८ वैशाख २०८१ शनिबार
अर्थ

भारत 'सीमित' भारु साट्न तयार

काठमाडौं- भारतले हरेक नेपालीबाट ४ हजार ५ सयसम्म प्रतिबन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव नेपालसमक्ष राखेको छ। नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसँग आइतबार भएको छलफलमा भारतीय पक्षले ४ हजार ५ सय भारुभन्दा माथि साट्न नसकिने जनाउसमेत दिएको छ।

उसले आफ्ना नागरिकलाई ४ हजारसम्म मात्र भारु साट्ने सुविधा दिएको तर्क अघि सार्दै नेपालीबाट सोही अनुपातमा सुविधा दिने जनाएको हो। नेपालीबाट यसभन्दा बढी साट्दा भारतीयबाट विरोध आउने भारतीय पक्षको तर्क छ।

प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय केन्›ीय बैंक रिजर्भ बैंक अफ इन्डियाका (आरबिआई) का कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा तीनसदस्यीय उच्चस्तरीय टोली छलफलका लागि शनिबार नेपाल आएको हो। छलफलमा नेपालका लागि भारतीय दूतावासका एक कर्मचारी पनि सहभागी छन्। नेपालतर्फबाट राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, विदेशी विनिमय विभागप्रमुख भिष्मराज ढुंगानालगायत उच्च अधिकारी आइतबार बिहान भएको छलफलमा सहभागी थिए।

नेपाल राष्ट्र बैंकका प्रतिनिधिले भने वैधानिक रुपमा नेपालीलाई २५ हजार रुपैयाँबराबर भारु बोक्न दिइएकाले उक्त परिमाणबराबरका नोट साटिदिन आग्रह गरेका थिए। भारतीय पक्षले भने यस्तो प्रस्ताव ठाडै अस्वीकार गरे।

बैठकमा सहभागी नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले नागरिकलाई भने, 'उनीहरुको अडान ४५ सय भारु मात्र साटिदिने भन्ने छ, त्यसमा केही रुपैयाँको तलमाथि मात्र हुन सक्ने सम्भावना छ।' नेपालले भनेजस्तै २५ हजार भारु नोट साट्ने सम्भावना न्यून रहेको ती अधिकारीको भनाइ छ।

राष्ट्र बैंकले आन्तरिक छलफलपछि सोमबार फेरि भारतीय टोलीसँग बैठकमा यो विषय टुंग्याउने जनाएको छ। 'धेरै कसिलो निर्णय गरियो भने त्यही पनि नसाट्लान् भन्ने डर छ', नेपाल राष्ट्र बैंकका ती उच्च अधिकारीले भने, 'प्रतिबन्धित भारु नोट खल्तीमा राखेर बस्ने कुरा पनि भएन।'

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय सकिइसक्दा पनि नेपालमा रहेका नोटबारे अझै टुंगो लागेको छैन।

नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५ सय र हजार दरका ३ करोड ३६ लाख ९० हजार भारु नोट रहेको राष्ट्र बैंकको तथ्यांक छ। यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छ। भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ मा सम्बोधन गर्दै राति १२ बजेदेखि ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ।

नेपाल राष्ट्र बैंकले पनि त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो।

नेपाल राष्ट्र बैंकले प्रतिबन्धलगत्तै आफूसँग भएका ती दरका नोट साटिदिन आरबिआईलाई पत्राचार गरेको थियो। नेपाली २५ हजार भारुसम्म उक्त दरका नोट राख्न पाउने व्यवस्था छ। यस्तो व्यवस्था भएकाले पनि सर्वसाधारणसँग ठूलो परिमाणमा उक्त नोट भएको अनुमान केन्द्रीय बैंकको छ। ठूला दरका नोट लान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले जोहो गरेर राखेको अनुमान उसले गरेको छ।

करिब दुई वर्षअघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो। भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको थियो।

प्रकाशित: १४ चैत्र २०७३ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App