coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्वाचनप्रति विदेशी पाहुनाको चाँसो

पोखरा- वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनले विदेशी पर्यटक आगमनमा असर पार्ने संकेत देखिएको छ। नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले निर्वाचन आसपासका दिनमा भ्रमण सुरक्षित हुने वा नहुने भनेर सोधखोज गर्न थालेका छन्। भारतीय पाहुनाको निर्वाचन प्रति अझ बढी चाँसो रहेको पर्यटन व्यवसायीले बताए।

नेपालको राजनीतिक अस्थिरता बुझेका पर्यटक निर्वाचनताका नेपाल घुम्न आउन डराएका छन् :  व्यवसायी।

पर्यटन व्यवसायीका अनुसार निर्वाचनताका भारतीय पर्यटकको नेपाल घुम्न आउने मुख्य सिजन पर्छ। त्यो बेला भारतमा चर्काे गर्मी हुने र विद्यालय बिदा हुने हुँदा पोखरामा पारिवारिक भ्रमण बढी हुने गर्दछ। पारिवारिक बाहेक त्यो बेला मुक्तिनाथ दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटक पनि थपिन्छन्। त्यही बेला हुने निर्वाचनले पोखरा भ्रमण गर्न उपयुक्त हुने वा नहुने भन्ने चाँसो भारतीय पाहुनाले लिन थालेका छन्।

नेपालको राजनीतिमा स्थिरता नभएकाले पनि निर्वाचनसँग बढीजसो विदेशी पाहुना तर्सेको व्यवसायी बताउँछन्। 'राजनीतिक स्थिरता नभएकाले विदेशी नागरिक बढी तर्सेका हुन्,' पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, 'नेपालको राजनीतिक अस्थिरता बुझेका विदेशी पाहुना निर्वाचनताका नेपाल घुम्न आउन डराएका छन्। निर्वाचन हुँदैमा डराउनु जरुरी थिएन। तर, नेपालको राजनीति संस्कारसँग विदेशी त्रसित भइसकेका छन्।'

नेपालमा कुनै पनि बेला बन्द, हड्ताल आयोजना हुने र त्यसले पाहुनाको आवागमन नै रोकिने भएकाले विदेशीहरु त्रसित भएको उनले बताए। 'पछिल्ला केही वर्ष नेपालमा बन्द, हड्ताल राजनीतिक संस्कार नै बनिसकेको छ। बन्दका कारण अलपत्र परेर हेलिकोप्टरबाट उद्धार गर्नुपरेका घटना पर्याप्त छन्,' उनले भने, 'त्यस्ता गतिविधिले पर्यटकमा त्रास छाएको हो। अरु मुलुकमा निर्वाचनताका आउजाउमा खासै त्रास हँुँदैन, तर, नेपालमा महिनौंसम्म नाराजुलुस चल्छ।' नेपालसँग निकट रहेको र स्थलमार्ग हुँदै त्यो बेला भारतीय पर्यटक भित्रिने भएकाले पनि उनीहरुको चाँसो बढी रहेको तुलाचनले बताए।

नेपालको राजनीतिक गतिविधिले पर्यटकको घुमघाममै असर परेका घटनासँग विदेशी ट्राभल एजेन्सी पनि जानकार भइसकेकाले निर्वाचनताका धेरैलाई नेपाल भ्रमण नगर्न सुझाइसकेको तुलाचन बताउँछन्। 'ट्राभल एजेन्सी पनि 'रिस्क' लिन चाहँदैनन्। विदेशी पर्यटक सुरक्षासँग निकै संवेदनशील हुन्छन्,' उनले भने, 'नेपालमा अकस्मात हुने गरेका बन्द, हड्तालले सबै त्रसित भइसकेका छन्। अघिल्ला घटनाले पनि विदेशीमा त्रास छाएको छ। यसैले निर्वाचनताका आगमन निकै घट्न सक्छ।'

चलिरहेको सिजन सकिने बेलामा निर्वाचन पर्छ। सामान्य अवस्था हुँदा त्यो बेलाको अकुपेन्सी ५० प्रतिशतको हाराहारीमा हुनुपर्ने भए पनि निर्वाचनले निकै घट्ने अनुमान रहेको उनले बताए। 'अबका एक महिना जुलुस र आमसभाले बजार भरिन्छन्। त्यसबाट उनीहरु सशंकित हुन्छन। नेपालको राजनीतिमा स्थिरता नहुँदा अन्तर्राष्ट्रिय एजेन्सीले विदेशीलाई सकभर नेपाल भ्रमण नगर्न सुझाउँछन्,' उनले भने, 'त्यसको मार हामीलाई पर्छ।' नेपालको राजनीतिमा बन्द हड्ताल हावी हुँदा निर्वाचनसँग विदेशी त्रसित हुने गरेको उनले बताए। नेपालको राजनीतिक गतिविधिसँग नजिक रहेका विदेशीको झनै बढी चाँसो रहेको उनले बताए।

होटल ग्लेसियरका सञ्चालक राजेन्द्र ढकाल पनि निर्वाचनकै कारण पर्यटक आगमन घट्न थालेको बताउँछन्। 'यो बेला सिजनको मध्यमा छौं। बढ्नुपर्ने पाहुनाको आगमन रेसियो घट्दै गईरहेको छ। फाट्टफट्ट बुकिङ रद्द हुन थालेको छ,' उनले भने, 'चुनावी प्रभाव देखिन थालेको छ। चुनाव हुनु नेपालीका लागि राम्रो थियो, तर, यहाँको राजनीतिदेखि त्रसित भएर विदेशीले पनि त्यही अनुसार नजर लगाएका हुन्।'

नेपालमा बेलाबेला हुने बन्द, हड्तालसँग विदेशी त्रसित भएकाले आगमन बढ्न नसकेको उनले बताए। 'निर्वाचन अन्य मुलुकमा पनि हुन्छ। तर, ती मुलुकमा निर्वाचनले पर्यटकको आवागमनमा खासै असर पार्दैन, तर, नेपालको राजनीतिमा सानो विवाद भइहाले बन्द, हड्ताल निम्त्याउँछ। त्यही अभ्यासले नै विदेशी पाहुना निर्वाचन तयारीसँगै आगमन रोक्दैछन्,' ढकालले भने।

सांग्रिला रिसोर्टका म्यानेजर गुप्त गिरी निर्वाचनले पर्यटक आगमनमा 'डिस्टर्ब' गर्ने संकेत मिलेको बताउँछन्। 'चुनावी वातावरणबारे विदेशी पाहुनाले सोध्न थालेका छन्। व्यक्तिगत नभई प्याकेज डिजाइन गर्ने एजेन्सीको सोधखोज झनै बढी छ,' गिरीले भने, 'भारतीय र चिनियाँ मात्र नभई युरोपियन मुलुकका पाहुनाको चाँसो अधिक छ। नेपालमा बारम्बार हुने गरेका बन्द, हड्तालले निर्वाचनका बेला असुरक्षित हुनसक्ने त्रास पाहुनामा छ। त्यही भएर उनीहरुमा चाँसो बढेको हो।'

व्यवसायीले ाँसो राख्ने विदेशीलाई निर्वाचनताका घुमघाममा अप्ठेरो हुँदैन भनेर आश्वस्त पार्न खोजे पनि उनीहरुले चित्त नबुझाएको उनको भनाइ छ। 'परिवार लिएर घुम्न आउँदा फरक पर्दैन भनेर हामीले भने पनि उनीहरु पत्याउँदैनन्,' उनले भने, 'नेपालको राजनीति गतिविधिमा कुनै पनि बेला जे पनि हुनसक्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा पहिल्यै फैलिसकेकाले विश्वस्त हुन नसकेका हुन्।' घुम्न जाँदा केही अप्ठेरो पर्न सक्छ भन्ने चिन्ता उनीहरुमा रहेको उनले बताए।

गिरीका अनुसार वैशाख–जेठ भारतीय र चिनियाँ पाहुनाको मुख्य सिजन हो। भारतमा त्यो बेला अधिक गर्मी हुँदा अभिभावक बच्चाको बिदाको मौका पारेर पारिवारिक भ्रमणमा पोखरा आउने गरे पनि यो पटक निर्वाचनको त्रास छाएको उनले बताए। 'हामी पनि ढुक्कैसँग निर्वाचनका बेला पनि नेपालमा घुम्न सकिन्छ भनेर भन्न सक्ने अवस्थामा छैनौं। हामी आफै पनि विश्वस्त हुन सक्दैनौं,' उनले भने, 'यस्तो बेला विदेशीलाई आश्वस्त पार्न झनै गाह्रो छ।'

उनका अनुसार सांग्रिलाको वैशाख–जेठको अकुपेन्सी करिब ६० प्रतिशत हुनुपर्ने हो। अहिलेसम्म करिब ५५ प्रतिशत हाराहारीमा पुगिसकेको छ। 'निर्वाचनताकाको बुकिङ त अहिलेसम्म राम्रै छ, तर, पाहुना आउने–नआउने निश्चित छैन,' गिरीले भने, 'रद्द हुने हो कि भन्ने चिन्ता छ। ढुक्क बनाउन सक्ने अवस्था हामीमा पनि छैन।'

प्रकाशित: २४ चैत्र २०७३ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App