८ वैशाख २०८१ शनिबार
अर्थ

भारतीय प्रस्ताव अनुसार ४ हजार ५ सय भारु साटिने

काठमाडौँ – नेपाल सरकारले हरेक नेपालीको चार हजार पाँच् सयसम्म प्रतिवन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव भारतसमक्ष राख्ने भएको छ ।

केही दिन पहिला नेपाल राष्ट्र बैंक र बैंक अफ इन्डियाका (आरबिआई) का प्रतिनिधिबीच प्रतिबन्धित भारु नोट सटही सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलमा आइबिआईका प्रतिनिधिले प्रत्येक व्यक्तिको चार हजार पाँच सयभन्दा बढी भारु साट्न नसकिने र नेपाल राष्ट्र बैंकले वैधानिक रुपमा नेपालीलाई २५ हजार रुपैयाँबराबर भारु बोक्न दिइएकाले उक्त परिमाणबराबरका नोट साटिदिन आग्रह गरेका थियो । तर, भारतीय पक्षले भने यस्तो प्रस्ताव ठाडै अस्वीकार गरेको थियो । 

नेपाल राष्ट्र बैंकले सरकारलाई त्यही अनुसारको जानकारी लिखित रुपमा गराएको थियो । ‘हाम्रो वार्तामा भएको कुरा अर्थमन्त्रालयलाई लिखित रुपमा जानकारी गराएका थियौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले मंगलबार भने, ‘त्यही चिठीमा आधारमा अर्थमन्त्रालयले पुनः नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । त्यसमा के छ मैले हेर्न पाएको छैन्, अहिलेलाई आइबिआईका प्रतिनिधिले प्रस्ताव गरेअनुसार नै भारु साट्ने र बाँकी बिस्तारै साट्ने जाने भन्ने कुरा भएको छ भन्ने सुनेको छु ।’

नेपाल राष्ट्र बैंकले हरेक नेपालीबाट चार हजार पाँच सयसम्म प्रतिबन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव भारतसमक्ष लिखित रुपमा राख्ने तयारी गरेको छ । ‘अहिलेलाई भारतले भने अनुसारकै भारु साट्ने र अन्य बिस्तारै मिलाउने जाने भन्ने छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘राष्ट्र बैंकको सोच पनि त्यही थियो ।’

मंगलबार अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय प्रस्ताव अनुसार नै प्रतिबन्धित भारु पाँच सय र हजारका नोट साट्न राष्ट्र बैंकलाई निर्देशन दिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ । मंगलबार राष्ट्र बैकका गभर्नर चिरञ्जिबी नेपाललाई पत्र लेख्दै मन्त्री महराले अहिलेलाई चार हजार पाँच सय भारु भएपनि साट्नका लागि निर्देशन दिएका हुन् ।

‘सरकारसँग भएका सात–आठ करोड भारु साट्ने विषयमा समस्या छैन्,’ प्रवक्ता पौडेलले भने, ‘२५ हजार भारुसम्म सटहीका लागि पनि आइबिआईसँग निरन्तर पहल गर्ने छौं ।’

राष्ट्र बैंकले आरबिआइलाई चार हजार पाँच सय भारु साट्नका लागि आफू तयार रहेको पत्र लेख्ने तयारीमा छ । भारतीय पक्षले केन्द्रीय बैंकको पत्र पाएपछि सटही मिति तोकेर पैसा साट्न थाल्ने  काम सुरु हुने छ ।

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय सकिइसक्दा पनि नेपालमा रहेका नोटबारे अझै टुंगो लागेको छैन । 

भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ मा सम्बोधन गर्दै राति १२ बजेदेखि पाँच सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए । भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ । 

नेपाल राष्ट्र बैंकले पनि त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो ।

नेपाल राष्ट्र बैंकले प्रतिबन्धलगत्तै आफूसँग भएका ती दरका नोट साटिदिन आरबिआईलाई पत्राचार गरेको थियो । नेपाली २५ हजार भारुसम्म उक्त दरका नोट राख्न पाउने व्यवस्था छ । यस्तो व्यवस्था भएकाले पनि सर्वसाधारणसँग ठूलो परिमाणमा उक्त नोट भएको अनुमान केन्द्रीय बैंकको छ । ठूला दरका नोट लान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले जोहो गरेर राखेको अनुमान उसले गरेको छ । 

करिब दुई वर्षअघिसम्म नेपालमा पाँच सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो । भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा पाँच सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो । यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको थियो ।

प्रकाशित: ३० चैत्र २०७३ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App