२३ असार २०७७ मंगलबार
अर्थ

दोस्रो टोली पनि आयो–गयो

काठमाडौं- प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न नेपाल आएको दोस्रो भारतीय टोली बिनानिर्णय सोमबार स्वदेश फर्किएको छ। रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) की कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा आएको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसँग छलफल गरी प्रतिबन्धित भारु साट्ने निर्णय गर्ने अपेक्षा थियो।

दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि यस विषयमा निर्णय हुन नसकेको हो। भारतीय टोलीले प्रतिव्यक्ति ४५ सयभन्दा बढी भारु नसाट्ने र नेपाली टोलीले २५ हजारसम्म साट्नुपर्ने अडान राखेका थिए। 

भारतीय टोलीले ४५ सय भारुसम्म साटिदिने प्रस्ताव गरेको थियो। नेपाल राष्ट्र बैंकका अधिकारीले २५ हजारसम्म साटिदिनुपर्ने अडान राखेको वार्ता टोलीका संयोजकसमेत रहेका राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोमबार नागरिकलाई जानकारी दिए।

'प्रतिव्यक्ति २५ हजारभन्दा तल ओर्लिएर सम्झौता गर्न चाहेनौं,' उनले भने, 'उनीहरुको प्रस्ताव अनुसार प्रतिव्यक्ति ४५ सय साट्न तयार भएको भए सम्झौता गर्न सकिन्थो।' २५ हजारभन्दा तल सम्झौता गर्नु भनेको आत्मसमर्पण गर्नु जस्तै भएकाले सम्झौता नगरिएको जानकारी उनले दिए।

प्रतिव्यक्ति ४५ सय मात्र साट्न सक्ने, त्यति सानो रकम साट्न पनि बैंक खाता अनिवार्य, एक व्यक्तिको धेरै खाता भएमा दोहोर्‍याउन नहुने लगायत झन्झटिला प्रस्ताव भारतीय पक्षले राखेको थियो। उनीहरुको त्यस्तो प्रस्तावलाई नेपाली पक्षले अस्वीकार गरेको डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए।

'बिनाझन्झट प्रतिव्यक्ति ४५ सय साटने प्रस्ताव पनि उनीहरुले स्वीकार गरेनन्,' उनले भने, 'खुरुक्क साट्ने हो भने हामी तयार थियौं तर उनीहरुले त्यसरी साट्न नसकिने भने।'

प्रतिव्यक्ति ४५ सय साट्ने समय पनि तीन दिनको मात्र दिने प्रस्ताव उनीहरुले गरेको डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए। 'मार्च ३० भित्र प्रतिबन्धित भारु नोट साट्ने समय दिएका थिए,' उनले भने, 'त्यस्तो छोटो समयमा साट्न सक्ने सम्भावना थिएन।'

प्रतिव्यक्ति ४५ सयभन्दा बढी भारु नोट सटहीको निर्णय गर्ने म्यान्डेट उनीहरुलाई नभएको पनि शिवाकोटीले बताए। 'प्रतिव्यक्ति ४५ सयभन्दा बढी भारु नोट साट्ने विषयमा निर्णय गर्ने अधिकार उनीहरुसँग रहेनछ,' उनले भने।

नेपालले लिखित रुपमै नेपालले प्रतिव्यक्ति २५ हजार साट्ने प्रस्ताव गरेको थियो। उनीहरुसँग पनि कति भारु साट्न सकिन्छ भन्नेमा लिखित जवाफ मागेको शिवाकोटीले जानकारी दिए।

प्रतिबन्धित भारु नोट साट्न नेपालले भारतीय उच्च अधिकारीसँग बारम्बार पहल गरिरहेको छ। तर, अहिलेसम्मका प्रस्ताव बालुवामा पानी हाले जस्तै भएको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुईपटक र अर्थमन्त्री कृष्णबहादुर महरा र उनका भारतीय समकक्षीबीच दुईपटक कुराकानी भए पनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतले कुनै निर्णय दिएन।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले रिजर्भ बैंक अफ इन्डियाका गभर्नर ऊर्जित पटेलसँग बारम्बार कुराकानी भएको बताएका थिए। त्यसले पनि ठोस निर्णय निकाल्न सकेन। नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतसँग कूटनीतिक तरिकाबाट समेत बारम्बार प्रयास भइरहेको छ।

नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५०० र हजार दरका तीन करोड ३६ लाख ९० हजार भारु नोट रहेको राष्ट्र बैंकको तथ्यांक छ। यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २३ गतेे बुधबार सम्बोधन गर्दै सोही राति १२ बजेदेखि ५०० र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ। नेपाल राष्ट्र बैंकले पनि त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो।

नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगत्तै आफूसँग भएका ती दरका नोट साटिदिन आरबिआईलाई पत्राचार गरेको थियो।

नेपालीले २५ हजार भारुसम्म उक्त दरका नोट राख्न पाउने व्यवस्था छ। यस्तो व्यवस्था भएकाले पनि सर्वसाधारणसँग ठूलो परिमाणमा उक्त नोट भएको अनुमान केन्द्रीय बैंकको छ। ठूला दरका नोट लान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले जोहो गरेर राखेको अनुमान उसले गरेको छ।

भारतबाट आएको दोस्रो टोलीले पनि नोट नसाट्ने विषयमा निर्णय नगर्दा सर्वसाधारणसँग रहेका ती नोट कागजको खोस्टोमा परिणत हुने सम्भावना बढेको छ।

करिब दुई वर्षअघिसम्म नेपालमा ५०० र हजार दरका भारुमाथि प्रतिबन्ध थियो। भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५०० र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउनेगरी प्रतिबन्ध फुकुवा गरेको थियो।   

प्रकाशित: १५ चैत्र २०७३ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App