५ वैशाख २०८१ बुधबार
अर्थ

बिमा गर्न इच्छुक देखिएनन् तरकारी किसान

चितवन- पश्चिम चितवनको गुञ्जनगर, शुक्रनगर, पार्वतीपुर क्षेत्रमा व्यावसायिक तरकारी खेती फस्टाएको छ। एक–दुई बिघामा हैन १० देखि २८ बिघासम्म तरकारी लगाउने किसान त्यस क्षेत्रमा छन्। तर उनीहरु कृषि बिमा गर्न इच्छुक देखिँदैनन्। खेतीमा कुनै जोखिम नभएर उनीहरु ढुक्क भएका पनि होइनन्। जोखिम भए पनि उनीहरु बिमाप्रति आकर्षित छैनन्।

गणेश भुसालको भरतपुर–२५ मा १० बिघामा तरकारी खेती छन्। गुल्मीबाट आएर पार्वतीपुरमा जग्गा भाडामा लिएर उमानन्द अर्यालले २८ बिघा जमिनमा तरकारी लगाएका छन्। दिपक तिमिल्सिनाको २२ बिघामा तरकारी खेती छ। शुक्रनगरका कृष्णप्रसाद न्यौपानले ठाउँ–ठाउँमा जग्गा भाडामा लिएर १७ बिघामा तरकारी गरेका छन्। तर कसैले पनि तरकारी खेतीको बिमा गरेका छैनन्।

गत चैतमा पटक–पटक परेको असिनाले उनीहरु सबैको तरकारीमा नराम्ररी असर गरेको छ। यस्तो समस्या आउन थालेको पहिलोपटक पनि हैन। सरकारले कृषि बिमाको नीति ल्याएर तिर्नुपर्ने प्रिमियमको ७५ प्रतिशत आफैंले बेहोरिदिँदा पनि किसानले बिमा गर्न रुचि देखाएका छैनन्। बिमा गरेको बाली क्षति भएमा पाउने रकम लिँदा भोग्नुपर्ने झन्झटले उनीहरु दिक्क छन्।

‘बिमा भएको बालीको क्षति रकम लिन महिनौं धाउनुपर्ने देखेर मैले चासो दिइनँ,' किसान गणेश भुसालले भने। अघिल्लो वर्ष उमानन्द अर्यालले बाली बिमा गराएका थिए। उनले बिमाको प्रिमियमबापत आफूले तिर्नुपर्ने साढे ५४ हजार रुपैयाँ पनि बुझाएका थिए। यो रकम बुझाउँदा उनले २८ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति पाउन सक्छन् भनियो।

खेती गर्दा एक करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। तर केही नोक्सानी भए राहत पाउँदा राम्रो होला भनेर उनी बिमा गर्न तयार भएका थिए। गत वर्षको जेठ २ गते आएको असिनाले उनको तरकारी खेती पूरै सखाप भयो। बिमा गरेकाले राहत हुने आस उनमा थियो। तर सोचे अनुरुप खासै भएन। उनले बिमाबापतको चेक भदौमा बुझे। पैसा पनि पहिले भनिएभन्दा कम १३ लाख रुपैयाँ थियो।

‘धाउँदा धाउँदा पाएको हैरानी अलग्गै छ। किसानले खेतमा ध्यान दिने कि बिमा रकमका लागि धाउने? यो तरिका ठिक लागेन र यसपटक बिमा नै गरिनँ,' अर्यालले भने। बिमा कम्पनीको नियतमा समस्या नभए पनि पूरा गर्नुपर्ने प्रक्रियाले गर्दा किसानहरुले हैरानी बेहोर्नु परेको उनले बताए। यसतर्फ सरकारी निकाय र जिल्ला कृषि विकास कार्यालयको ध्यान पुग्नुपर्ने उनको आग्रह छ।

चितवन जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपाने कृषि बिमा गर्ने क्रम पछिल्ला वर्षको तुलनामा बढेको बताउँछन्। तर किसानलाई परेको दुविधा र अप्ठेराहरु हटाएर यो कार्यक्रमलाई सफल बनाउने विषयमा पनि आफूहरुले ध्यान दिने उनको भनाइ छ। चितवनमा पछिल्लो समय गाईपालक किसानले पनि बिमा नीति किसान अनुकूलको नभएको बताउँदै आएका छन्।

प्रकाशित: ११ वैशाख २०७४ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App