८ वैशाख २०८१ शनिबार
अर्थ

आपूर्ति मन्त्रालयले कडाइका साथ बजार अनुगमन गर्ने

काठमाडौं- बजारमा अखाद्य वस्तुका साथै म्याद नाघेका दैनिक उपभोग्य वस्तु भेटिएको गुनासो आएपछि आपूर्ति मन्त्रालयले शुक्रबारबाट कडाइका साथ बजार अनुगमनको तयारी थालेको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दैनिक गर्ने गरेको अनुगमनका क्रममा म्याद नाघेको खाद्यवस्तु तथा पेय पदार्थ भेटिएको जानकारीपछि मन्त्रालयले बजार अनुगमन कडाइका साथ गर्ने भएको हो।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राइले साना तथा ठूला पसल व्यवसायीलाई पहिलो चरणमा सचेत गराउँदै अटेर गर्ने व्यवसायीलाई कारबाही गर्ने जानकारी दिए। अनुगमन प्रभावकारी बनाउनका लागि विभिन्न नियामक निकायलाई क्रियाशील बनाएर व्यवसायी र उपभोक्तालाई समेत सचेत गराइने बताए। उनले भने, 'पहिलो त हामीले खाने वस्तु र पेय पदार्थको गुणस्तरसँगै म्यादबारे जानकारी लिनुपर्छ। यसका लागि पनि उपभोक्ता र व्यवसायीबीच सचेतना हुनुपर्छ।' उनका अनुसार विभागले गरेको बजार अनुगमनको काम प्रभावकारी हुँदाहुँदै पनि यसलाई रचनात्मक ढंगले अघि बढाउन नसकेका कारण आपूर्ति मन्त्रालयले विभिन्न समिति बनाएर बजार अनुगमनमा पठाएका छन्।

आपूर्ति मन्त्रालयका शाखा अधिकृत गोविन्द लुइँटेलको नेतृत्वमा बिहीबार पनि नयाँ बानेश्वर क्षेत्रमा बजार अनुगमन गर्दा पसल दर्ता नै नगरी सञ्चालन गरिएको पाइएको थियो। केही पसलमा भने मदिराजन्य पेयपदार्थ र खुद्रा पसलसँगै राखिएको हुँदा कारबाही गर्नुपरेको लुइँटेलले जानकारी दिए। धेरै पसलमा ढक तराजुको बिल, प्रमाणित प्रमाणपत्र, भ्याट बिल, प्यान समेत नभएका पसल व्यवसायीलाई एक हप्ताभित्र सबै कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको उनले बताए। उनले भने, 'एक दर्जन ढक तराजुमा कुनै बिल र प्रमाणित प्रमाणपत्र नभएका कारण बरामद गरिएको छ।' नयाँ बानेश्वरको भित्री बजारमा गरिएको अनुगमनमा करिब १० लाख बराबरको अखाद्य तथा म्याद नाघेको वस्तु नस्ट गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका सदस्य दर्शन आचार्यले जानकारी दिए। अनुगमनमा म्याद नाघेका खाद्यवस्तुलाई नियामक निकायको रोहबरमा नष्ट गरिएको आचार्यले बताए।

यस्तै मासुजन्य पसलमा समेत अनुगमन गरिएको छ। भेटेनरी अफिसर काजिमान श्रेष्ठले बजार अनुगमनका क्रममा मासु व्यवसायीले बधशाला र बिक्री कक्ष एकै ठाउँमा राखेकाले यसलाई छुट्टाछुट्टै ठाउँमा गर्न निर्देशन दिए। केही मासु पसल विना दर्ता सञ्चालन गरेकाले एक साताभित्रै दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिए।

नयाँ बानेश्वरको भित्री भागमा रहेका फार्मेसी तथा क्लिनिकमा समेत अनुगमन गरिएको छ। कल्याणी चोकस्थित ज्योति फर्मामा क्लिनिक समेत सञ्चालन गरेकाले कारबाहीका लागि पत्र काटेको जनस्वास्थ्य कार्यालय काठमाडौंका सिअहेव विश्वनाथ दुवाडीले जानकारी दिए। त्यस्तै, बिहीबार ग्यास तथा पेट्रोल अनुगमन टोली, औषधि तथा खाद्यान्न र मासु तथा तरकारी डेरी अनुगमन टोलीले बजार अनुगमन गरेको आपूर्ति मन्त्रालले जनाएको छ। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन उपभोक्ता हित संरक्षण विभाग, प्रहरी परिसर टेकु, जनस्वास्थ्य कार्यालय काठमाडौं, जनस्वास्थ्य तथा औषधि विभाग, पशुपक्षी विभागका प्रतिनिधि सहभागी थिए।

प्रकाशित: १८ चैत्र २०७३ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App