा हुनुका साथै कृषिजन्य सामग्रीको वितरणसमेत सहज भएकाले बर्खे बालीहरुको उत्पादन बढ्ने केन्द्रीय बैंकले जनाएको छ।

ऊर्जा तथा अन्य कच्चा पदार्थको आपूर्तिमा सुधार आएकाले उद्योगहरुको उपयोग क्षमता विस्तार भएको तथा पर्यटकीय होटलहरुको बेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक सुधार आएको उसले जनाएको छ। त्यसले अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने राष्ट्र बैंकको अनुमान छ।

प्रकाशित: १२ वैशाख २०७४ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App