८ वैशाख २०८१ शनिबार
अर्थ

क्याम्पसका शिक्षकले नै ठगेको गुनासो

काठमाडौं- दैनिक सयौं विद्यार्थीलाई नैतिकता र ज्ञानगुनका कुरा सिकाउने शिक्षिका नै ठगी धन्दामा लागेकी होलिन् भनेर सायदैले सोच्छन्। झापा, उर्लाबारी आसपासका दुई दर्जनभन्दा बढीले समाज र विद्यालयमा सधैं आदर्शको कुरा गर्ने व्यक्तिको भुलभुलैयामा पर्दा घर न घाटका भएको गुनासो गरेका छन्। झापा, दबैसा–३ फर्सडाँगीचोक घर भई सोही जिल्लाको उर्लाबारी बहुमुखी क्याम्पसमा स्वास्थ्य पढाउने उषाकुमारी सापकोटाले क्यानडा र दुबईमा आकर्षक रोजगारी दिलाइदिने भन्दै दिएको प्रलोभनमा पर्दा आफूहरु अलपत्र परेको उनीहरूको भनाइ छ।

सहकर्मी, आफन्त र बेरोजगार युवायुवतीबाट पौने दुई करोड रुपैयाँ संकलन गरेर ४० वर्षीया सापकोटा बेपत्ता भएको उनीहरूको भनाइ छ। अहिले उनीहरू डुबेको रकम फिर्ता पाउने आसमा विभिन्न निकाय धाइरहेका छन्। वैदेशिक रोजगार विभागमा डुबेको रकम उठाएर सापकोटालाई कारबाही गर्नुपर्ने माग राख्दै निवेदन दिनेमध्ये एक भीम पौडेल अरुलाई नैतिकताका कुरा सिकाउने व्यक्ति नै ठगी धन्दामा लागेपछि समाजमा अब कसको विश्वास गर्ने भन्ने समस्या सिर्जना भएको बताउँछन्।

सापकोटाले अध्यापन गर्ने क्याम्पसमा कार्यरत पौडेलले क्यानडा पठाउने भन्दै २० लाख रुपैयाँ असुलेको बताए। सापकोटाले गत कात्तिकदेखि उनीहरूसँग रकम असुल गर्न थालेको झापाकै तुल्सी गिरीले बताए। 'फागुन १२ गतेसम्म सापकोटाले १५ जनालाई दुबई र ११ जनालाई क्यानडा पठाइसक्ने प्रतिबद्धता जनाएकी थिइन्,' गिरीले भने, 'तर उनी फागुन १० गते नै सम्पर्कविहीन भएपछि ठगिएको पुष्टि भयो।'

फागुन १० अघिसम्म सापकोटाले ठगी गर्ने योजना बनाएको भनेर कसैले पनि अनुमान नगरेको उनीहरुको भनाइ छ। पौडेलले भने, 'सहोदर दाजु घनश्याम तथा भिनाजु र दिदीकी छोरीसँग समेत रकम लिएकाले ठगी गर्ने सोच बनाएको अनुमानै गर्न सकिएन। जसले गर्दा सबैको बिचल्ली भयो।' ठूलो रकम उठाए पनि सापकोटाले लिखित प्रमाण दिएकी छैनन्।

सम्पर्कविहीन सापकोटाको कोठा प्रहरीको सहयोगमा खोलेर हेर्दा सबैका राहादानी फेला परेको थियो। 'उनले किन रकम उठाइन् र किन बीचमै फरार भइन् भन्नेबारे सोच्नै सकेका छैनौं,' पौडेलले भने, 'सहोदर दाजु र नजिकका आफन्तलाई समेत ठगी गर्नु उनको नियत थियो या परिबन्दमा परेकी हुन् खोजी गर्नुपर्ने बेला आएको छ।' प्रहरी लगायत अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने निकायले यस्ता अपराधलाई सामान्य रूपमा नलिई गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने उनीहरूको भनाइ छ।

सापकोटाले २६ जनासँग तीन लाखदेखि २० लाख रुपैयाँसम्म असुल गरेको दाबी गरिएको छ। क्यानडा र दुबईमा राम्रो पारिश्रमिक पाइने प्रलोभनमा रकम बुझाउनेमा १२ कक्षादेखि स्नातकोत्तर तहको अध्ययन सकाएकाहरू छन्। 'यथार्थ नबुझी लहलहैमा लाग्दा घरबारविहीन भइयो,' पौडेलले भने, 'यो घटना हेर्दा वैदेशिक रोजगारीमा सोच्नै नसकिने अपराध भइरहेको रहेछ भन्ने पुष्टि भयो। त्यसैले जो कोहीलाई हल्लाको पछि नलाग्न आग्रह गछर्ौं।' वैदेशिक रोजगारीको क्रममा हल्ला र गलत आश्वासनले ठूलो ठगी हुने गरेको उनको भनाइ छ।

वैदेशिक रोजगार विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय शिक्षित युवायुवतीले समेत बुझ्दै नबुझी दलाललाई रकम बुझाएको देख्दा अचम्म लाग्ने गरेको बताउँछन्। उनले उच्च शिक्षा सकाएका व्यक्तिले गलत र बदमास व्यक्तिलाइ सहजै विश्वास गरी ठूलो रकम डुबाउने घटना बढिरहेकाले सत्यतथ्य पत्ता लगाउन यसबारे गहिरो अनुसन्धान हुन आवश्यक रहेको बताए। वैदेशिक रोजगारीकै मोहमा कतिपय महिलामाथि दलालले शारीरिक शोषण गर्ने घटना पनि उत्तिकै रहको विभागका कर्मचारी बताउँछन्।

कतिपय अनुसन्धाता भने नेपालको शिक्षा प्रणाली नै फेरबदल गर्नुपर्ने हो कि भन्ने बेला आएको बताउँछन्। 'शिक्षित भनिएका व्यक्ति नै अपराध र ठगीमा लाग्छन् भने हाम्रो शिक्षा प्रणालीले के कुरा सिकाइरहेको छ भन्न सकिन्छ,' अनुसन्धाता बालकृष्ण शर्माले भने।

वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै प्रहरी र विभागमा महिनामा एक सय बढी उजुरी पर्ने गरेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म विभागमा ठगीमा परेको भन्दै करिब ११ सय उजुरी परेका छन्। जसमा ४८ करोड रुपैयाँभन्दा बढी रकम दाबी गरिएको छ। दाबी  अनुपातको तुलनामा क्षतिपूर्ति निकै कमले पाउँछन्।

संस्थागत (मेनपावर) मात्र नभई व्यक्तिगत तवरले पनि पछिल्लो दिनमा ठगीमा घटना बढिरहेको विभागले जनाएको छ। विभागका कानुन निर्देशक उपाध्याय वैदेशिक रोजगारीको मोहमा रकम बुझाइसकेपछि प्रमाण नलिँदा पीडितलाई गुमेको रकम दिलाउन गाह्रो भइरहेको बताउँछन्। 'हामीले पनि प्रमाण हुने हो भने कारबाही प्रक्रिया अघि बढाउने हो,' उनले भने, 'प्रमाण नभए कारबाही गर्ने सबालै आउँदैन।' सापकोटाले आफन्त लगायतसँग पौने दुई करोड रुपैयाँ संकलन गरेर फरार भए पनि लिखित प्रमाण नभएका कारण २६ जनाको रकम फिर्ताबारेको अघिल्लो प्रक्रियाका लागि उक्त मुद्दा प्रहरीको अनुसन्धान ब्युरोमा पठाइएको छ।

प्रकाशित: १३ चैत्र २०७३ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App