६ वैशाख २०८१ बिहीबार
अर्थ

दुई अर्ब लगानी थपेको श्री तीन सातापछि उड्ने

काठमाडौं- मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले २ अर्ब रुपैयाँ लगानी थपेर 'फिक्स्ड विङ' जहाजबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुसार पहिलो जहाज ल्याएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत भदौ अन्तिम साता श्रीलाई जहाजबाट आन्तरिक र वाह्य दुवै सेक्टरमा उडान गर्ने अनुमति दिएको थियो। त्यसपछि कम्पनीले उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा फिक्स्ड विङ जहाज थप गर्न निवेदन दिएको थियो। प्राधिकरणले दुई साताअघि श्रीलाई फिक्स्ड विङ जहाज थप्न अनुमति दिएको थियो।

'पर्यटन मन्त्रालय र उड्डयन प्राधिकरणबाट सम्पूर्ण प्रक्रिया पूरा गरेपछि एउटा जहाज ल्यायौं,' श्रीका अध्यक्ष सुधीर मित्तलले बिहीबार नागरिकसँग भने, 'अब तीन साताभित्र उडान सुरु गर्ने तयारीका साथ काम गरिरहेका छौं। अर्को साता थप दुईथान जहाज पनि ल्याउँदै छौं। आन्तरिक उडान सुरु गरेको एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य छ।'

उनका अनुसार क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमतायुक्त 'क्यानडियन रिजनल जेट' (सिआरजे–२००) सिरिजको एउटा जहाज शुक्रबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो जहाजमा जेट इन्जिन जडित छ। फिक्स्ड विङ जहाजबाट सेवा दिन थप २ सय नयाँ रोजगारी सिर्जना भएको छ।  

हाल साना र ठूला गरी श्रीले १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ। कम्पनीले हेलिकोप्टरको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) मा जहाज थपको अनुमति पाएपछि जहाज ल्याएको हो।

'पहिलो जहाज विदेशी कलसाइनमै ल्याएको भए पनि प्राधिकरणले यसलाई '९एन–एएमसी' कलसाइन दिएको छ,' श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भने, 'अब दोस्रो जहाज वैशाख ४ र तेस्रो जहाज वैशाख ८ गते काठमाडौं आउँछन्।'

उनका अनुसार दोस्रो जहाज पनि पहिलो जस्तै ५० सिट क्षमतायुक्त हुने छ भने तेस्रो जहाजमा ७८ सिट हुनेछन्। जसको सिरिज 'सिआरजे–७००' रहेको छ। बाँकी दुइटै जहाज युरोपबाट ल्याइनेछन्। पहिलो जहाज जापानबाट चीन हुँदै काठमाडौं आएको हो। 'तीनवटै जहाजबाट एकै पटक उडान गर्ने तयारी छ,' उनले भने, 'हाम्रा सबै उडान सुगम भेगका विमानस्थलमा मात्र सञ्चालन हुनेछन्।'

कम्पनीका अनुसार काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढी सेक्टरमा नियमित व्यावसायिक उडान गरिनेछन्। धावनमार्गको लम्बाइ कम भएका कारण पोखरा विमानस्थलमा भने उडान गरिनेछैन। एक/दुईजना विदेशी प्रशिक्षक पाइलटबाहेक नेपालका आठजना वरिष्ठ क्याप्टेन आठजना को–पाइलटले जहाज उडाउनेछन्। 'प्रतिस्पर्धी भाडा दरमा उडान सञ्चाल गर्ने छौं,' उनले भने।

श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवलाई जहाज उडानमा प्रयोग गर्न लागेको हो। जहाज उडान सँगसँगै हेलिकोप्टर सेवालाई पनि निरन्तरता दिने मानन्धरले जानकारी दिए।

पर्यटन मन्त्रालयले श्रीलाई हेलिकोप्टरबाट अन्तर्राष्ट्रिय उडान गर्ने इजाजत भने विगतमै दिएको थियो। श्रीले जहाज कम्पनीको नाम नयाँ नराख्ने र पुरानै नामबाट जहाज सञ्चालन गर्ने जनाएको छ। नियामक निकाय प्राधिकरणबाट एओसी श्री एयरलाइन्सको नाममा जारी भएका कारण त्यही एओसीबाट जहाज सञ्चालन गर्ने श्रीले जनाएको छ। 

मानन्धरका अनुसार जहाजबाट पहिलो चरणमा आन्तरिक उडान गर्ने र दोस्रो चरणमा मात्र अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ। आन्तरिक उडानका लागि ५० देखि ७८ सिटसम्मका जहाज सञ्चालन गरिने छ भने अन्तर्राष्ट्रियतर्फ सयदेखि १ सय १० सिट क्षमताका जहाजबाट सेवा सञ्चालन गरिने छ। भारतका विभिन्न सहरमा उडान गर्न १ सय १० सिटसम्मका र त्यसभन्दा पर जान १ सय ५० सिट क्षमताका जहाज प्रयोग गरिने मानन्धरले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त 'इआरजे–१९०' सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याइने छ। उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक/अन्तर्राष्ट्रिय उडान गर्न न्यूनतम दुई/दुई थान जहाज चाहिने भएकाले दुइटै सेवाका लागि तीन/तीन थान जहाज ल्याउन लागिएको उनले बताए।

श्रीका अनुसार पहिलो चरणमा काठमाडौंबाट भारतका प्रमुख सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदराबाद र बनारस उडान गरिने छ। त्यसभन्दा टाढा डेढ सय सिटसम्मका जहाज ल्याई दुबई, साउदी अरब, बैंकक, क्वालालम्पुर लगायत गन्तव्यमा उडान गर्ने योजना छ।

श्री 'एमआई–१७' सिरिजका ठूला हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो। अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५० लाख अमेरिकी डलर मूल्यका जगेडा इन्जिन पनि छ। यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ। त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकोप्टर उडान गर्ने श्री दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो।

हेलिकोप्टर राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीको आफ्नै 'ह्यांगर' पनि छ। त्यहिँ नै जहाज राख्ने व्यवस्था मिलाइने श्रीले जनाएको छ। श्रीले १७ वर्षदेखि हेलिकोप्टर सेवा दिँदै आएको छ। कम्पनीसँग हाल रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ तथा फ्रान्सको एयरबस हेलिकोप्टर्स कम्पनीले उत्पादन गरेका ६ सिट क्षमताका चारवटा 'एएस३५० बिथि्रई' हेलिकोप्टर सञ्चालनमा छन्।

प्रकाशित: १ वैशाख २०७४ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App