१५ चैत्र २०८० बिहीबार
अर्थ

गुम्बाको ३७ करोड अनुदान थन्कियो

काठमाडौं– भूकम्पबाट क्षतिग्रस्त गुम्बा तथा विहार पुनर्निर्माणका लागि निकासा भएको करिब ३७ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पुगेर थन्किएको छ । अनुदान लिन पूरा गर्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण अनुदान पाउने सूचीमा परेका गुम्बाले हालसम्म रकम नपाएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बताए ।

‘पहिलो किस्ताको अनुदान जिल्लामा गइसकेको छ । तर जिल्ला प्राविधिक कार्यालयबाट गुम्बाको नक्सा स्वीकृत नगरिदिँदा अनुदान वितरणमा समस्या भएको छ । अहिलेसम्म गुम्बाले अनुदान लिन सकेका छैनन्,’ कार्यकारी निर्देशक गुरुङले भने ।

निर्देशक गुरुङका अनुसार अनुदान लिन गुम्बाको नक्सा जिल्ला प्राविधिक कार्यालयबाट स्वीकृत गराएर गुम्बा विकास समितिमा पठाउनुपर्छ । सिएलपिआइयु (केन्द्रीय आयोजना कार्यान्वयन इकाइ) बाट स्वीकृत गराएपछि मात्र समितिले सम्बन्धित गुम्बालाई रकम भुक्तानीका लागि जिल्ला विकास समितिमा सिफारिस गर्ने कार्यविधि रहेको उनले बताए ।

‘प्रक्रिया साह्रै झन्झटिलो भयो । यो प्रक्रियाबाट अधिकांश गुम्बाले अनुदान लिनै नसक्ने अवस्था देखिन्छ । यस्तै अवस्था हो भने असारसम्म पनि पहिलो किस्ता वितरण गर्न सकिने सम्भावना छैन,’ उनले भने ।

विज्ञ प्राविधिक नहुँदा समस्या

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको सिएलपिआइयुका आयोजना निर्देशक ईश्वरचन्द्र मरहट्टाले भने गुम्बा संरचनाबारे विज्ञ प्राविधिक नभएका कारण ढिलाइ भएको बताए । उनले भने, ‘गुम्बाको संरचना घरको भन्दा विशिष्ट हुन्छ । जिल्लामा त्यससम्बन्धी ज्ञान भएका प्राविधिक हामीसँग छैनन् । गुम्बा व्यवस्थापन समिति आफैंले निजी फर्ममार्फत सर्भे गराई जिल्ला प्राविधिक कार्यालयमा नक्सा पेस गरेका छन् । त्यसरी पेस भएका डिजाइन भूकम्पबाट सुरक्षित छन् कि छैनन् भन्ने निश्चित नभएकाले ढिलाइ भएको हो ।’

अनुदान सम्झौतामा ढिलाइ भए पनि सबै क्षेत्रमा नरोकिएको निर्देशक मरहट्टाको भनाइ छ । उनले भने, ‘गुम्बा पनि धेरै प्रकारका हुन्छन् । विशिष्ट खालका गुम्बाको सम्झौतामा मात्र ढिलाइ भएको हो । दोलखा, काभ्रेलगायत जिल्लाका कतिपय गुम्बा अनुदान लिएर बनाउन थालिसकेका छन् ।’ प्रायः गुम्बा दुर्गममा भएकाले पनि अनुदान सम्झौतामा ढिलाइ भएको उनले बताए ।

जिल्लाबाटै सम्बोधन हुने

सिएलपिआइयुका निर्देशक मरहट्टाले गुम्बाको अनुदान वितरणमा देखिएको समस्या सम्बोधन गर्ने अख्तियारी सम्बन्धित जिल्लाको प्राविधिक कार्यालयलाई दिने बताए । ‘मंगलबार गुम्बा विकास समितिका प्रतिनिधिसँगको छलफलपछि गुम्बाको डिजाइन जिल्लाबाटै कार्यान्वयन गर्न अखितयारी दिने निर्णय गरेका छौं,’ उनले भने, ‘गुम्बाको डिजाइन तयार पार्ने निजी फर्मले उक्त डिजाइन सुरक्षित हुन्छ भन्ने विश्वास दिलाएमा जिल्ला प्राविधिक कार्यालयले स्वीकृत गर्न सक्नेछ ।’

गुम्बा विकास समितिका निर्देशक गुरुङले पनि अनुदान वितरण र पुनर्निर्माण फास्ट्र्याकमा लैजानेबारे छलफल भएको बताए । ‘फोकल पर्सन राखेर पूरै जिम्मेवारी दिने निर्णय भएको छ । निर्णय कार्यान्वयन भए अनुदान वितरण केही सहज हुने अपेक्षा छ,’ उनले भने ।

गुम्बा विकास समितिको तथ्यांकमा भूकम्पबाट देशभरका एक हजार ३ सय १८  गुम्बा क्षतिग्रस्त भएका छन् । जसमध्ये एक हजार एक सय ३१ गुम्बा अनुदान पाउने सूचीमा परेका छन् ।

पहिलो चरणमा २५ जिल्लाका ९ सय ९३ वटा गुम्बाका लागि पहिलो किस्ताको अख्तियारी गइसकेको समितिका उपसचिव मनिराज गुरुङले बताए । बाँकी १ सय ३० वटा गुम्बाको अख्तियारी पठाउने अन्तिम तयारी भइरहेको उनले बताए ।

पहिलो किस्तामा ‘ए’ वर्गका गुम्बाले पाँच लाख ५० हजार, ‘बी’ वर्गकाले पाँच लाख, ‘सी’ ले चार लाख ५० हजार, ‘डी’ ले तीन लाख ६५ हजार र ‘इ’ वर्गका गुम्बाले तीन लाख रुपैयाँ अनुदान पाउने समितिले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त गुम्बा तथा विहार पुनर्निर्माणका लागि ४१ करोड रुपैयाँको अख्तियारी दिएको छ ।

प्रकाशित: २३ चैत्र २०७३ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App