२४ जेष्ठ २०७७ शनिबार
अर्थ

व्यापार घाटा पाँच खर्ब ८० अर्ब नाघ्यो

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामै वस्तु आयात ६ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने निर्यात जम्मा ४८ अर्ब २२ करोड रुपैयाँ मात्र छ। निर्यातभन्दा आयात उच्च भएकाले व्यापार घाटा पाँच खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आवको फागुनसम्ममा कुल वस्तु निर्यात पोहोर सोही अवधिको तुलनामा १२.८ प्रतिशतले बढेर ४८ अर्ब २२ करोड पुगेको उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.९ प्रतिशतले ह्रास आएको थियो।

आर्थिक वर्षको आठ महिनामा भारततर्फ १६.३ प्रतिशत, चीनतर्फ १३.४ प्रतिशत र अन्य मुलुकतर्फ ८.२ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतवस्तुको निर्यात बढेको छ भने अलैंची, पोलिस्टर धागो, तयारी पोसाक, उनी गलैंचा लगायत वस्तुको निर्यात घटेको छ।

चालु आवको आठ महिनामा कुल वस्तु आयात ४४.२ प्रतिशतले बढेर ६ खर्ब २८ अर्ब ५६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.९ प्रतिशतले घटेको थियो। उक्त अवधिमा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.२ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, कच्चा रेसम, तयारी पोसाक लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा सुक्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ। त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४७.६ प्रतिशतले बढेरपाँच खर्ब ८० अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२.५ प्रतिशतले घटेको थियो।

रेमिटेन्स साढे ४ खर्ब

राष्ट्र बैंकका अनुसार, उक्त अवधिमा रेमिटेन्स आप्रवाह ५.३ प्रतिशतले बढेर ४ खर्ब ४९ अर्ब ९९ करोड पुगेको छ। पोहोर सोही अवधिमा रेमिटेन्स आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

मुल्यवृद्धि २.९ प्रतिशत

भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहिले केही राहत मिलेको छ।

चालु आवको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि २.९ प्रतिशत रहेको छ। २०७२ फागुन महिनामा सो मूल्यवृद्धि १०.२ प्रतिशत रहेको थियो। गत वर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मूल्यवृद्धिमा संकुचन आएको आएको राष्ट्र बैंकको भनाइ छ।

समीक्षा अवधिमा खाद्य मूल्य वृद्धि ०.४ प्रतिशतले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मूल्यवृद्धि १०.३ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घिउ तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएकोले समग्र खाद्य मूल्यवृद्धि ऋणात्मक रहन गएको हो।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा गैर–खाद्य मूल्यवृद्धि ५.६ प्रतिशत रहेकोछ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मूल्यवृद्धि १०.२ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य मूल्यवृद्धि कम रहन गएको हो।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मूल्यवृद्धि पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौं उपत्यकामा १२.७ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनासम्ममा उपलब्ध समष्टिगत आर्थिक तथा वित्तीय परिसूचकहरुलाई आधार मान्दा नेपाली अर्थतन्त्रको परिदृश्य मिश्रित रहने छ। 'आर्थिक वृद्धि प्रक्षेपित मार्गमा र मुद्रास्फीति प्रक्षेपितभन्दा न्यून रही समष्टिगत आर्थिक परिदृश्य सकारात्मक रहने देखिन्छ,' केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ, 'तथापि हालैका महिनाहरुमा सिर्जित वित्तीय घर्षणले गर्दा वित्तीय क्षेत्रमा भने केही क्षणिक असहजता रहेको अवस्था छ।'

कृषिमा अपेक्षा गरिएभन्दा वृद्धि, ऊर्जा आपूर्तिमा सुधार र निर्माण तथा पुनर्निर्माण कार्यले लिएको गतिका कारण आशाजनक आर्थिक वृद्धिको परिदृश्य केन्द्रीय बैंकले देखाएको छ।

मुद्रास्फीतिको चापमा आएको सहजताले निरन्तरता पाएको छ। परिणामतः आर्थिक वर्ष २०७४ मा मूल्यवृद्धिको चापमा सहजता रहनेर प्रक्षेपित वार्षिक लक्ष्य ७.५ प्रतिशतभन्दा मूल्यवृद्धि कम हुन सक्ने अनुमान पनि उसले गरेको छ।

निक्षेपको भन्दा कर्जाको विस्तार अधिक रहेका कारण विगत केही महिनादेखि वित्तीय क्षेत्रमा देखिएको असन्तुलनको अवस्थामा हाल केही सुधार आएको केन्द्रीय बैंकको भनाइ छ।

'वित्तीय क्षेत्रमा हाल पर्याप्त मात्रामा तरलता रहेको छ। कर्जा प्रवाह बढ्न थालेतापनि सामान्य तहमा पुनर्स्थापित हुन अझै केही समय लाग्नेछ,' राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ, 'पुँजीगत खर्चले गति लिन थालेपछि कर्जा प्रवाहले पनि सामान्य तहमा पुनः गति लिने देखिन्छ।'

प्रकाशित: २८ चैत्र २०७३ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App