coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधारमा जोड

काठमाडौं – वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधारका साथै प्रक्रियागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्चस्तरीय वैदेशिक लगानी अनुगमन तथा समन्वयन समितिले गरेको छ । समितिका संयोजक उद्योग मन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा आइतबार उद्योग मन्त्रालयमा बसेको बैठकले वातावरण सम्बन्धी मूल्यांकन प्रक्रिया प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनलाई सरलिकृत बनाउने र अन्तर मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउने निष्कर्ष समेत निकालेको छ । 
बैठकमा उद्योग मन्त्री नविन्द्रराज जोशीले महिना अगाडि काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल वैदेशिक लगानी भित्र्याउन तयार छ भन्ने सन्देश गएको बताए । 
बैठकमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले वैदेशिक लगानी भित्र्याउने प्रक्रियालाई सरलिकृत गरी कार्यान्वयन चरणमा लैजाने उद्योग मन्त्रालयले कार्य सुरु गरिसकेको बताए । पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले वन र वातावरणको संरक्षण गर्दैै हाम्रा नीति नियमहरूलाई लगानीमैत्री बनाउन जरुरी रहेको बताए । 
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा व्यक्त अशय पत्रलाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजान टिओआर बनाएर प्रोजेक्ट ब्यांक उपसमितिले काम अगाडि बढाइसकेको बताए । 
निजी क्षेत्रका तर्फबाट धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निश्चित समय सीमा तोकेर लगानी सम्मेलनमा लगानीका लागि आशय पत्र व्यक्त गर्ने लगानीकर्तालाई नेपालको कानुनअनुसार यो–यो सुविधा उपलब्ध छ र उनीहरूको अपेक्षा के हो भन्ने विषयमा पत्राचार गर्न जरुरी रहेको बताए । 
सोही समितिको बैठकमा उद्योग मन्त्री जोशीलाई वन कृषि र खनिजमा आधारित उद्योगको सम्भाव्यताबारे अध्ययन गर्न गठित समितिले उसको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरेको छ ।

 

प्रकाशित: २१ चैत्र २०७३ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App