१६ चैत्र २०८० शुक्रबार
अर्थ

कहाँ छन् राहदानी लिएका ५ लाख महिला ?

काठमाडौं- रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी चौधरी (नाम परिवर्तन) सम्पर्कविहीन भएको तीन वर्ष भयो। 

कुवेत जान भनेर २०७० चैत २० गते घर छाडेकी जानकीले एकपटक कुवेतबाट फोन गरेबाहेक त्यसयता कुनै सम्पर्क नगरेको परिवारको भनाइ छ। 'लामो समयसम्म सम्पर्क नभएपछि खोजीका लागि जिल्ला प्रहरी तथा विभिन्न उद्धार गर्ने संस्थामा निवेदन दिएका दियै छौं,' जानकीकी आमाले नागरिकसँग भनिन्, 'यतिखेर सुरुमा छोरीले दिएको नम्बरमा सम्पर्क गर्दा फोन लाग्दैन। पठाउने व्यक्तिको खोजी गर्दा फेला पर्दैनन्।'

आर्थिक वर्ष २०६३/०६४ देखि गत फागुनसम्म सात लाख ६९ हजार पाँच सय ४२ महिलाले राहदानी लिएकामा एक लाख ६९ हजार आठ सय ५९ मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ।

कुवेत जानुअघि छोरीले साथीमार्फत चिनेको व्यक्तिले विदेश पठाउन थालेको खबर गरे पनि त्यो व्यक्ति को थियो भन्ने पूर्ण जानकारी नदिएका कारण यतिखेर खोजीमा समस्या भइरहेको आमा बताउँछिन्। कुवेत जानुअघि जानकीले परिवारलाई राहदानी बनाउने खर्च र हवाई टिकटसमेत दलालले बेहोर्ने जानकारी दिएकी थिइन्। '२४ वर्ष पुगेकी छोरीले पटकपटक विदेश जाने ताकेता गरेपछि रोक्न सकेनौं,' जानकीकी आमाले भनिन्, 'कमाउन गएकी छोरी यसरी हराउँछे भनेर अनुमान गर्न सकेको भए अहिले यस्तो (सधैं तनाव) अवस्था आउँदैन्थ्यो।'

कुवेत पुगेको एक सातापछि छोरीले त्यहाँ घरेलु काममा रहेको र  गर्ने काम निकै गाह्रो रहेको जानकारी दिएकी दिएको उनले बताइन्। आमाले त्यतिखेर जानकीले रुदै कुवेतको घरेलु काम कष्टकर रहेको जानकारी गराए पनि तत्काल उद्धार गर्न नसक्नु आफ्नो कमजोरी रहेको बताइन्। 'सुरुमा छोरीको कुरा सुन्दा पहिलोपटक घर छाडेको पीडा होला भन्ने लागेको थियो,' आमाले भनिन्, 'एकातिर छोरीको उद्धारका लागि कहाँ सम्पर्क गर्ने भन्ने जानकारी नहुँदा र अर्कोतिर छोरीको पीडालाई गम्भीर रूपले बुझ्न नसकेपछि छोरी हराउने अवस्था आयो।'

वैदेशिक रोजगारीमा गएर कमाइ गर्ने र घरपरिवारलाई सुखी राख्ने मनसायका साथ विदेशिएका महिला सम्पर्कविहीन हुने घटना जानकीको एक्लो भने होइन। भरभराउँदो उमेरकी युवती जानकी सम्पर्कविहीन हुँदाको पीडा जस्तै नेपालका लाखौं महिला सम्पर्कविहीन हुँदा त्यसको मार पीडित परिवार, समाज र सिंगो देशले नै बेहोरिरहेको छ। वैदेशिक रोजगारीका लागि बर्सेनि महिला सम्पर्कविहीन हुने क्रम जारी रहे पनि सरकारी निकायले भने त्यस्तो समस्याको समाधान के त भन्ने कुनै उपाय फेला पार्न सकेको छैन।

आर्थिक वर्ष २०६३/०६४ देखि गत फागुन महिनासम्म सात लाख ६९ हजार पाँच सय ४२ महिलाले देशभरिका विभिन्न जिल्लाबाट राहदानी लिए पनि सोही अवधिमा एक लाख ६९ हजार आठ सय ५९ जना महिला मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ। वैधानिक तवरबाट वैदेशिक रोजगारीमा गएका महिलामध्ये विदेशमा सम्पर्कविहीन भएको धेरैको अनुमान छ। तर, सरकारी निकायले राहदानी लिएका महिलाहरू कहाँ पुगे भन्नेबारे अझैसम्म गहिरो अध्ययन र खोजी नगर्दा धेरैले ठूलो संख्याका महिला खाडी मुलुक र मलेसिया जस्ता देशमा बेपत्ता भएको अनुमान लगाउने गरेका छन्। राहदानी लिएका महिला तर श्रम स्वीकृति नलिएकामध्ये अन्य करिब एक लाख युरोप, अमेरिका जस्ता देशमा अध्ययन र आफन्तसँग गएको अनुमान गरिए पनि बाँकी पाँच लाख महिलाको अवस्था अज्ञात हो। महिलाले राहदानी लिनुको उद्देश्य वैदेशिक रोजगारीमा जानु नै मुख्य कारण मानिन्छ।

यस्तै अवस्थाको अन्योलता बीचमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयले राहादानी लिएका महिलाको खोजी गर्ने तयारी गरेको छ। सचिवालयमा कार्यरत वैदेशिक रोजगार विज्ञ सुशील ढुंगाना वर्षौंअघि राहदानी लिएका महिलाको अवस्था अस्पष्ट देखिएकाले अब सरकारले खोजी गर्ने बताए। 'सरकारले केही दिनमा खाडी मुलुकमा गर्ने घुम्ती शिविरदेखि नै वैध/अवैध महिलाको बारेमा खोजी गर्नेछ,' उनले भने, 'सामान्यतयाः राहदानी लिनु भनेको विदेश जानुलाई नै। राहदानी लिएका ठूलो संख्याका महिलाको अवस्था अस्पष्ट भएकाले खोजी गर्नुपर्ने अवस्था आएको हो।'

सरकारी कर्मचारी महिला बेचबिखन बढी हुने तथ्यांक रहेका नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरजस्ता जिल्लाका बढी महिलाले राहदानी लिएको पाइएकाले ठूलो संख्याका महिला बेचबिखनमा परेको आंशका गरिँदै आएको बताउँछन्।

पछिल्लो समयमा दलालले महिलालाई भारत, श्रीलंका हुँदै खाडी र मध्यपूर्वका मुलुकमा पुर्‍याउने धन्दा फस्टाइरहेको कर्मचारीको भनाइ छ।  'अवैध ढंगबाट बाहिरिएका महिलाको रेकर्ड सरकारी निकायमा हुँदैन,' वैदेशिक रोजगार विभागका कर्मचारीले भने, 'राहदानी लिएकामध्ये धेरै बेचबिखनमा परेका हुन सक्छन्। त्यसैले उनीहरूको अवस्था खोजी हुनुपर्छ।'

विभागको तथ्यांक अनुसार हालसम्म सबभन्दा बढी महिला श्रम स्वीकृति लिएर कुवेत र संयुक्त अरब इमिरेट्समा क्रमशः ३८ हजार सात सय ८३ र ३८ हजार चार सय ११ गएका छन्। सरकारी अधिकारीहरू अवैध महिलाको ठूलो संख्या पनि कुवेत, युएई, बहराइन, लेबनान जस्ता देशमा रहेको बताउँछन्।

प्रकाशित: २९ चैत्र २०७३ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App