३० असार २०७७ मंगलबार
अर्थ

टीकापुर छाला जुत्ता-चप्पल लोकप्रिय

टीकापुर- लालबहादुर सार्की (५२) ले छालाका जुत्ता चप्पल बनाउन थालेको झन्डै तीन दशक पुग्न थाल्यो। २०४४ सालमा दाङबाट बसाइँ सरेर आएका सार्की टीकापुरमा व्यावसायिक रुपमा छालाका जुत्ता चप्पल बनाउने पहिलो व्यक्ति हुन्।

मोहन छाला जुत्ता पसलका सञ्चालक उनी कैलालीको टीकापुर लगायत बजारमा छाला जुत्ता चप्पल बनाउने सबै व्यक्तिका गुरु हुन्। उनले झन्डै २५ जनालाई जुत्ता चप्पल बनाउने सीप सिकाइसकेका छन्। तीमध्ये सबैजसो व्यवसायी पनि बनिसकेका छन्।

कोही टीकापुरमै व्यवसाय सञ्चालन गरिरहेका छन् भने कोही अन्यत्र बसाइँ सरेका छन्। उनका चेलाहरुले कैलालीकै लम्की, सुख्खड, जोशीपुर, भजनी लगायत बजारमा व्यवसाय गरिरहेका छन्। उनका आफ्नै दुईजना छोरा समेत यही व्यवसायमा संलग्न छन्। जेठो छोरा मोहनले दाङ र माइलो छोरा रणबहादुरले टीकापुरमै व्यवसाय गरिरहेका छन्। उनका चार पुस्ताले यो व्यवसाय गर्दै आएको छ।

आफ्ना चेलाहरु व्यवसायमा जमेकोमा उनी निकै खुसी छन्। 'कतिजनाले त मैलेभन्दा पनि बढी आम्दानी गरिरहेका छन्,' उनले भने, 'सबैको उन्नति भएको देख्दा निकै खुसी लाग्छ।'

उनको भन्दा धेरै आम्दानी मात्रै हैन आकर्षक जुत्ता चप्पल बनाउने चेलाहरु पनि छन्। उनले सीप सिकाएका कतिपय चेला अन्ततः उनकै प्रतिस्पर्धी पनि बनेका छन्। चेलाहरु प्रतिस्पर्धी बनेकोमा उनलाई कुनै दुःखेसो छैन।

उनका सफल चेलाहरुमध्ये एक खुसीराम सार्की पनि एक हुन्। खुसीरामले टीकापुरको मुख्य बजारमा सल्यानी छाला जुत्ता पसल चलाइरहेका छन्। उनको पसलमा चारजना कामदार छन्। उनको पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने ६ प्रकारका जुत्ता चप्पल पाइन्छन्। टीकापुरमा तयार हुने छालाका जुत्ता चप्पल अन्यभन्दा सस्तो र बलियो छन्। 'हामीले बनाएको जुत्ता चप्पल बलियो छ अनि सस्तो पनि छ,' खुसीरामले भने, 'त्यसैले धेरैको रोजाइमा पनि छ।'

राप्ती छाला जुत्ता पसलका सञ्चालक रमेश सार्कीले लालबहादुरसँग तीन वर्ष सीप सिके। अहिले उनले आफ्नै पसल सञ्चालन गरेको १५ वर्ष भयो। उनले आफ्ना भाइ अशोकलाई यही पेसा सिकाउँदै छन्। दैनिक आठ जोर जुत्ता तयार हुन्छ। ती सबै एकै दिनमा बिक्री हुन्छन्। उनको बुझाइमा यो व्यवसाय आर्थिक रुपमा सन्तोषजनक छ।

'थोरै नाफा राख्दा पनि व्यवसाय चलेकै छ,' उनले भने, 'म आफ्नो व्यवसायप्रति सन्तुष्ट छु।'

न्यू सल्यानी छाला जुत्ता चप्पलका सञ्चालक नारायण सार्की पनि १५ वर्षदेखि यही व्यवसायमा सक्रिय छन्। उनी समेत आफ्नो व्यवसायप्रति सन्तुष्ट छन्। व्यवसायको आम्दानीले घरपरिवारको लालनपालन राम्रैसँग भइरहेको उनको भनाइ छ।

टीकापुरमा उत्पादन भएका छालाका जुत्ता चप्पलको सबैभन्दा ठूलो बजार स्थानीय नै हो। यी जुत्ता खासगरी विद्यालय स्तरका विद्यार्थीहरुले बढी प्रयोग गर्ने गरेका छन्। सबैजसो विद्यालयले कालो रंगको जुत्तालाई आफ्नो पोसाकमा समावेश गरेका छन्। रेडिमेट पसलमा पाइनेभन्दा टीकापुरका व्यवसायीले उत्पादन गरेको जुत्ता सस्तो भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको हो। यो जुत्ता मध्यम र निम्न वर्गका व्यक्तिहरुले प्रयोग गर्ने गरेको व्यवसायीहरुको भनाइ छ।

यतिबेला नयाँ शैक्षिक सत्रको आगमनले पनि व्यवसायीहरु निकै व्यस्त छन्। उनीहरुलाई विद्यार्थीका लागि जुत्ता बनाउन भ्याई नभ्याई छ। राप्ती छाला जुत्ता पसलका सञ्चालक रमेशले यो समयमा राम्रो आम्दानी हुने बताए।

यसका अलावा सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा समेत खपत हुने गरेको छ। पहाडी जिल्लाका व्यापारीहरुले टीकापुरका जुत्ता चप्पल बिक्री गर्ने गरेका छन्। जुत्ता व्यवसायी संघका अध्यक्ष समेत रहेका लालबहादुरका अनुसार पहाडी जिल्लाहरु अछाम, डोटी, सुर्खेत, कालीकोट, दैलेख, मुगु, जुम्लाका व्यवसायीहरुले जुत्ता चप्पलको लैजाने गरेका छन्।

टीकापुरमा चारवटा पसलबाट सुरु भएको छालाका जुत्ता चप्पल बनाउने व्यवसायीको संख्या १६ पुगेको छ। जहाँ ४५ भन्दा धेरै व्यक्तिले रोजगारी पाएका छन्। सबै व्यवसायीले एक करोडभन्दा बढीको कारोबार गर्ने गरेका छन्।

व्यवसायीहरुले कहीँ कतैबाट सीप सिकेका छैनन्। उनीहरुले बजारमा आउने नयाँ नयाँ फेसनका रेडिमेडक जुत्ता चप्पल हेरेर नक्कल गर्ने गरेका छन्। रेडिमेडकै हाराहारीमा राम्रा देखिने जुत्ता चप्पल व्यवसायीहरुले बनाउने गरेका छन्। उनीहरुले कहिले काँही कच्चा पदार्थको समस्या भोग्नु पर्छ। समयमा छाला, सोल, फिता नपाउँदा समस्या हुने गरेको खुसीरामले बताए।

व्यवसायीका अनुसार जुत्ता चप्पलमा छाला, माइक्रो रेग्जिन, साबर छाला र साबर रेग्जिन प्रयोग हुने गरेको छ। उनीहरुले काठमाडौंबाट कच्चा पदार्थ मगाउँदा समस्या हुने भएकाले अहिले धनगढीबाट मगाइरहेको बताए।

प्रकाशित: २५ चैत्र २०७३ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App