८ वैशाख २०८१ शनिबार
अर्थ

बिमा कम्पनीको पुँजी वृद्धिले उचाल्यो सेयर बजार

काठमाडौं – बिमा कम्पनीको चुक्ता पुँजी बढाउन बिमा समितिले निर्देशन दिएपछि सेयर बजार एकाएक उकालो लागेको छ । शुक्रबार बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो । 
बिमा समितिले निर्देशन दिएपछिको पहिलो कारोबार आइतबार सबैभन्दा धेरै बिमा सूचक ७३३.३७ बिन्दुले माथि उक्लियो । बिमाको सँगै अन्य कम्पनीको सेयर मूल्य समेत बढ्दा आइतबार सेयर बजार मापक नेप्से ७९.४७ बिन्दुले बढेर १६६७.११ मा पुगेको छ । बजारमा सूचीकृत अधिकांश बिमा कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ ।
यसअघि साउन १२ गते १८८१.४५ बिन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो । अहिले सोही कीर्तिमान  पछ्याउँदै सेयर बजार अघि बढेको छ ।  
आइतबार नेप्से अत्यधिक बढेका कारण नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दुईपटक सर्किट ब्रेक लगाउनुपर्याे। सर्किट ब्रेक लगाएकै कारण दैनिक चार घन्टा कारोबार हुने नेप्सेमा आइतबार करिब २ घन्टा मात्रै भयो ।
११ बजे खुलेको सेयर बजार एक बजेर ३८ मिनेटमा नै बन्द भयो । पहिलोपटक चार प्रतिशतले बढेर सर्किट ब्रेक लगाउँदा ३० मिनेट र दोस्रोपटक पाँच प्रतिशत वृद्धिपछि फेरि सर्किट ब्रेक लगाएर कारोबार नै बन्द गरिएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । 
‘बिमा कम्पनीको चुक्ता पुँजी बढाउने नीति बिमा समितिले ल्याएपछि बिमा कम्पनीको सेयर मूल्य बढेको हो,’ उनले भने, ‘तर, माग अनुसार आपूर्ति हुन नसक्दा वाणिज्य बैंकको समेत सेयर मूल्य बढ्यो, जसले गर्दा सर्किट ब्रेक नै लगाउनु परेको हो । बिमा कम्पनीको सेयर मात्र बढेको भए सर्किट बे्रक लगाउनुपर्ने थिएन ।’
बिमा समितिको निर्देशन आउनु अगावै पनि बिमा कम्पनीहरुले हकप्रद र बोनसका माध्यमबाट चुक्ता पुँजी बढाउँदै लगेका थिए । केही कम्पनीको चुक्ता पुँजी अहिले नै समितिले तोकेभन्दा बढी भइसकेको छ । 
कतिपय कम्पनीको भने अहिले पनि निकै कम चुक्ता पुँजी छ । त्यस्ता कम्पनीलाई भने अब हकप्रद र बोनस सेयर दिएर चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता आएको छ । बोनस र हकप्रद दिन नसक्नेले बिमा कम्पनीले मर्ज र एक्विजिसनको बाटो रोज्नुपर्ने हुन्छ । 
नेसनल लाइफ एउटैको आइतबार १४ करोड रुपैयाँको कारोबार भएको छ । यसले शतप्रतिशत हकप्रद प्रस्ताव गरिसकेको छ । कम्पनीले हकप्रद सेयर जारीपछि बिमा समितिले तोके अनुसारको नयाँ चुक्ता पुँजी पुग्ने देखिन्छ । आइतबार बिमा समूहसँगै वाणिज्य बैंक समूहको परिसूचक पनि ७०.६ बिन्दुले बढेको छ ।
आइतबार कुल १३४ कम्पनीको ९६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । चैत ३ गते १३५७.३४ मा रहेको नेप्से परिसूचक आइतबार १६६७.११ बिन्दुमा आइपुग्यो । १७ दिनको बीचमा नेप्से परिसूचक ३०९.७७ बिन्दुले बढेको छ ।
आइतबार बिमासँगै लघुवित्त कम्पनीहरु, विकास बैंकहरुको समेत मूल्य १० प्रतिशतले बढेको छ । यस दिन बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेका छन् । 
सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचन मिति तोकेको छ । ‘चुनावी माहोल बन्दै गएकाले सेयर पनि बजार उकालो लागेको हो,’ अर्का एक विश्लेषकले भने, ‘लामो समय स्थानीय निकाय नेतृत्वविहीन थिए, चुनावपछि स्थानीय तहमा राजनीतिक स्थिरता आउने संकेत देखिएकाले पनि बजार बढेको हो ।’ 
विगतमा संविधान सभाको चुनावताका पनि सेयर बजार बढेको थियो । स्थानीय चुनावमा पनि ठूलो मात्रामा पैसा बजारमा आउने देखिएको र यसले लगानीयोग्य पुँजी (तरलता) को अभाव हट्ने सम्भावना देखिएकाले बजार बढाउन मद्दत पुगेको ती विश्लेषकको भनाइ छ ।
लगानीकर्ता थप नयाँ साधारण सेयर (एफपिओ) र हकप्रद सेयरतर्फ आकर्षित हुँदा दोस्रो बजार प्रभावित भएको थियो । तर, चुक्ता पुँजी वृद्धि गर्ने समय सीमा नजिकिँदै जाँदा ठूलो रकमको एफपिओ र हकप्रद आउने क्रममा कमी आएकाले पनि दोस्रो बजार तात्न पुगेको एक ब्रोकरले बताए । ‘एफपिओमा लगानी गर्दा मनग्य फाइदा हुने सम्भावना देखेर त्यता गएका लगानीकर्ताले मागे जति सेयर नपाएर दोस्रो बजारबाट किन्न थालेका छन्,’ उनले भने, ‘एफपिओमा गरिएको लगानी हात्ती आयो फुस्सा भनेजस्तै भएपछि उनीहरूले दोस्रो बजारमा सेयर खरिद गर्न थाल्दा बजार बढ्न पुगेको हो ।’
एफपिओमा लगानी गर्दा सेयर नै पर्न छाडेपछि लगानीकर्ता दोस्रो बजारतिर आकर्षित हुन थालेका छन् । ‘कम्पनीलाई आवश्यक भन्दा अत्यधिक रकम एफपिओमा पर्न थालेपछि सेयर पर्ने सम्भावना ज्यादै कम हुन्छ,’ उनले भने, ‘सेयर नपरेपछि एफपिओको चार्म घट्न पुगेको छ भने दोस्रो बजारमा बढेको छ । यसले गर्दा सेयर बजार बढ्न पुगेको हो ।’ 
लगानीयोग्य पुँजी अभाव कायमै रहेका कारण बैंकको ब्याजदर नघटे पनि बैंकले मार्जिन कल माग्ने काम बन्द गरेका छन् । सेयर बजार निरन्तर उकालो लागेपछि मार्जिन कल बैंक तथा वित्तीय संस्थाले बन्द गर्दा सेयर बजार बढन पुगेको विश्लेषक बताउँछन् । 
लामो समयदेखि बजार घटिरहेको थियो । धेरै कम्पनीको सेयर मूल्य तल झरेको थियो । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको थियो । तर, चैत सुरु भएदेखि नै सेयर बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल पनि बढेको छ । 
चैत–वैशाखदेखि सेयर बजारको सिजन सुरु हुने मानिन्छ । सिजनमा सेयर भाउ बढ्न पुग्छ । विगत १४ वर्षको अध्ययन गर्ने हो भने १२ वर्षमा चैत–वैशाखापछि सेयर बजार बढेको देखिन्छ ।
सेयरको मूल्य निकै तल आइसकेको, तरलता सहज नभए पनि मार्जिन कल आउन छाडेको, ब्याजदर चाप सामान्य बन्न थालेको, बैंक तथा वित्तीय संस्थाको त्रैमासिक वित्तीय विवरण आउन थालेपछि लाभांश कसले कति दिने भन्ने अनुमान गर्न सजिलै सकिने र ठूलो परिणामको एपफपिओ र हकप्रद सेयर नआएका कारण पनि बजार बढ्न मद्दत पुगेको हो ।

 

प्रकाशित: २१ चैत्र २०७३ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App